'कभर सङ'मै निर्भर
- शिव मुखिया
कभर ब्याण्डको परिचय र आम्दानीका लागि पब/बार गतिलो 'प्लेटफर्म' बनेका छन्।
जब साँझ पर्छ, सुपर फज ब्याण्डका चार युवा विनोद लामा, सोनम पाखि्रन, प्रणय लवुङहाङ र तेन्जिङ ह्याल्मो गिटार, ड्रमलगायतका औजार लिएर घरबाट निस्कन्छन्। गन्तव्य सधैं एउटै हुन्न। तर, काम भने निश्चित छ– पब वा बारमा गीत गाउनु। संगीतले साँझ स्मरणीय तुल्याउनु। संगीतमा लगाव भएका तर आफ्नै अल्बम ननिकालेका यी युवा पब र बारमा अरुकै चर्चित गीत (कभर सङ) गाउँछन्।
सुपर फज जस्तै राजधानीको ठमेल, दरबारमार्ग, ललितपुरको झम्सिखेल र चल्तीका अन्य पबमा गुञ्जिने अधिकांश गीत पुरानै हुन्छन्, जसलाई अहिलेको पुस्ताले आफ्नै स्वर, शैली र औजारमा गाइरहेका हुन्छन्। 'कभर ब्याण्ड' भनिने यस्ता ब्याण्ड 'सापटी गीत' बाटै दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। पब, बार र कभर ब्याण्ड एकअर्काका परिपूरक झैं भएका छन्।
पब ब्याण्ड
सुपर फज ब्याण्डका ड्रमर विनोद लामा कभर ब्याण्ड विना न पब न त ब्याण्ड कसैको पनि प्राण नधानिने तर्क गर्छन्। पब संस्कृतिले 'कभर ब्याण्ड' जन्माएको र हुर्काइरहेको उनको भनाइ छ। सातामा पाच दिन ठमेलको पब एवं बारमा गानाबजाना गर्ने यो ब्याण्डका सदस्य अंग्रेजी रक गीत पस्कन्छन्।
गायन, समय र पारिश्रमिक फरक हुन सक्छ, तर अधिकांश कभर ब्याण्डको कर्म भने उही हो। कसैले एक रातको दुई हजार रुपैयाँ मात्र लिन्छन् त कसैले १० हजार। ब्ल्याक हक ब्याण्डका गायक सावनदेव श्रेष्ठको भनाइ मान्ने हो भने, पब एवं बारमा गाउने कभर ब्याण्ड तीन थरीका छन्।
उनका अनुसार, एकखाले ब्याण्ड स्थापित र चर्चित छन्, उनीहरू राम्रै रकम लिन्छन्। दोस्रो चाहिं संगीतमा माझिएका तन्नेरी सम्मिलित ब्याण्ड छन् र तेस्रो सिकारु छन्, जसलाई 'प्लेटफर्म' मात्र चाहिएको छ। “तर, आफ्नै गीतले चर्चित ब्याण्ड भए पनि पब, बारमा भने कभर सङ नगाई सुखै छैन”, श्रेष्ठ भन्छन्।
ब्याण्डहरूका गाउने तरीका फरक भएजस्तै पब एवं बारहरूले पनि ग्राहकलाई फरक स्वाद दिन भिन्न–भिन्न ब्याण्ड बोलाउँछन्। त्यसो गर्नाले एउटै पब/बारमा स्थापितदेखि सिकारुसम्मले अवसर पाउँछन्।
पबका लागि भनेरै खुलेका ब्याण्डहरूले यसैबाट आम्दानी पनि गरिरहेका छन्। पबमा एक रात प्रस्तुति गरेबापत औसतमा ८ हजार रुपैया हात पर्छ। “पर्फमेन्स् सक्नेवित्तिकै पारिश्रमिक पाइन्छ, मज्जा त्यही हो”, जय नेपाल ब्याण्डकी प्रीति मानन्धर भन्छिन्।
पबकै लागि मात्र खुलेको अर्को ब्याण्ड हो, जय नेपाल। हेमन्त लामा, सगुन गुरुङ र प्रीति सम्मिलित यो ब्याण्डसँग आफ्नै अल्बम निकाल्ने कुनै योजना छैन। उनी भन्छिन्, “पबमा मात्रै गाउने उद्देश्यले हाम्रो जस्तै थुप्रै ब्याण्ड खुलेका छन्।” अंग्रेजी रक संगीत गाउने यो ब्याण्डले रेगे बार, ल्हासा, टम एन्ड जेरीलगायतमा आफूलाई सुनाइरहेका हुन्छन्।
फायर टङ, ठमेलमा गुञ्जने अर्को कभर ब्याण्ड हो। स्प्राइट ब्याण्ड च्यालेन्ज प्रतियोगिताको फस्ट रनरअप यो ब्याण्ड व्यस्त पब ब्याण्डका रुपमा चिनिन्छ।
ठमेल र झम्सिखेलका पबहरूमा लोकप्रिय यस्ता कभर ब्याण्डहरूमा रक हेड्स, अलस्टार, ओभर ड्राइभ, इलेक्ट्रिक्स, सुपर ट्रम, हाइ फा, स्ट्रिङ, साइन, फायर टङ, अशेष एण्ड नेख्वा, परिवर्तन आदि छन्। “हरेक रात दुई दर्जन बढी कभर ब्याण्ड सक्रिय हुन्छन्”, सुपर फज का विनोद भन्छन्।
हार्ड रकदेखि झ्याउरे भाकासम्म
अधिकांश पश्चिमा ग्राहकले भरिने पब/बारहरूमा रक गीत नै रुचाइन्छ। शुरुमा स्लो रक सुन्नेहरू रात पर्दै गएपछि भने फास्ट बिटका गीत सुन्न मनपराउने ठमेलको नमस्ते क्याफे एण्ड बारका प्रविन तामाङ बताउँछन्। “अधिकांश ग्राहक हार्ड रकमै रमाउँछन्” उनी भन्छन्।
त्यसो त पबमा हार्ड रकदेखि मेटल, ब्लुज, जाँजलगायत सबै खाले गीत बज्छन्। ब्ल्याक हक का सावनदेव श्रेष्ठ पछिल्लो समय पबमा नेपाली झ्याउरे भाकाले प्रवेश पाइरहेको बताउँछन्। उनी भन्छन्, “विदेशीले समेत नेपाली लोकलय मन पराउन थालेका छन्।” रेशम फिरिरिलगायतका 'फास्ट बिट' का झ्याउरे निकै माग हुने गीतमा पर्छ। त्यसो त कबवेब, अनुप्रस्थ, ब्ल्याक हक लगायतका सीमित ब्याण्डले पबमा आफ्नै गीत पनि सुनाउँछन्।
“हाम्रो आफ्नै गीत चर्चित भए पनि पबमा भने कभर सङ नै गाउनुपर्छ”, स्प्राइट ब्याण्ड च्यालेन्ज–२००८ को उपाधि विजेता अनुप्रस्थ का गायक निरेन शाही भन्छन्। अनुप्रस्थ ब्याण्डले साताको तीन दिन पबका लागि छुट्याउँदै आएको छ।