फोरमका उपमहासचिव अभिषेक प्रताप शाहले पार्टी छोडे, कांग्रेसमा जाने घोषणा
संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताप शाहले पार्टी परित्याग गरेका छन् ।
नेतृत्वलाई स्वेच्छाचारी भएको आरोप लगाउँदै शाहले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् ।
नेपाल प्रेस यूनियनले सदमुकाम तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेश र मधेशी जनताको भावना अनुसार पार्टी नेतृत्वले काम गर्न नसकेको पनि उनले आरोप लगाए ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ५ का सांसद शाहले पार्टी नेतृत्वले मधेशलाई २ नम्वर प्रदेशमा मात्रै सिमित गरेको, समानुपातिक सांसद बनाउँदा ठूलो रकम लिने गरेको, मधेश आन्दोलनबाट नेतृत्वमा रहेका मधेशी नेताहरुले अकुत सम्पत्ति कमाएको समेत शाहले आरोप लगाएका छन् ।
उनले आफू चाडैँ नेपाली कांग्रेसमा प्रवेश गर्ने पनि घोषण गरे ।
अब केही दिनमै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाको उपस्थितिमा जिल्लामा आयोजना हुने कार्यक्रममा नेता शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा छन् ।
गोपाल भण्डारी, कपिलवस्तु