एमाले र माओवादीले संयुक्त पत्रकार सम्मेलन गर्दै
आगामी निर्वाचनमा प्रमुख दुई वामपन्थी दलबीच तालमेल हुने भएको छ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो वाम दल नेकपा एमाले र दोस्रो ठूलो नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गर्न लागेका हुन ।
तालमेल लगायतका विषयमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गर्न १७ असोज साँझ साढे चार बजे राष्ट्रियसभामा पत्रकार सम्मेलन आयोजना गरिएको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
आज विहान ललितपुरमा सम्पन्न दुई पार्टीका नेताहरूको बैठकले दुई पार्टी मिलेर चुनाव लड्ने सहमति गरेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, सुवास नेम्वाङ, ईश्वर पोखरेल र विष्णु पौडेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र जनार्दन शर्मा सहभागी थिए ।