अमेरिकनको स्वरमा रेसम फिरिरी
अमेरिकनको स्वरमा नेपाली गीत सुन्दा कस्तो लाग्ला ? तीन जना अमेरिकनले नेपाली गीत गाएर न्युयोर्क ज्याक्सन हाईटमा उपस्थित नेपाली समुदायलाई चकित पारेका छन् । उनीहरुले वाहवाही पनि बटुले तालीको गटगटाहटसँगै ।
उनीहरु हुन, आलन, पाउल र जेम्स । नेपाली ढाका टोपीमा ठाँटिएर सिमसिमे पानीमा, रेसम फिरिरीजस्ता प्रख्यात गीत सुनाए, उनीहरुले । बाँसुरी, सारङ्गी र गीटार बजाउँदै गीत सुनाउँदा उपस्थित धेरै नेपालीले स्वरमा स्वर मिलाएर उनीहरुलाई साथ दिएका थिए ।
न्युयोर्क स्थित सामाजिक संस्था सिन्धु-युएसए वेलफेयर सोसाईटीले स्थापनादेखि हालसम्म गतिबिधिहरुको अपडेट्स गर्ने कार्यक्रम आयोजना गरिएको थियो । २६ भदौ साँझ स्थानिय शेर्पा किदुगको हलमा आयोजित कार्यक्रममा न्युयोर्क निवासी तीन अमेरिकनले सौर्य शक्ति उपयोग बारे सिकाउँन नेपाल घुम्दाको अनुभव सुनाउँदै गीतहरु सुनाएका थिए ।
सिन्धु सोसाईटीले गर्ने सामाजिक गतिबिधीमा थप टेवा पुगोस् भन्ने उद्देश्यले गीत गाएको उनीहरुले बताए । सिन्धु सोसाईटीजस्ता सामाजिक संस्थामार्फत नेपाललाई अझै सहयोग गर्दै जाने प्रतिबद्धता पनि उनीहरुले जनाए ।
सिन्धु-युएसए वेलफेयर सोसाईटी सन् २०१० मा स्थापना गरिएको र न्युयोर्कमा दर्ता रहेको सामाजिक संस्था हो । मुलतः सिन्धुपाल्चोक जिल्लामा शिक्षा र स्वास्थ्यको स्तर बृद्धिका लागि सहयोग गर्ने यो संस्थाले आवश्यक्ता र अवस्थानुसार अन्य ठाउँमा पनि सहयोग गरेको अध्यक्ष वंशलाल तामाङले बताए । सन् २०१२ मा अमेरिकामा स्यान्डी नामक आँधी हुरीले जनजीवन तहसनहस बनाउँदा अमेरिकन रेडक्रस सोसाईटीमार्फत तीन हजार पाँचसय डलर सहयोग गरेको थियो । संस्थाले नेपालको सिन्धुपाल्चोकस्थित जुरेमा गएको पहिरोले क्षति बनाएका माम्खा स्थित बनसाँघु माध्यमिक विद्यालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।
यसका साथै गतवर्ष भूकम्पले विपदमा पारेका परिवारलाई राहत सहयोग उपलब्ध गराएको थियो भने १४ बालबालिकाको शिक्षाको लागि आर्थिक सहयोग गर्दै आएको छ । अमेरिकास्थित नेपाली समुदायको सहयोगले काम गर्दै आएको उनले बताए । संस्थाले सहयोग संकलनको लागि हरेक वर्ष सिन्धु साँझ नामक कार्यक्रम गर्नुका साथै 'फन्ड राईजिङ' कार्यक्रम गर्न गर्दै आएको छ ।
ङिमा पाख्रिन
न्युयोर्क, अमेरिका