कालो पोथीको पुनः प्रदर्शन हुने
ओस्कारका लागि नेपालबाट छनौट भएको नेपाली चलचित्र ‘कालो पोथी’ पुनः प्रदर्शन गरिने भएको छ ।
कर्णाली क्षेत्रको कथावस्तुमा निर्माण गरिएको चलचित्र कालो पोथी ७ असोजदेखि पुनः प्रदर्शन गरिने निर्देशक मीन भामले बताएका छन् । २९ भदौमा यलमाया केन्द्रमा आयोजित कालो पोथीमाथिको विमर्शमा निर्देशक भामले पुनः प्रदर्शन हुने जानकारी दिएका हुन ।
नेपालको प्रतिनिधित्व गर्दै विदेशी भाषा विधामा प्रतिस्पर्धा गर्ने छ । जसमा संसारभरका ९० देशका चलचित्रहरुका प्रतिस्पर्धी छन् । ‘‘अब कसको फिल्म भन्ने कुरा रहेन, नेपालको प्रतिनिधित्व गर्दैछ’’ कार्यक्रममा बोल्दै निर्देशक भामले भने ‘‘ओस्कारको सर्टलिस्टमा पर्न राज्य वा यहाँका जनताले कस्तो भूमिका खेल्छन, त्यसमा भर पर्छ ।’’ केही देशहरुले ओस्कारमा छनौट भएको फिल्मका लागि आर्थिक सहयोग गरिरहेको त केही देशमा जनस्तरबाट सहयोग जुटाउन अभियान सञ्चालन भइरहेको बताए । ‘‘राज्य र जनस्तरबाट सहयोग मिल्ने आशा गरेको छु’’ निर्देशक भामले भने ।
विमर्श कार्यक्रममा समाजशास्त्री चैतन्य मिश्रले कालो पोथीले जीवनतताको राम्रो लय समातेको बताउदै भने, ‘‘हामीले देखे भोगेकै कुरा छन । फिल्म हेर्दा म फिल्म हेरिरहेको छु भन्ने कुरा बिर्सिए ।’’ चलचित्र निर्देशक एवं समिक्षक प्रकाश सायमीले कालो पोथीको चर्चा गर्दै ‘एकदम राम्रो फिल्म’ भएको बताए ।
विमर्श कार्यक्रममा चलचित्रका निर्देशक भाम, कलाकार खड्गराज नेपाली र शुक्रराज रोकाया उपस्थित रहेका थिए । त्यस अघि कालो पोथी प्रदर्शन पनि गरिएको थियो ।