स्थानीय निर्वाचनः प्रदेश–२ मा कसको पल्ला भारी
मौन अवधि शुरू हुनुभन्दा एक दिनअघि २९ भदौमा जनकपुरमा आयोजित र्यालीमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बेहोस भएर ढले । २१ भदौदेखि गृह जिल्लामै बसेर चुनावी अभियानमा खटिएका उनी त्यस दिन पनि मध्याह्नको घाममा करीब चार किलोमिटर हिंडेका थिए ।
गोपाल धर्मशालाबाट शुरू भएको र्यालीमा सहभागी निधि जनकचोकमा पुगेर कोणसभालाई सम्बोधन गर्ने क्रममा बेहोस भएका थिए । अञ्चल अस्पतालमा उपचार गरेर भोलिपल्टैदेखि चुनाव प्रसारमा हिंडेका निधि गर्मीमा खटिंदा ‘डिहाइड्रेसन’ का कारण बेहोस भएको बताउँछन् । दलहरूले प्रदेश–२ मा २ असोजमा हुन लागेको स्थानीय तह निर्वाचनलाई कति महŒव दिएका छन् भन्ने निधिको दौडधूपले देखाउँछ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरमलगायत दलका नेताहरूको खटाई पनि निधिको भन्दा कम छैन ।
दाबी एउटा आकलन अर्को
प्रदेश–२ मा नेताहरूको चुनावी दाबी र वस्तुगत परिदृश्य फरक छ । भारतसँग सीमा जोडिएका अधिकांश स्थानीय तहमा कांग्रेस र राजपाबीच प्रतिस्पर्धा हुने स्थानीयको भनाइ छ । पूर्व–पश्चिम राजमार्ग आसपासका स्थानीय तहमा एमाले बलियो मानिएको छ भने माओवादी र फोरम भने यो प्रदेशमा तेस्रो वा चौथो स्थानमा आउने प्रयासमा छन् । बाहिर दाबी जे गरे पनि राजपाका नेताहरू यो प्रदेशमा तेस्रो पार्टी बन्न सके पर्याप्त हुने बताउँछन् । तेस्रो बन्न पनि उसले माओवादी र फोरमले भन्दा बढी स्थान जित्नुपर्छ ।
१०० स्थानीय तहमा जित्ने सार्वजनिक दाबी गर्दै आएका एक कांग्रेस नेता पनि आठ जिल्लामा पहिलो पार्टी भए पुग्ने बताउँछन् । चुनावको लागि अहोरात्र खटिएका कांग्रेसका नेताले ६० देखि ७० स्थानीय तहको प्रमुखमा जित हासिल गर्ने बताउँछन् । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ अघिल्ला दुई चरणको स्थानीय चुनावमा एमालेले लिएको अग्रता यसपटक कम हुने बताउँछन् । पर्सा, सर्लाही र रौतहटका चुनावी कार्यक्रममा सहभागी भएर राजधानी फर्केका उनले यसपटक कांग्रेसको प्रतिस्पर्धा कतै एमाले त कतै मधेशवादी दलसँग हुने बताए । “प्रदेश–२ मा हाम्रो जित निश्चित छ” गुरुङ भन्छन्, “कति सीट आउँछ, त्यो चाहिं ठ्याक्कै भन्न सकिन्न ।”
प्रदेश–२ को एक मात्र महानगरपालिका वीरगञ्जमा कांग्रेसको जित सुनिश्चित जस्तै भएको उनको दाबी छ । १ लाख ८ हजार ५०१ मतदाता रहेको यो महानगरमा आफू विजयी हुने दाबी एमाले, संघीय समाजवादी फोरम, राजपा र माओवादीले पनि गरेका छन् । यद्यपि, वीरगञ्जमा अन्य दलको भन्दा कांग्रेसको संगठन र उम्मेदवार बलियो मानिएको छ ।
कहाँ को बलियो
पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा व्यवस्थापिका–संसद्को सबभन्दा ठूलो दल कांग्रेस भन्दा ५० वटा स्थानीय तह बढी जितेको एमालेले प्रदेश–२ मा ४० देखि ५० सीट जित्ने संभावना छ । त्यसका लागि उसले राजमार्ग क्षेत्रलाई बढी महŒव दिएको छ । एमालेका अन्तिम चुनावी सभाहरू पनि राजमार्ग आसपासकै स्थानीय तह लक्षित थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ३० भदौमा जितपुर–सिमरा उपमहानगरपालिका र बर्दिवास नगरपालिका तथा वरिष्ठ नेता माधवकुमार नेपालले सिरहाको गोलबजार नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरे । यी तीन स्थानीय तहमा आफ्नो जित निश्चित भएको एमाले नेताहरू बताउँछन् ।
सचिव प्रदीप ज्ञवाली त प्रदेश–२ मा पनि एमाले पहिलो दल बन्ने बताउँछन् । सिरहाको लाहान र महोत्तरीको जलेश्वरसहित सबभन्दा बढी स्थानमा मतदाताले एमालेका उम्मेदवारलाई विजयी बनाउने उनको दाबी छ । मधेशमा एमालेको अवस्था बाहिर विपक्षीले प्रचार गरेजस्तो खराब नभएको उनले बताए । “एमालेको मेची–महाकाली अभियानका क्रममा अप्रिय घटना भए पनि सप्तरीदेखि पर्सासम्मका मतदाताले एमालेलाई नै मन पराएका छन्” करीब एक महीनादेखि सिरहामा पार्टीको कमाण्ड सम्हालिरहेका ज्ञवाली भन्छन्, “प्रदेश–२ मा पनि पहिलो हुने हामी नै हौं ।”
सप्तरीको राजमार्ग क्षेत्रका १८ वटा स्थानीय तहमा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । राजमार्ग दक्षिणतर्फ भने मधेशकेन्द्रित दलहरूको पकड बलियो मानिएको छ । सप्तरी सदरमुकाम राजविराजमा पनि मधेशी दलहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । राजविराज नगरपालिकाको मेयरमा राजपाका शम्भु यादव, संघीय समाजवादी फोरमका भीमराज यादव, नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी र माओवादी केन्द्रका अनिश अन्सारी उठेका छन् । सप्तरीको दोस्रो ठूलो नगरपालिका कंचनरुपको मेयरमा कांग्रेसका ललन गुप्ता, एमालेका बसन्त मिश्र र लोकतान्त्रिक फोरमका दीपक गुप्तालाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
त्यस्तै, राजमार्ग आसपासका ग्रामीण बस्तीहरू समेटिएको हनुमाननगर–कंकालिनी नगरपालिकाको मेयरमा राजपाका शैलेश साह, फोरम नेपालका वीरेन्द्र माझी र माओवादी केन्द्रका राहुल मण्डलबीच त्रिकोणीय प्रतिस्पर्धा हुने आकलन छ । त्यस्तै, डाक्नेश्वरी नगरपालिकामा राजपाका शिवनारायण साह बलियो उम्मेदवार मानिएका छन् भने रुपनी गाउँपालिकामा कांग्रेस–राजपा प्रतिस्पर्धा हुने आकलन छ । डाक्नेश्वरीका मेयर आकांक्षी साह केही दिनअघि मात्रै राजपा प्रवेश गरेका हुन् ।
सप्तकोशी नगरपालिकामा कांग्रेस र एमाले, तिलाठी–कोइलाडी गाउँपालिकामा कांग्रेस र राजपा, बोदे बर्साइन गाउँपालिकामा संघीय समाजवादी फोरम र राजपाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
बागीको डर
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसले राजाराम महतोलाई उठाउने चर्चा चले पनि राजकुमार महतोले टिकट पाएपछि राजारामले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसको टिकट विवादले एमालेका उम्मेदवार हरिनारायण महतोलाई बलियो बनाएको छ । यो निर्वाचनमा सय सीट जितेर देशभरकै स्थानीय तहमा पहिलो दल बन्ने आकांक्षा राखेको कांग्रेसलाई धनुषाको शहीदनगर नगरपालिका, कमला सिद्धिदात्री नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, नगराइन गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिकालगायतमा पनि विद्रोही उम्मेदवारले चुनौती दिएका छन् ।
लक्ष्मीनियाँ गाउँपालिका प्रमुखमा कुम्मरकान्त झ कांग्रेसको आधिकारिक उम्मेदवार हुन् भने पूर्वराष्ट्रपति डा. रामवरण यादवका भतिज समीर स्वतन्त्र । लक्ष्मीनियाँमा समाजवादी फोरमका विन्देश्वर यादवले झलाई चुनौती दिएका छन् । कांग्रेसका धनुषा जिल्ला सभापति रामसरोज यादव
उम्मेदवार चयनमा ढिलाइ हुँदा असन्तुष्टलाई मनाउने समय नपाएको बताउँछन् । र पनि, धनुषामा कम्तीमा १२ देखि १४ सीट कांग्रेसले जित्ने उनको दाबी छ । प्रदेश–२ को चुनावी रथ हाँकेका कांग्रेसका केन्द्रीय नेता विमलेन्द्र निधिकै क्षेत्र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा एमालेका मनोजकुमार यादव र नगराइनमा रामबाबु पञ्जियारले कडा चुनौती दिएका छन् । मुखियापट्टी मुसहरनियाँमा कांग्रेसका रामबाबु यादव र नगराइनमा परमेश्वर यादव प्रमुखको उम्मेदवार छन् । यसरी हेर्दा धनुषामा कांग्रेसले ८ देखि १० वटा प्रमुख पद जित्ने आकलन गर्न सकिन्छ ।
धनुषाकै लक्ष्मीनियाँ, हंसपुर, गणेशमान चारनाथ, मिथिला बिहारी गाउँपालिकामा संघीय समाजवादी फोरम बलियो रहेको आकलन छ ।
गणेशमान चारनाथमा कांग्रेसबाट टिकट पाउने चर्चामा रहेका रामचरित्र यादवलाई नेतृत्वले अस्वीकार गरी संजयकुमार महतोलाई उम्मेदवार बनाएको छ । एमालेबाट पुरुषोत्तम लामा उम्मेदवार हुने तय भए पनि टिकट पाए बेचन साहले । कांग्रेसका यादव र एमालेका लामा दुवै स्वतन्त्र उम्मेदवार बनेका छन् । जसले गर्दा फोरम नेपालका रामबाबु यादवको सम्भावना बढेको छ । एमालेका धनुषा जिल्ला सचिव सोम शर्मा भने विद्रोही उम्मेदवार आए पनि पार्टीको संगठित मत बाहिर नजाने भएकाले दुवै गाउँपालिकामा एमालेको जित निश्चित रहेको दाबी गर्छन् ।
जनकपुर उपमहानगरपालिकामा कांग्रेस–राजपा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसले निधि निकट मनोजकुमार साहलाई उठाएको छ भने राजपाले लालकिशोर साहलाई । प्रदेश–२ का प्रमुख दुई शहरमध्ये वीरगञ्जमा आन्तरिक विवादकै कारण हार्ने संभावना बढेपछि राजपाले जनकपुरलाई प्रतिष्ठा बनाएको छ । मनोजकुमारको माहोलले कांग्रेस नेता निधिलाई मनोजकुमारको पक्षमा ‘गर या मर’ को अवस्थामा पुर्याएको देखिन्छ ।
अलोकतान्त्रिक अभ्यास
आठ जिल्लाका १३६ स्थानीय तहमा बढी भन्दा बढी जित हासिल गर्ने हत्कण्डाहरू प्रयोग गर्ने क्रममा दलहरूले जायज/नाजायजको ख्याल राखेका छैनन् । निर्वाचन आचारसंहितामा जेसुकै भए पनि पैसाको खोलो बगाउनुपरेको सबै दलका नेताहरू स्वीकार्छन् । उनीहरू पैसाले चुनाव जित्नुपर्ने अवस्था आउनुलाई दुर्भाग्यपूर्ण पनि मान्छन् । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, “पैसा खर्च गरेर चुनाव जित्नेले भ्रष्टाचार गर्छ—गर्छ ।”
एमाले सचिव ज्ञवाली सत्ताधारी दलका उम्मेदवारहरूले भोजभतेरदेखि नगद तथा जिन्सी वितरणसम्म गरेको बताउँछन् । त्यसमाथि भारतसँगको खुल्ला सीमा जस्ता कारणले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुनेमा उनको आशंका छ । चुनावमा पैसा खर्च गर्न सक्छ भने जतिसुकै बदनामलाई पनि उम्मेदवार बनाउने र जोसुकैसँग पनि तालमेल गर्ने प्रवृत्तिले लोकतन्त्रको आधार मानिने निर्वाचनलाई नै अलोकतान्त्रिक बनाउँदै लगेको चिन्ता ज्ञवालीले व्यक्त गरे । तर, एमालेका केन्द्रीय सचिव ज्ञवालीले जे–जे आरोप लगाए र जुन चिन्ता व्यक्त गरे, त्यसमा एमाले अरू दलहरूभन्दा कम देखिंदैन ।
नेपाल पत्रकार महासंघ, महोत्तरीका अध्यक्ष कमलेश मण्डल यसपटक जस्तो विकृति विगतका कुनै निर्वाचनमा नदेखिएको बताउँछन् । उनको नजरमा यो निर्वाचनमा साम, दाम, दण्ड, भेद नीति प्रयोग नगर्ने कोही नभएपछि विकृतिबारे सबै तैं चूप मै चूपको अवस्थामा छन् । यसको घातक असर निर्वाचन परिणाममा देखिने सम्भावना छ, जसमा जुन दलले जिते पनि असल उम्मेदवारहरू सबै हार्नेछन् ।
साथमा श्रवण देव, राजविराज, ईश्वरचन्द्र झा जनकपुर, रञ्जन भण्डारी, जलेश्वर र सुरेश विडारी वीरगञ्ज