ज्यानमारा स्क्रब टाइफस्
मुसाको कानमा समूह बनाएर बस्ने कीरा चिगर माइट (लार्भा) ले टोक्दा लाग्ने स्क्रब टाइफस् रोगबाट यो वर्षको २० भदौसम्म ६ जनाको मृत्यु भइसकेको छ। अघिल्लो वर्ष यही रोगले ८ नेपालीको ज्यान लिएको थियो।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अहिलेसम्म संखुवासभाका दुई, भोजपुर, चितवन, तनहुँ र गुल्मीका एक/एक जनाको यो रोगका कारण मृत्यु भइसकेको छ। देशभर ३२ जिल्लाका २२२ जनामा यो रोगको पहिचान भइसकेको छ, जसमध्ये ९८ जना चितवनका छन्। नेपालमा गत वर्ष मात्र यो रोग भित्रिएको पुष्टि भएको थियो।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का ईपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्मा मुसाको कानभित्र बस्ने चिगर कीरामा हुने ओरेन्सिया सुसुगामुसी जीवाणुका कारण मानिसमा स्क्रब टाइफस् रोग लाग्छ। “चिगर माइटले टोक्दा र्यालमार्फत जीवाणु शरीरभित्र प्रवेश गर्छ”, उनी भन्छन्। मुसाको कानबाहेक पेटबाहिर पनि कीरा टाँसिएर बसेका हुन्छन्। कीरा एकदमै साना (०.२ देखि ०.४ मिलिमिटर) हुने भएकाले टोकेको थाहै हुँदैन। मुसाहरू झ्ाडीमा बस्ने भएकाले त्यस्ता ठाउँमा यो रोगको जोखिम बढी हुने शर्मा बताउँछन्।
तर, मुसाले टोक्दैमा यो रोग सरिहाल्दैन।
दोस्रो विश्वयुद्धताका बर्मा, जापान लगायतका एशिया प्रशान्त क्षेत्रमा ३३७ अमेरिकी सैनिकको यही रोगका कारण मृत्यु भएको बताइन्छ। त्यसबेला मलेरिया र डेंगुजस्ता महामारिजन्य रोगपछि यो रोगबाट प्रभावित हुनेको संख्या धेरै थियो।
कीराले टोकेपछि पाँचदेखि सात दिनसम्म शरीरमा बिमिरा देखा पर्ने र पाप्राहरू बस्न थाल्छ। चिकित्सकहरूका अनुसार, लगातारको ज्वरोले शरीर थला पर्छ। र, समयमै उपचार नभए बिरामीको मृत्यु हुन्छ।
रामु सापकोटा