सौकादेखि सेल्फीसम्म
विद्यालयमा सौका भाषाको गीत गाउँदा पुष्पा बोहरालाई साथीहरु मात्र होइन्, शिक्षकले पनि हौस्याउँथे। तर, दार्चुलाको खण्डेश्वरी–४, सम्भाङको उनको परिवारमा भने छोरीले गाउन थालेकोमा चिन्ता थियो।
काकासँगै बसेर कलेज पढ्न पुष्पा काठमाडौं आइन्। तर, उनको ध्यान पढाइभन्दा संगीतमा थियो। “घरबाट कलेज पढ्दैछु भनेर पैसा मगाउँथें र संगीत सिक्न जान्थें” उनी सम्झ्न्छिन्। एक दिन घरमै हार्मोनियम ल्याएपछि भने काका भतिजीको विवाद नै भयो। तर, केही दिनपछि काका माने। उनलाई झनै बल मिल्यो।
उनै पुष्पा अहिले सौका भाषा हुँदै देउडा, दोहोरी, आधुनिक र पपगीतसम्म गाइरहेकी छन्। छोटो समयमै आफूलाई चिनाइसकेकी छन्। 'आया कञ्चनपुरका मेला', 'आँखाकी चाल मार्यो मेरा बेहुलाले', 'आइजा मैना चरी' जस्ता चर्चित देउडा, 'मेरै हो कि होइन' लोकदोहोरी तथा 'मायाले बाटो काट्यो मेरो' आधुनिक गीतसम्म पुग्दा पाँच दर्जन भन्दा बढी गीतमा उनले स्वर दिइसकेकी छन्। यो तीजमा चर्चित 'यसपालि नि तिम्रो मेरो सेल्फी लिने हो', 'सारी सप्को सर्किन्छ' की गायिका उनै पुष्पा हुन्।
गाउनु पुष्पाको रहर थियो। तर, यही रहरबाट यत्तिका नाम, सम्मान पाइएला भन्ने लागेकै थिएन। ''गीत मन परेर देशभित्र र बाहिरबाट गाउन बोलाउँछन्'', उनी भन्छिन्, “अहिले परिवार, आफन्त सबै खुशी छन्।”
बच्चु बिक