‘जिन्दगीको अन्तिम दस्तावेज’
हालै आत्मकथा ‘महको म’ लिएर आएका कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, “यो पुस्तक मेरो जिन्दगीको अन्तिम दस्तावेज हो ।”
‘महको म’ लेख्ने सोचाइ कसरी आयो ?
६ वर्षअघि अमेरिकाको न्यूजर्सीमा बस्ने दिलकृष्ण श्रेष्ठले पुस्तक लेख्न सुझाएका थिए । उनले मुख्य घटनाक्रमलाई सुत्नुअघि टिपोट गरेर राख्न सिकाएका थिए । मैले पनि त्यस्तै गर्दै गएँ । तर, मेरो यो कामले निरन्तरता पाएन ।
श्रीमतीलाई क्यान्सर भयो । उनको उपचारमा लागें । दुई वर्ष केही लेख्न सकिनँ । श्रीमतीलाई निको भएपछि पनि निरन्तर रुपमा लेख्न सकिनँ । कहिले त दुई/तीन महीनासम्म पनि लेखिंदैनथ्यो । पछिल्लो समय भने शुरु गरेको काम जसरी पनि पूरा गर्नुपर्छ भनेर लागें । तिनै टिपोट गरेका घटनाक्रमलाई पुस्तकको रुप दिन सफल भएँ ।
किन ‘महको म’ पढ्न आवश्यक छ ?
मलाई नेपाली दर्शक, श्रोता तथा जनताले धेरै माया दिनुभएको छ । ‘मह’ जोडीका रुपमा हरिवंश आचार्य र मैले हँसाउने कोशिश गर्यौं । सबैले हाँसो मात्रै देखेका छन्, त्यस पछाडिका गाह्रोसाह्रो, दुःखपीडा, रमाइलो थाहा पाएका छैनन् । यो पुस्तकमा मेरा जीवनका तिनै भोगाइ, अनुभव, मेरो सफलता, असफलताका कथाहरु छन् । मैले सिकेका नयाँ कुराहरु छन् । नेपाली दर्शक, श्रोताले जस्तै पाठकले पनि माया गर्नेछन् ।
यो लेख्न कत्तिको गाह्रो भयो ?
पुस्तक लेख्न शुरु गर्दा जस्तो थिएँ, पुस्तक लेखिसक्दा त्यस्तो रहिनँ । लेख्दै गर्दा अस्वस्थ भएँ । हातले कामै गर्न छोड्यो, अघि सार्नै नसकिने समस्या देखियो । परीक्षण गराउँदा चिकित्सकले पार्किन्सन (मस्तिष्कको कुनै तन्तुमा समस्या आउने र त्यसले गर्दा शरीरको कुनै अङ्गले काम नगर्ने) रोग लागेको बताए । जे भए पनि लेख्ने काम सक्नुपर्ने थियो । उच्च अठोटका साथ लेखें । पार्किन्सनले गाह्रो बनायो ।
यसपछि के लेख्ने विचार छ ?
यसभन्दा अघि वन्यजन्तु, पशुपक्षी संरक्षणको आवश्यकताका विषयमा पुस्तक लेखेको थिएँ, ‘साझा पृथ्वी’ । त्यो मेरो पहिलो पुस्तक हो । ७० वटा बोर्डिङ स्कूलमा पढाइन्छ । यो चाहिं आत्मकथाका रुपमा लेखेको छु । अब के लेख्छु, सोचेको छैन । तर ‘महको म’ पुस्तक मेरो जिन्दगीको अन्तिम दस्तावेज हो ।
थुप्रै पुस्तक पढ्नुभयो होला, अहिले लेख्नुभएको छ । पुस्तक किन पढ्नुपर्छ ?
पुस्तक भनेको ज्ञानको भण्डार हो । ज्ञान विनाको मानिस कुहिरोको काग जस्तै हुन्छ । नयाँ कुराहरु सिक्न र अगाडि बढ्न पनि पुस्तक पढ्न जरुरी छ । अर्को कुरा पुस्तक पढ्ने बानीले मानिसको सोच्ने दायरा फराकिलो बनाउँछ ।