रामबाबु–ज्ञानु पुरस्कार बराल र कार्कीलाई
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यसवर्षको सामाजिक सेवा पुरस्कार र समाजसेवी पुरस्कार घोषणा गरेको छ । कोषको साधारणसभाले रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार उर्लाबारी नगरपालिका–४, मोरङस्थित महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा सञ्चालित नमुना बालगृह र यसका अध्यक्ष श्रीमती मीना बराललाई दिने निर्णय गरेको छ । यो पुरस्कारको नगद राशी रु. दुई लाख र सम्मानपत्र छ ।
यस्तै नगद पुरस्कार रु. एक लाख र सम्मानपत्र सहितको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार दोखा टोल, गोकर्णेश्वर नगरपालिका–९ मा रहेको संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र यसका अध्यक्ष श्री तिल बहादुर कार्कीलाई प्रदान गर्ने निर्णय भएको कोषका अध्यक्ष ध्रुव नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कृत व्यक्ति र संस्थाको छनौट पाँच सदस्यीय प्रतिभा छनोट समितिले गरेको हो । सामाजिक सेवामा योगदान गर्ने संस्था वा व्यक्तिलाई पुरस्कृत र सम्मानित गर्दै आएको यो पुरस्कार कोष २०७० मा स्थापना भएको थियो ।