विधा नै सम्मानितः वात्स्यायन, नसोचेको खुशीः कँडेल
जगदम्बा–श्री पुरस्कार विजेता वरिष्ठ चित्रकार वात्स्यायन (दुर्गा बराल)ले आफू मात्रै नभएर कार्टुन विधा नै सम्मानित भएको बताएका छन् ।
११ भदौमा मदन पुरस्कार गुठीले २०७३ को जगदम्बा–श्री वरिष्ठ चित्रकार वात्स्यायन (दुर्गा बराल) र मदन पुरस्कार ‘धृतराष्ट्र’ काव्यका लागि प्रा.घनश्याम कँडेललाई दिने निर्णय गरेको हो ।
“जगदम्बा–श्री पुरस्कार दिने खबर सुनेर खुशी लागेको छ” जगदम्बा–श्री पुरस्कारको घोषणापछि हिमालखबरसँग कुरा गर्दै वात्स्यायनले भने, “म नेपालमा कार्टुनको शुरुआतदेखि नै काम गर्दै आएको छु । म मात्रै होइन, कार्टुन विधा नै सम्मानित भएको छ ।”
स्कुल पढ्दादेखि नै चित्र कोर्न थालेका ७३ वर्षीय वात्स्यायन शुरुआतमा साहित्यमा पनि कलम चलाउथे । चित्रकलामै तल्लिन रहेका उनी नेपाली कार्टुनलाई नयाँ दिशा दिने शिल्पी मानिन्छन् ।
काटुर्न सिक्नकै लागि पोखराबाट काठमाडौंका आएका वात्स्यायन नयाँसन्देश पत्रिकामार्फत २०२१ देखि कार्टुन सिर्जनामा लागेका हुन । बिभिन्न पत्रपत्रिकामा कार्टुन कोरेका वात्स्यायन २०५२ देखि कान्तिपुर दैनिकसँग आबद्ध छन् ।
वात्स्यायन अहिले पनि पोखरामै बसेर आफ्नै सृजनासँग रमाइरहेका छन् । आफूले कहिल्यै पनि पुरस्कारका लागि सृजना नगरेको बताउदै वात्स्यायनले भने, “धेरै काम गरेँ, धेरै पुरस्कार तथा सम्मान पाएँ । तर जगदम्बा–श्री पुरस्कारको आफ्नै गरिमा छ ।”
मदन पुरस्कार विजेता प्रा.कँडेलले लामो समयपछि आफूले प्रतिष्ठित पुरस्कार पाउदा सुन्तुष्टि मिलेको बताए । पुरस्कारको घोषणापछि प्रा.कँडेलले भने, “मदन पुरसकार राष्ट्रकै गरिमायुक्त पुरस्कार हो, यो पाउँदा स्वभाविक रुपमा धेरै खुशी छु ।”
उनको काव्य ‘धृतराष्ट्र’ महाभारतका पात्र धृतराष्ट्रलाई लिएर लेखिएको हो । “भाषणमा जे भने पनि व्यवहारमा अपाङ्गता भएका व्यक्तिलाई अवसर दिइएको छैन, मैले त्यही विषयमा कलम चलाएको हुँ” उनले भने, “कयौं झमक घिमिरेहरु छन्, जो अवसरबाट बञ्चित छन् । उनीहरुलाई पनि अवसर दिनुपर्छ भनेर लेखेको थिए, मेरो विचार अनुमोदन भएको छ ।”
उनका यस अघि ६ वटा काव्य, समालोचना र फुटकर कविताका पुस्तक प्रकाशित भइसकेको छन् । २०३९ मा प्रकाशित ‘देवयानी’ उनको चर्चित काव्य हो । त्यतिबेला चर्चा पाएका कँडेलले भने, “यो नसोचेको खुशी हो ।”
२०४३ मा स्थापना भएको जगदम्बा–श्री पुरस्कार नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई प्रदान गरिदै आएको छ । यसको राशी रु.दुई लाख छ । त्यस्तै २०१२ मा स्थापित मदन पुरस्कार २०१३ देखि प्रदान गरिदै आएको छ । यो पुरस्कार वर्षभरी प्रकाशन भएकामध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिदै आएको छ । यसको राशी पनि रु.दुई लाख रहेको छ ।
२०७३ को मदन पुरस्कार लागि १९५ पुस्तकमध्ये नौ पुस्तक अन्तिम प्रतिस्पर्धाको ‘श्रेष्ठ सूची’मा परेका थिए ।
यो सूचीमा ‘धृतराष्ट्र’सँगै पुरुषोत्तमलोचन श्रेष्ठको गैरआख्यान ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’, राज सरगमको उपन्यास ‘छाउघर’, शरद पौडेलको उपन्यास ‘तपन’, जय छाङ्छाको नियात्रा ‘दोहाको सीधा उडान’, हरि अधिकारीको कथासंग्रह ‘प्रतिनायक’, सीमा आभासको कवितासंग्रह ‘म स्त्री अर्थात् आइमाई’, राजेन्द्र पराजुलीको कथासंग्रह ‘शुक्रराज शास्त्रीको चश्मा’ र नवराज पराजुलीको कवितासंग्रह ‘सगरमाथाको गहिराइ’ परेका थिए ।
दुवै पुरस्कार हरेक वर्ष घटस्थापनाको अर्को दिन प्रदान गरिन्छ ।