अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव कात्तिकमा
‘एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव–२०१६’ आउँदो २६–२८ कात्तिकमा काठमाडौंको कुमारी सिनेमा हलमा हुने भएको छ ।
महोत्सवको चौथो संस्करणमा कथाहरुको विश्लेषण, प्रदर्शनी र अन्तरक्रिया हुने आयोजक ‘एकादेश’ ले जनाएको छ ।
विश्वभरबाटै सहाभागिताका लागि आह्वान गरेको आयोजकले महोत्सवमा ३० मिनेट भन्दा कम समयका कथानक चलचित्र, वृत्तचित्र या एनिमेसन चलचित्र पठाउन सकिने जनाएको छ ।
सन् २०१४ पछि बनेका तथा नेपालमा यसअघि प्रदर्शन नभएको हुनुपर्ने मापदण्ड तोकिएको एकादेशका प्रतिनिधि सहयोग राज अधिकारीले जानकारी दिए ।
लघु चलचित्र २९ असोज (१५ अक्टोबर) भित्र बुझाइसक्न म्याद तोकिएको छ भने महोत्सवमा प्रतिस्पर्धी र प्रतिस्पर्धा बाहिरका गरी दुई खालका चलचित्रको प्रदर्शन हुनेछ ।
प्रतिस्पर्धामा रहेका चलचित्रलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस अघि भएका महोत्सवमा ६० भन्दा बढी देशका १४० लघुचलचित्र प्रदर्शन गरिएका थिए ।
प्रत्येक वर्ष आयोजना हुने महोत्सव गतवर्ष भूकम्पका कारण रोकिएको थियो ।