थामिएका छैनन् आँशु
तत्कालीन माओवादीले सशस्त्र हिंसा शुरु गरेको २० वर्ष र शान्ति संझौताको १० वर्ष पुगिसकेको छ, तर पीडितहरुका पीडा भने अझै पनि उस्तै छन् ।
ओम आस्था राई
करिब १२ वर्षअघि दैलेखका पत्रकार डेकेन्द्र थापालाई माओवादीले अपहरण गरेपछि रिहाईका लागि रिपोर्टर्स क्लब काठमाडौंबाट उनकी पत्नी लक्ष्मीले गुहार लगाईरहेकी थिइन् । फोटो–पत्रकारका क्यामरा लक्ष्मीतर्फ सोझिएका थिए ।
विकास रौनियारको ध्यान भने थापाकी १० वर्षीया छोरीमाथि पुग्यो जो कुनामा बसेर बलिन्द्रधारा आँशु खसाल्दै थिइन् ।
डेकेन्द्रलाई अपहरण गरेपछि उनको खोजी नगर्नु भनी परिवारलाई माओवादीले दिएको धम्कीको प्रसंग आउँदा सानी नुतनका आँखा र अनुहारमा संसारभरकै पीडा एकोहोरियो ।
रौनियारले त्यसबेला खिचेको फोटो भोलिपल्ट ‘द काठमान्डु पोष्ट’ मा छापियो । युद्धले पारेको प्रत्यक्ष प्रभाव र पीडाको बयान गर्ने त्यो तस्वीर रौनियार अहिले पनि ‘विशेष’ ठान्छन् ।
“सानी नानीको मौन रुवाइले मलाई भित्रैसम्म छोयो, लाग्छ त्यो फोटोले युद्धको अमानवीय क्रुरताको सन्देश नेपालीलाई दिएको थियो त्यसबेला,” उनी भन्छन् । माओवादी द्वन्द्वमा आधारित फोटोपुस्तक ‘युद्धमा जनता’ मा समावेश छ त्यो तस्वीर ।
अहिले २२ वर्षीया नुतन इन्जिनियरिङकी विद्यार्थी हुन् । उतीबेला पत्रकारिता पढेर बुवाका पाइला पछ्याउने मन थियो नुतनलाई । दैलेखमा सक्रिय पत्रकारिता गर्ने डेकेन्द्र रेडियो नेपालका संवाददाता पनि थिए ।
अहिले नुतनको करिअर लक्ष्य फेरिएको छ । उनी उत्कृष्ट इन्जिनियर बनेर बेवास्तामा परेको दैलेखकोे विकास गर्न चाहन्छिन् । “बुवाले माथि कतैबाट हेरिरहनु भएको होला जस्तो लाग्छ, म उहाँले गर्व गर्ने छोरी बन्न चाहन्छु,” यसो भन्दै गर्दा नुतन आँखाबाट १२ वर्षअघि जस्तै आँसु बगिरहे ।
“अझै पनि बुवालाई सपनामा देखिरहन्छु, उहाँलाई कालो छायाँले लखेटिरहेको हुन्छ,” नुतन भन्छिन्, “म बचाउन खोज्छु तर, सक्दिन र मध्यरातमा रुँदै ब्यूँझिन्छु ।”
डेकेन्द्रको शरीरको अवशेष (कंकाल) उनको हत्या भएको चार वर्षपछि ११ असार २०६५ मा गाडिएको अवस्थामा भेटिएको थियो । फोरेन्सिक जाँचमा डेकेन्द्रलाई यातना दिई ज्यूँदै गाडिएको खुलेको थियो ।
२०६१ असारको पहिलो साता माओवादीले दैलेख जिल्ला सदरमुकाममा खानेपानीको आपूर्ति ठप्प पारिदिए । समस्या समाधान गर्न भन्दै डेकेन्द्र सहितका पत्रकारको टोली माओवादीसँग छलफलका लागि तोली गाविस पुग्यो । त्यहाँबाट फर्कने क्रममा १२ असारमा उनलाई साथै रहेका माओवादीले अपहरण गरे, टोलीमा रहेका अन्यलाई फर्काइदिए ।
यता नुतनलाई भने केही नराम्रो हुने आभाष भइसकेको थियो । त्यसको करिब दुई महिनापछि माओवादीले डेकेन्द्रको हत्या गरेको घोषण गरे । स्थानीयले डेकेन्द्रको खुट्टा बाँधी उल्टो झुन्डयाइएको देखेको लक्ष्मीलाई बताएका थिए ।
उनको शव भेटिएपछि भने लक्ष्मीले दैलेख प्रहरीमा किटानी जाहेरी दिइन् । लामो समय जाहेरीमा बेवास्ता गरेको प्रहरीले त्यसको चार वर्षपछि पुनरावेदन अदालत सुर्खेतले घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रहरी निरीक्षक विनोद शर्माको टोलीले हत्याका पाँच आरोपी लछीराम घर्ती, निरकबहादुर घर्ती, वीरबहादुर केसी, हरिलाल पुन मगर र जयबहादुर शाहीलाई २१ पुस २०६९ मा पक्राउ गरेको थियो । आरोपीले २७ साउन २०६१ मा डेकेन्द्रलाई ज्यूँदै गाडिएको सरकारी वकिल समक्ष बताएका थिए ।
पक्राउ परेकाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले १५ माघ २०६९ मा अदालतमा मुद्दा दर्ता गर्यो । उनीहरु दोषी ठहर भए पनि जिल्ला अदालत दैलेखले माग गरिए अनुसार जन्मकैदको सजाय नभई दुई वर्षमात्रै कैद सजायको फैसला सुनायो ।
त्यसबेला माओवादी प्रधानमन्त्री बाबुराम भट्टराईले नियुक्त गरेका महान्यायधिवक्ता मुक्ति प्रधानले अभियुक्तलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिएका थिए भने मुद्दा नचलाउन सरकारी वकिललाई । प्रहरी निरीक्षक शर्माको त माओवादी सरकारले बढुवा समेत रोकिदिएको थियो । अन्य चार अभियुक्त अहिले पनि फरार छन् ।
“अहिलेसम्म, आदेश पालना गर्नेलाई मात्र सजाय भएको छ, र त्यो पनि पर्याप्त छैन,” नुतन भन्छिन् ।
प्रत्येक वर्ष २७ साउनमा नुतन मन्दिरमा दियो बाल्छिन । बुवाको आत्माले शान्ति पाएको छैन जस्तो लाग्छ,” नुतन भन्छिन, “उहाँ अझै दौडिँदै हनुहुन्छ, त्यसैले त मेरो सपनामा आइरहनुहुन्छ । उहाँको आत्मालाई शान्ति मिलोस भन्दै म दियो बाल्छु ।”