पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्री निर्वाचित
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।
आज व्यवस्थापिका संसदमा भएको निर्वाचनमा ३६३ मत प्राप्त गरी दाहाल नयाँ प्रधानमन्त्री बनेका हुन् । कुल खसेको मत ५७३ मध्ये दाहालको पक्षमा ३६३ मत परेको थियो भने विपक्षमा २९० ।
दाहाललाई संसदमा सवैभन्दा ठूलो दल नेपाली कांग्रेस, मधेशी मोर्चा लगायत १६ दलहरुको समर्थन छ ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि आज, १९ साउनमा निर्वाचन भएको हो ।
१० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आए लगत्तै भएको निर्वाचनपछि दाहाल २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। अब दाहालको दोस्रो कार्यकाल शुरु भएको छ ।
तर, प्रधानसेनापतिलाई कारबाही गर्न खोजेको असफल प्रकरणपछि उनले २१ वैशाख २०६६ मा राजीनामा दिनुपरेको थियो ।
मुलुकको शासनसत्ताको बागडोर सम्हालेपछि दाहालका लागि विभिन्न दलहरुको समर्थनलाई टिकाउन र सरकार गठनका क्रममा गरेका वाचाहरु पूरा गर्न निकै चुनौतीपूर्ण हुनेछ ।
प्रदेशहरुको सीमाकंनमा हेरेफेर सहितको मधेशी मोर्चाको माग र संविधान कार्यान्वयन उनका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । त्यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँगको सहकार्य पनि दाहालका लागि कम्ती चुनौतीपूर्ण छैन ।
सरकार गठनअघि नै स्थानीय निकायको निर्वाचन गराएपछि नेपाली कांग्रेसलाई सरकारको नेतृत्व सुम्पने सहमति गरेका दाहालको महत्वाकांक्षा बढदै गएमा राजनीतिक अस्थिरता थप चर्को हुने सम्भावना समेत देखिन्छ ।