काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिविबाट सम्बन्धन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तिर्थ खनियाका अनुसार काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिविले सम्बन्धन दिएको छ ।
तीन हप्ता अघिको त्रिवि कार्यकारी परिषद्को बैठकबाट नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको खनियाले हिमालखबरलाई बताए ।
एक महीनाअघि सर्वोच्च अदालतबाट पुनः तोकता गर्न नपर्ने गरी त्रिविबाट निर्णय गराउन सर्वोच्चको निर्देशन आएकाले सम्बन्धन दिने निर्णय गरेको खनियाको दाबी छ ।
उनले भने, “नेशनल मेडिकल कलेजले त्रिविलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हाल्यो । त्यस विषयमा अदालतमा छलफल हुँदा हामी नै अदालतको मानहानीमा पर्ने डर भएकाले नेशनललाई सम्बन्धन दिएका हौैँ ।”
बसरुद्धिन अन्सारी सञ्चालक रहेको नेशनललाई सम्बन्धन दिन सर्वोच्चबाट २०७१ सालमा फैसला भएकोमा त्यति नै बेला फैसला कार्यान्वयनका लागि त्रिविलाई पत्राचार भएको थियो ।
हिमालखबरसँग कुरा गर्दै खनियाले प्रधानमन्त्री कार्यालय र आईओएमबाट पनि नेशनललाई सम्बन्धन दिन दबाब आएको बताएका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीको आन्दोलन जारी रहेको र संसदमा चिकित्सा शिक्षा सम्बन्धि विधेयक विचाराधिन रहेको अवस्थामा त्रिविले नेशनललाई सम्बन्धन दिएपछि यो विषय ठूलो विवादमा पर्ने देखिएको छ ।