अम्बरको अठोट
धनुषाका अम्बरकुमार मण्डल आफूले बनाएका कृषि उपकरण कसरी आम जनतामाझ पुर्याउने भन्ने चिन्तामा छन्।
किताबका सैद्धान्तिक कुरा घोक्न जति सजिलो छ, व्यवहारमा उतार्न उति नै कठिन। तर, प्रयोगात्मक शिक्षाको विकास भइनसकेको हाम्रा सरकारी विद्यालयमा घोकन्ते विद्याकै चलन छ। कक्षा १० सम्म यस्तै घोकेर नै पढेका अम्बरकुमार मण्डल (२६) भने फरक निस्केका छन्।
जनकपुरबाट २५ किलोमिटर पूर्वमा पर्ने धवौलीका अम्बरले धान काट्ने मेशीन र पानी तान्ने पम्प बनाएका छन्। यसका लागि उनले ६ वर्ष विदेशमा श्रम गरेर पैसा जुटाउनु पर्यो। “६ महीना मेकानिकल तालीम पनि लिनुपर्यो”, अम्बर भन्छन्।
मेशीन बनाउन पाए!
खाद्यान्न बाली काट्न विदेशबाट मेशीन आयात हुने गरेको थाहा पाएदेखि नै उनलाई देशभित्रै यस्ता उपकरण बनाउन पाए कति जाती हुन्थ्यो भन्ने लाग्थ्यो।
गाउँकै स्कूलमा १० कक्षामा छँदा उनले विज्ञान विषयमा चाप सम्बन्धी सिद्धान्त पढेका पनि थिए। त्यसमा कुनै वस्तुलाई जति क्षेत्रफलमा दबाब दियो, त्यही बराबरको शक्ति उत्पन्न हुन्छ भन्ने थियो।
१० वर्षको उमेरदेखि नै पानी तान्ने पम्प, मोटरसाइकललगायतका मेशीनरी मर्मत गरेका उनलाई ती उपकरणहरू कसरी बनेका हुन्छन् भन्ने ज्ञान थियो। एसएलसी पछि उनी मेकानिकल विषय पढ्न चाहन्थे, तर घरको कमजोर आर्थिक अवस्थाका कारण त्यो इच्छा अधुरो रह्यो।
“२०६३ सालमा एसएलसी गरेपछि जनकपुरमा निःशुल्क अटोमेकानिक कोर्स गरें” अम्बर भन्छन्, “अनि पैसा जोहो गर्न कतार गएँ।”
उनले कतारको मोहम्मद जासिम अल कवाडी ग्रुपमा २०६४ देखि २०७० सालसम्म काम गरे। कम्पनीको मेकानिकल सेक्सनमा विभिन्न मेशीनहरू खोल्ने–बनाउने काम गरेको, आफूभन्दा माथिल्ला तहका मेकानिक्सहरूले गरेको काम ध्यानपूर्वक नियाल्ने गरेको बताउँछन् उनी।
कम्पनीमा काम गर्दागर्दै उनले हावाबाट चल्ने एअरमोटर बनाए, नेपाल फर्कंदा त्यो मोटर ल्याउन पाएनन्। ६ वर्षमा गाउँ फर्कंदा उनीसँग केही अनुभव, आत्मविश्वास र थोरै भए पनि पूँजी थियो।
तब उनी आफ्नो हुटहुटीलाई व्यवहारमा उतार्नतिर लागे। घरपरिवार, आफन्तजन सबैले यस्तो नचाहिने काममा पैसा र समय खेर नफाल्न भनिरहेका थिए, तर अम्बर आफ्नो धुनमा लागेको लाग्यै भए।
“मलाई मेशीन बनाएरै छाड्छु भन्ने विश्वास थियो” अम्बर भन्छन्, “राति एक–दुई बजेसम्म पनि काम गरिरहें।”
धान र गहुँ काट्ने मेशीन बनाउँदा पाँचपटक असफल भए, तर उनले हरेश खाएनन्। छैटौं पटकमा सफल हुँदा सारा दुःख र तनावलाई खुशीले बिर्साएको अम्बर बताउँछन्।
वेल्डिङ मेशीनका सामान र झयाल–ढोका बनाउने रड लगायतका सामग्रीबाट बनेको धान काट्ने मेशीन उनले गत १२ वैशाखमा प्रदर्शन गरे। यो मेशीन बनाउन रु.२ लाख खर्च भएको उनी बताउँछन्।
त्यसको दुई महीनापछि उनले पानी तान्ने पम्प पनि बनाए। यसबापत अम्बरलाई जिल्ला युवा समिति, धनुषाले युवा प्रतिभा राष्ट्रिय पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमा सिफारिश गरेको छ।
श्रीमती, बाबुआमा, तीन दाजुभाइसहित ११ जनाको संयुक्त परिवारमा रहेका उनी आफूले बनाएका मेशीनहरूको व्यावसायिक उत्पादन गर्ने योजनामा छन्।
उनी भन्छन्, “अहिलेको मूल चिन्ता मेशीन उत्पादनलाई कसरी सस्तो बनाउने? भन्ने छ।” यसमा सरकारी सहयोग भए आफूले बनाएका धान काट्ने मेशीन र पम्पबाट आम नेपाली किसान लाभान्वित हुने उनी बताउँछन्।