नाट्यकर्मीको एक लाखको बीमा
नेपाली नाट्यकर्मीहरुका लागि कार्यस्थलमा हुने दुर्घटनाका लागि रु.एक लाख बराबरको बीमा गरिने भएको छ । त्यसका लािग २ भदौमा नाट्यकर्मी महासंघ र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको छ ।
नाट्यकर्मी महासंघले आयोजना गरेको ‘नाट्य विमर्श’ कार्यक्रम अन्तर्गत पहिलो शृंखलामा ‘नाट्यकर्मीहरुको सामाजिक सुरक्षा’ विषयक बहस सञ्चालन गरिएको छ । सोही कार्यक्रममा महासंघ र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको हो ।
कार्यक्रममा वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले कार्यस्थलमा हुने दुर्घटना बीमा नाट्यकर्मीहरुको हितका लागि महत्वपूर्ण कार्य भएको बताए । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नाट्यकर्मीहरुको सुरक्षाको कार्यक्रम संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले ल्याउनु पर्ने भए पनि प्रतिष्ठान स–साना कुरामै अल्मलिएको बताए । प्रतिष्ठानले काम गर्न नसकेको औल्याउदै मल्लले भने, “अहिले जसरी नै राजनीतिक भर्ति केन्द्रका रुपमा मात्रै रहने हो भने बरु यसको बजेट गाउ“पालिकाको वडाध्यक्षलाई हस्तान्तरण गरिदिए हुन्छ । प्रज्ञा प्रतिष्ठान भन्दा बढी त वडाध्यक्षले राम्रो काम गर्छन् ।”
महासंघका अध्यक्ष विजय विस्फोटले गैरसरकारी संस्थाहरुले संचालन गर्ने सडक नाटक प्रदर्शनमा सहभागी हुने नाट्यकर्मीको अनिवार्य दुर्घटना बीमा गर्नु पर्नेमा महासंघ लाग्ने बताए । कार्यक्रममा महासचिव राजेन्द्र रिमालले नाट्यकर्मीहरुको सामाजिक सुरक्षा विषयमा कार्यपत्र पेश गरेका थिए ।
त्यस्तै सा“स्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सांस्कृतिक संस्थानले नाट्यकर्मीहरुको समस्याका बारेमा बोलेका थिए । महासंघका उपाध्यक्ष प्रवीण पुमाले बहस कार्यक्रमको बारेमा र बीमा कम्पनीका तारा चौलागाईंले बीमा सम्बन्धमा जानकारी दिएका थिए ।