चिसो मरुभूमिको कथा
नयनराज पाण्डेको उपन्यास सल्लीपिर मा आफ्ना लागि काठमाडौंबाट किताब ल्याइदिने बाचा गरेकी आमा पेमा महीनौंसम्म नआउँदा फुर्वा नराम्रो सपना देख्छ । उता अनेक सास्ती सहेर बल्लतल्ल चौंरीलाई किताब बोकाएर गाउँ लागेकी पेमा भने बाटैमा हिउँमा पुरिन्छिन् ।
सरुभक्त लिखित र अनुप बराल निर्देशित नाटक थाङ्गला ले पनि हिमाली क्षेत्रका सपनाकै कुरा गर्छ । ब्यापार गर्न तिब्बत गएका ग्याल्मो तीन महीनासम्म नफर्किंदा पत्नी लोप्साङ पनि हरेक दिन नराम्रा सपना देख्छिन् । पेमा झैं यहाँ पनि ग्याल्मो पुरिन्छन् । तर, बँच्न सफल हुन्छन् ।
राजधानीको शिल्पी थिएटरमा चलिरहेको थाङ्गला हिमाली जीवनको कथा हो, जसमा बहुपति प्रथा र व्यक्तिगत स्वतन्त्रताको मुद्दा अहम् छन् । महाभारतमा पाँच पाण्डवकी साझा पत्नी द्रौपदीको सन्दर्भलाई सहज रुपमा लिइए जस्तै हिमाली भेगको बहुपति प्रथालाई पनि सामान्य मानिनुपर्ने हो । तर, थाङ्गला ले यो प्रथाको मनोविज्ञानको सूक्ष्म विश्लेषण गर्छ । धर्म र संस्कृतिका नाममा स्वतन्त्रतामाथिको नियन्त्रणले उत्पन्न कुण्ठा, विद्रोह वा विध्वंशलाई मिहीन ढङ्गबाट प्रस्तुत गर्छ ।
चार भाइ ग्याल्मो, साङ्गेलामा, जिग्मे र पेम्बाको भूमिकामा क्रमशः प्रकाश घिमिरे, दर्पण राजवंशी, केशव राई र रोय श्रेष्ठको अभिनयले गम्भीर मात्रै बनाउँदैनन्, हसाउँछन् पनि । चार भाइकी एक्ली पत्नी लोप्साङ्ग (दीया मास्के) मा पनि स्वाभाविकता झल्कन्छ । एक घण्टा ४५ मिनेटको यो नाटकमा टासी (पुष्कर गुरुङ), केल्साङ (स्वस्तिका राजभण्डारी), ल्हामो (नमिता तामाङ) र ठालु (सूर्यमान लिम्बू) का चरित्र र संवादले दर्शकलाई बारम्बार घोत्लिन बाध्य पार्छन् ।
यस अतिरिक्त दर्शकका लागि नौलो खुराक भनेकै हिमाली परिवेश, रहनसहनको परिचय हो । यसले नाटकलाई समृद्ध बनाएको छ । सपनाका गिद्द, शुभसंकेत ल्याउने कर्याङकुरुङ, चिसो सिरेटो र हुरीबतास जस्ता प्रयोग र ‘प्रप्स’ ले दर्शकलाई हिमाली क्षेत्रकै अनुभूति दिलाउने प्रयत्न गरेको छ । १६ वर्षअघि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा मञ्चित यो नाटकले दोस्रोपटक मञ्च र दर्शक पाउनुलाई निर्देशक बरालले आफ्नो सफलता ठानेका छन् । एक्टर्स स्टुडियोको यो प्रस्तुतिले हिमाललाई किताबमा मात्र पढेकाहरुका लागि छिरिङले सुनाउने थाङ्गला का कथा महसूस गराउने क्षमता राख्छ ।
बच्चु विक