स्नेक एन्टीभेनम: गाह्रो छैन उत्पादन
- रामु सापकोटा
सर्प पक्रिन र पाल्न मिल्ने कानून बने नेपालमै बन्छ सर्पदंशको उपचारमा प्रयोग हुने औषधि 'स्नेक एन्टी भेनम'।
सन् २०१२ मा भारतको सर्वोच्च अदालतले सर्पदंशको उपचारमा प्रयोग हुने औषधि 'स्नेक एन्टी भेनम' निर्यात नगर्न आदेश दिएपछि नेपालमा उक्त औषधिको अभाव चर्कियो। वास्तवमा त्यो नेपालमै 'एन्टी भेनम' उत्पादन गर्ने दबाब पनि थियो। नभन्दै, स्वास्थ्य मन्त्रालयले 'स्नेक एन्टी भेनम' को उत्पादन गर्न गृहकार्य थालेको छ।
मन्त्रालयले अध्ययनका लागि तत्कालीन सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा माघ २०७२ मा गठन गरेको समितिले गएको १७ माघमा 'पोलिभालेन्ट' (चार प्रकारका विष मिसाएर बनाइएको औषधि) प्रकारको 'स्नेक एन्टी भेनम' नेपालमै उत्पादन गर्न सकिने सुझाव दिएको छ।
समितिको पहिलो बैठकले परामर्शदाताको लागि प्रस्ताव तयार पारी विश्व स्वास्थ्य संगठनलाई अनुरोध गर्ने, मुलुक भित्र स्नेक एन्टी भेनमको सार्वजनिक-निजी साझेदारी अन्तर्गत रहेर उत्पादन गर्ने, उत्पादनका लागि आवश्यक वन्यजन्तु र पशु सम्बन्धी आवश्यक कानूनी व्यवस्था सम्बन्धी छलफल गर्ने लगायतका विषयमा निर्णय गरेको थियो।
हाल नेपालले भारतको भिन्स् बायो प्रोडक्ट लिमिटेडबाट वार्षिक रु.५ करोडसम्मको ४० हजारदेखि ५० हजार भायल 'स्नेक एन्टी भेनम' आयात गर्दै आएको छ। विषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ।
नेपालमा पाइने ८९ थरीका सर्पमध्ये करेत, गोमन, हरेउ (ग्रीन पिक भाइपर) सहित १७ प्रजातिका सर्प विषालु छन्। पहाडी क्षेत्रमा हरेउ तथा तराईमा करेत र गोमन सर्प पाइन्छ। नेपालमा वार्षिक करीब १५ हजार जनालाई विषालु सर्पले डस्ने गरेको छ। तीमध्ये १० हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा जाने अनुमान छ।
सरकारले मुलुकभरका ८१ उपचार केन्द्रबाट निःशुल्क 'स्नेक एन्टी भेनम' दिने व्यवस्था मिलाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को अनुमानमा, विषालु सर्पले टोकेकामध्ये वर्षेनि दुईसय जनाको ज्यान जाने गरेको छ। यो अवस्थामा स्वास्थ्य मन्त्रालयलाई प्राविधिक रूपमा सघाउन भिन्स लिमिटेड पनि इच्छुक देखिएको छ। उसले ११ माघ २०७२ मा मन्त्रालयलाई पत्र पठाएर त्यस्तो इच्छा देखाएको छ।
मन्त्रालयको सात सदस्यीय स्नेक एन्टी भेनम उत्पादन, सम्भाव्यता अध्ययन टोलीले गएको ३–६ जेठमा सर्पदंशको औषधि उत्पादन गर्ने थाइल्याण्डको क्वीन साओराभा मेमोरियल इन्ष्टिच्यूटको अध्ययन भ्रमण गरेर तयार पारेको प्रतिवेदन व्यवस्थापिका संसद्को वातावरण संरक्षण समितिमा समेत बुझाउने भएको छ। सम्भाव्यता अध्ययन समितिका संयोजक डा. गुणनिधि शर्मा इच्छाशक्ति राखेर काम गरे मुलुकभित्रै 'स्नेक एन्टी भेनम' उत्पादन गर्न धेरै समय नलाग्ने बताउँछन्।
कानूनी अड्चन
'भेनम' उत्पादनको लागि विषालु सर्पहरू पाल्नुपर्छ। तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले अध्ययन–अनुसन्धानका लागि मात्र सर्प पक्रने अनुमति दिएको छ। अर्थात्, सरीसृप अन्तर्गत पर्ने सर्प व्यावसायिक प्रयोजनको लागि पक्रन वा पाल्न पाइँदैन।
यद्यपि, अहिले संसद्मा रहेको 'राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०७१' (पाँचौं संशोधन) को मस्यौदामा व्यावसायिक प्रयोजनका लागि सर्पलगायतका जीव पाल्न पाइने व्यवस्था गरिएको वन मन्त्रालयका उप–सचिव यज्ञनाथ दाहाल बताउँछन्। उनका अनुसार, संशोधित ऐनको मस्यौदा पास भए भेनम उत्पादनका लागि नियमावली बनाउने बाटो खुल्नेछ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा. बाबुराम मरासिनी 'स्नेक एन्टी भेनम' उत्पादन गर्नलाई 'खोप तथा सेरम' सम्बन्धी ऐन पनि आवश्यक हुने बताउँछन्।
कानून नबनी वन्यजन्तु पाल्दा जनावर अधिकारको विषय उठेर कम्पनी नै बन्द भएको उदाहरण छन्। भारतमा सात कम्पनीले भेनम उत्पादन गर्दै आएकोमा जनावरको अधिकारको हनन् भएको मुद्दामा चार वटा बन्द भएका थिए।
यस्ता विवाद नहुने गरी नीति र कानून लागू भएमा एन्टी भेनम उत्पादनमा निजी क्षेत्र पनि आकर्षित हुने स्नेक एन्टी भेनम उत्पादन सम्भाव्यता अध्ययन समिति अध्ययन टोलीका संयोजक शर्मा बताउँछन्।
निजी क्षेत्रको चासो
निजी क्षेत्रबाट सुनसरीको महेन्द्रनगर गाविस–४ मा दुई वर्षअघि नै 'एन्टी भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रा.लि' खुलेको छ। भेनम उत्पादनका लागि रु.८८ करोड ६३ लाख खर्च छुट्याएर काम अघि बढाइएको कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुँयाल बताउँछन्। सरकारले कानून बनाए अबको दुई वर्षभित्र 'स्नेक एन्टी भेनम' उत्पादन गर्ने उनले बताए।
औषधि व्यवस्था विभागबाट भेनम उत्पादन अनुमति लिइसकेको कम्पनी सर्प पाल्ने कानून नहुँदा अगाडि बढ्न सकेको छैन। कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन उद्योग विभागमा पनि बुझाइसकेको अध्यक्ष फुँयाल बताउँछन्।
नेपाली सेनाले पनि भेनम उत्पादनमा चासो दिएको छ। ईडीसीडीका निर्देशक डा. बाबुराम मरासिनी सेनाबाट अवकाश प्राप्त भेटेरिनरी चिकित्सकहरूले 'स्नेक एन्टी भेनम' उत्पादनमा विशेष चासो राखेको बताउँछन्।
-----------------------------------------------------------------------
झलनाथ प्रतिष्ठानलाई एक करोड!
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्लाहीमा स्नेक एन्टी भेनम उत्पादन गर्ने भन्दै स्वास्थ्य मन्त्रालयबाट गत असारमा रु.१ करोड लिएको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ प्रतिष्ठानले अध्ययन प्रतिवेदन बुझाउन भने बाँकी रहेको बताउँछन्।
स्वास्थ्यका अन्य अधिकारीहरू भने भेनम उत्पादन सम्बन्धी नीतिगत व्यवस्था नै नभएको अवस्थामा औषधिको कुनै ज्ञान नभएको प्रतिष्ठानलाई रकम बाँड्नु गलत काम भएको बताउँछन्।
----------------------------------------------------------------------
यसरी बन्छ भेनम
डा. गुणनिधि शर्मा, संयोजक
स्नेक एन्टी भेनम उत्पादन सम्भाव्यता अध्ययन टोली
विषालु सर्पको विष रक्तस्राव गराउने र स्नायु प्रणालीलाई असर पुर्याउने गरी दुई खालका हुन्छन्। एन्टी भेनम उत्पादन गर्न यी दुवै खाले सर्पलाई फार्ममा पाल्नुपर्छ। सर्प, घोडा र खरायो वा मुसा पनि पाल्नुपर्छ।
घोडालाई सर्पबाट निकालेको विष सुईमार्फत दिएपछि एन्टीबडी (प्रतिरक्षात्मक) पदार्थ बनाउँछ। त्यसपछि सुई मार्फत घोडाको रगत तान्ने र तानेको रगतबाट प्लाज्मा निकालिन्छ। त्यसैलाई औषधि बनाउन उपयोग गरिन्छ।
औषधिलाई मानिसमा प्रयोग गर्नुअघि सुईमार्फत मुसा वा खरायोमा परीक्षण गरिन्छ।
एन्टी भेनम उत्पादन गर्ने उद्योग स्थापना गर्न करीब रु.१० अर्ब जति चाहिन्छ। औषधि विज्ञानका विज्ञ, जनस्वास्थ्य विज्ञ, भेटेरिनरी डाक्टर, फर्माकोलोजिष्ट र प्लान्ट डिजाइनका लागि इन्जिनियरहरूसहित सवा सय जति जनशक्ति चाहिन्छ। शुरुआती चरणमा दुईसय जति घोडा र १७ प्रजातिका सर्प पाल्नुपर्छ। उद्योगमा विद्युत् र स्वच्छ पानी चौबीसै घण्टा उपलब्ध हुनुपर्छ। औषधि उत्पादन गर्न ५ देखि १० वर्ष लाग्छ।