जर्मनी र स्विट्जरल्याण्डमा सुकर्मको संगीत
लोक-शास्त्रीय सांगीतिक समूह सुकर्म जर्मनी र स्विट्जरल्याण्डका विभिन्न शहरहरूमा सांगीतिक प्रस्तुति दिंदैछ ।
तीन साता लामो सांगीतिक यात्राका लागि सुकर्मको टोली २१ साउनमा जर्मनीको डुसेलडर्फ शहरतर्फ प्रस्थान गरिसकेको छ ।
टोलीमा डा. ध्रुवेशचन्द्र रेग्मी (सितार), मनोज पण्डित (तवला) र उमेश पण्डित (बाँसुरी) छन्।
सुकर्मले विगत एक दशक भन्दा लामो समयदेखि हरेक वर्षको गृष्म याममा युरोपेली शहरहरूमा सांगीतिक प्रस्तुति दिदै आएको छ।
जर्मनी र स्विट्जरल्याण्डका अधिकांश प्रस्तुति सांगीतिक महोत्सवसँग सम्वन्धित हुनेछन् भने केही प्रस्तुति खास शहरहरूका विशेष आग्रहमा गरिनेछन् ।
यस वर्षको कार्यक्रम बारे डा. रेग्मीले भने, "हामीलाई पछिल्ला प्रस्तुति दिएका शहरहरू र नयाँ ठाउँहरूबाट पनि प्रस्तुतिका लागि निम्ता आइरहेको छ ।"
यस वर्ष सुकर्मले स्विट्जरल्याण्डको ज्यूरिच शहरस्थित बुलिङ्गर चर्चमा सार्वजनिक प्रस्तुति दिनेछ भने ज्यूरिच नजिकैको बादेन शहरका मेयरको आग्रहमा ‘टाउन फेस्टिभल’ मा सहभागी हुनेछ।
"नेपाली पोशाकमा सजिएर राष्ट्रिय झण्डामुनि नेपालको लोक-शास्त्रीय धुनहरू विदेशी संगीत अनुरागीहरू बीच प्रस्तुत गर्दा छुट्टै गर्वको अनुभूति हुन्छ," जर्मनी प्रस्थान पूर्व डा. रेग्मीले सुनाए।
समूह १२ भदौमा स्वदेश फर्किनेछ।