प्राध्यापक विजयराज शर्माको ‘भास’ लोकार्पण
अमेरिकास्थित युनिभर्सिटी अफ कोलोराडो एट बाउल्डरमा अर्थशास्त्र विषयका प्राध्यापक विजयराज शर्माको उपन्यास ‘भास’ आज काठमाडौंमा लोकापर्ण गरिएको छ ।
‘तिमी कुन माटोमा बस्ने, यो महत्वपूर्ण होइन । जहाँ बस नेपालीको मुटुमा बस्ने काम गर । भूमि होइन उपयुक्त भूमिकाको खोजी गर ।’ - 'भास'बाट
करिब तीन वर्षअघि कलाकार कृष्णमुरारी ढुंगेलले फिल्म निर्माणका लागि पटकथा लेख्न आख्यानकार ध्रुबचन्द्र गौतमलाई एउटा कथा दिए । तर, गौतमले उक्त कथा अर्का लेखक नयनराज पाण्डेलाई जिम्मा लगाए । कथाबाट प्रभावित पाण्डेले यसलाई उपन्यास बनाउन कथा लेखक शर्मालाई सुझाव दिए । यसरी डायस्पोराका नेपालीको कथा बोकेको उपन्यास ‘भास’ तयार भयो ।
विभिन्न कारणले मातृभूमि छोडेर विदेशिनु परेकाहरुको अन्तरद्वन्द्वको रोचक र सुन्दर वर्णन गरिएको उपन्यास ‘भास’ मा विदेशबाट फर्किसकेपछि स्वदेशमा अर्को दलदलमा परेका पात्रहरुको कथा छ ।
बाराको कलैयामा जन्मेका शर्माले लेखेको पहिलो उपन्यासमा अमेरिकामा रहेका नेपालीका कथासाथै कलैया, हेटौडाका कथा पनि छन् ।
काठमाडौं सर्वनाम थियटरमा आयोजित विमोचन कार्यक्रमका अतिथि एवम् आख्यानकार नयनराज पाण्डेका शब्दमा स्थानीय लवज,आञ्चलिकता र संवादशैलीको भरपूर प्रयोग गरिएको उपन्यासमा तिलस्मी कथा छैनन् । यथार्थलाई सहज र रोचक शैलीमा वर्णन गरिएको छ । विदेशमा शरणार्थीको जस्तो जीवन विताइरहेको नेपाली स्वदेश फर्केपछि आन्तरिक विस्थापनमा परेकाहरुको पीडा देखेर झन विचलित हुन्छ ।
अमेरिकामै बसोबास गर्ने आख्यानकार निलम कार्की निहारिकाले उपन्यासमा नारी दृष्टिकोणलाई सशक्त रुपमा प्रस्तुत गरिएको, विदेशमा लामै समय विताएर पनि मनभरी नेपाल बोकेकाहरुको अन्तरद्वन्द्व, आप्रवासीका व्यथालाई प्रवलरुपमा उठाइएको बताइन् ।
आफू र आफन्तको सुरक्षा र कल्याणको चाहना मानवीय स्वभाव हो । तर, यही सामान्य चाहनामा समेत तगारो लागेपछि मानिस विद्रोही हुन्छ ।
विद्रोहका धेरै स्वरुपमध्ये एउटा वाध्यात्मक विद्रोह हरेक दिन त्रिभूवन विमानस्थलबाट बाहिरिने नेपालीका आँखामा देखेको उपन्यासकार विजयराज शर्मा बताउँछन् । यसरी मनमा विद्रोह र नेपाल बोकेर विदेशिनेहरु भासमा फँस्ने गरेको उनले बताए ।
विदेशमा जहाँ भए पनि नेपालीले नेपालकै हित चिताउने र ती सबै नेपालीलाई एउटै सूत्रमा जोड्दा नेपाली राष्ट्रियता अझ बलियो हुने उनको भनाई छ । “डायस्पोराको पीडासँग मौन साक्षात्कार गरेको छ भासले” उपन्यासकार शर्मा भन्छन् ।