आवाज सुन्दरी
भारतको नयाँदिल्ली बसेर ज्योतिषशास्त्र पढेका पाल्पाका जेपी बस्याल लहैलहैमा सिक्किम आइपुगे। रहँदाबस्दा त्यहींको ज्योतिषी बने, बिहे गरे। तर, उनको सोख त गायक बन्ने रहेछ, बाध्यताले पो सनातनी विद्या सिकाएछ। “संगीतप्रति बाबाको रुचि नभइदिएको भए मेरो आवाज कतै गुञ्जिने थिएन”, आकांक्षा बस्याल भन्छिन्।
सुन्दा असाधारण लाग्छ, २० वर्षकै उमेरमा आकांक्षाले १२५ भन्दा बढी गीत गाइसकेकी छिन्। १७ वर्षकै उमेरमा मेरो आकांक्षा नामक अल्बम निकालेकी उनको 'तिमी छौ र त' बोलको गीत यूट्यूबमा १५ लाखभन्दा बढीले हेरिसकेका छन्। तीनपटकसम्म (२०६९, २०७१ र २०७२) सालमा विन्ध्यवासिनी म्यूजिक अवार्डमा 'बेष्ट पप सिंगर' को उपाधि जितेकी उनको स्वर चलचित्रमा माग हुन थालेको छ। गीत गाउनकै लागि उनी देशविदेश चहार्ने भइसकिन्। भर्खरै मात्र उनी अष्टे्रलियाबाट फर्केकी हुन्।
आकांक्षाको गायन यात्रा भने सिक्किममै शुरु भएको थियो। कक्षा ६ सम्म त्यहाँको खि्रश्चियन स्कूलमा पढेकी उनी येशुका भजन पनि गाउँथिन्। सँगै हिन्दू भजन पनि। ज्योतिष बुबाले छोरीलाई संगीत कक्षामा पनि भर्ना गरेका थिए। कक्षा ७ पढ्न भने उनी परिवारका साथ बुटवल आइपुगिन्। त्यहीं संगीत पनि सिक्न थालिन्।
भोइस् अफ टिन २०६७ भने आकांक्षाका लागि 'टर्निङ पोइन्ट' बन्यो। तर, कमैलाई मात्र थाहा छ, उनी यो प्रतियोगिताको बुटवल अडिसन को पहिलो चरणबाटै बाहिरिएकी थिइन्। तर, निर्णायकद्वय रामकृष्ण ढकाल र राजु सिंहले आकांक्षाका अडियो रेकर्ड सुनेछन्। “घर पुगेपछि फेरि बोलाउनुभयो, र गाउन लगाउनुभयो, अघि किन नर्भस भएको भन्दै सम्झाउनुभयो”, उनी सम्झन्छिन्। देशव्यापी यो गायन प्रतियोगितामा उनै आकांक्षा महिलातर्फकी प्रथम विजेता बनिन्।
छोरीलाई नामी गायिका बनाउने सपनाले तीन वर्षअघि बस्याल परिवारलाई काठमाडौं बसाइँ सारेको छ। यहीं स्नातक अन्तिम वर्षमा पढिरहेकी आकांक्षा 'भर्सटायल' गायिकाका रुपमा संगीतमा उँचाइ हासिल गरिरहेकी छन्।
ज्योतिष पेशाबाटै घर चलाइरहे पनि बुबा जेपीले छोरीलाई 'भाग्यभन्दा कर्ममाथि विश्वास गर्न' सिकाएका छन्। “मेरो कर्म भनेकै गीत गाउनु रहेछ”, आकांक्षा भन्छिन्, “तर, साँच्चैको खुशी चाहिं नेपाली संगीतमा फरक चिनारी छाड्न सकेमा मात्र हुनेछ।”
रविन गिरी