निर्वाचनपछि विभाजित राजपा
स्थानीय तह निर्वाचनपछि विभाजित राजपा, मोरङका नेताहरू एक–अर्कालाई कारबाही गर्न लागिपरेका छन् ।
स्थानीय तह निर्वाचनपछि नेताहरू आरोप–प्रत्यारोपमा लाग्दा राष्ट्रिय जनता पार्टी (राजपा), मोरङमा विभाजन आएको छ। जिल्ला तहमा अध्यक्ष मण्डलमा ६ वटै दलका अध्यक्ष र एक जना संयोजक हुनुपर्ने भए पनि दुई जना संयोजक र दुईवटा जिल्ला समिति गठन भएका छन्। एउटामा मोहम्मद कादिर र अर्को समितिमा राधे कामत संयोजक बनेका छन् ।
१ साउनमा विराटनगरमा सम्पन्न राजपा, जिल्ला समितिको विस्तारित बैठकले कादिरलाई पुनः संयोजक बनाउने निर्णय गरेपछि असन्तुष्ट समूह विरोधमा उत्रिएको हो। असन्तुष्ट समूहले २ साउनमा कामतलाई संयोजक बनाएको घोषणा गरेपछि ३ साउनमा कादिर समूहले पत्रकार सम्मेलन गरेर कादिर नै अध्यक्ष रहेको दाबी गर्यो ।
केन्द्रमा महन्थ ठाकुर संयोजक रहुञ्जेलसम्म जिल्लामा आफू पनि संयोजक रहिरहने कादिरको भनाइ छ। कामत भने पार्टी विधानमा दुई/दुई महीनामा अध्यक्ष मण्डलबाट चक्रीय प्रणालीअनुसार संयोजक फेरिने भएकोले आफू संयोजक भएको बताउँछन्। विवादपछि दुवै पक्ष छुट्टा–छुट्टै बैठक बसालेर समानान्तर रूपमा चलेका छन् ।
कारबाही र मुद्दा
स्थानीय तह निर्वाचनपछि उनीहरूको विवाद दुई संयोजकमा मात्रै सीमित रहेको छैन, एक–अर्कालाई कारबाही गर्न पनि लागिपरेका छन् । निर्वाचनमा अन्य दललाई सघाएको, उम्मेदवार बनेको तथा अन्य उम्मेदवारलाई सहयोग गरेको दुवै पक्षको आरोप छ ।
कादिर समूहको ७ साउनको बैठकले निर्वाचनमा सघाउनेहरूलाई पहिचान गरेर कारबाही गर्न उनकै नेतृत्वमा छानबिन समिति गठन गरेको छ भने कामत समूहको १० साउनको बैठकले लालबाबु सहनीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
अध्यक्ष मण्डलका सदस्यद्वय राधे कामत र श्रीराम कामतले नेपाली कांग्रेसका तर्फबाट मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा विजयी रामकुमार कामतलाई सघाएको आरोप कादिर पक्षले लगाएको छ। राधे र श्रीराम दुवैलाई कारबाही गरिनुपर्ने राजपा केन्द्रीय सहमहासचिव दिलीप धाडेवा बताउँछन् ।
केन्द्रीय उपाध्यक्ष यदुवंश साह, महासचिव जगदीश अधिकारी, सहमहासचिव दिलीप धाडेवा, केन्द्रीय सदस्य चन्द्रप्रसाद राजवंशी र जिल्ला संयोजक कादिरलाई अनुशासनको कारबाही गर्न केन्द्रमा सिफारिश गरिएको असन्तुष्ट समूहका अध्यक्ष कामत बताउँछन्। उनीहरूले स्थानीय तह निर्वाचनमा अन्य दल र उम्मेदवारलाई सघाएको कामतको आरोप छ ।
त्यस्तै विराटनगर–१८ को वडा अध्यक्षमा उम्मेदवार बनेका राजपाका स्थानीय नेता संजय अमात, सुनवर्षी नगरपालिकाको मेयरका उम्मेदवार बनेका कार्तिक पासवान र सुनवर्षी नगरपालिका–५ को वडा अध्यक्षमा उम्मेदवार बनेका रामकुमार राजवंशी पनि कामत समूहको कारबाहीको सूचीमा छन् । तीनै जना स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।
यसरी एक–अर्काको विरोध गर्दै कारबाहीका लागि सिफारिश गरिरहेका दुवै समूहका नेताहरू आफैं भने मुद्दा खेपिरहेका छन् । स्थानीय तह निर्वाचनको विरोध गर्दै २ असारमा जिल्ला निर्वाचन कार्यालय, मोरङमा ताला लगाउन जाँदा राजपाका केन्द्रीय महासचिव जगदीशप्रसाद अधिकारी, केन्द्रीय सदस्यहरू चन्द्रप्रसाद राजवंशी, सुरेश सिंह र राजीव केसी, अध्यक्ष मण्डलका सदस्यहरू मोहम्मद कादिर, राधे कामत र रमानन्द साहलगायत १४ जना नेता–कार्यकर्ता पक्राउ परेका थिए ।
सार्वजनिक अपराध ऐनअन्तर्गत समातिएका उनीहरूलाई ६ असारमा निर्वाचन बिथोल्ने कार्य नगर्ने शर्तमा छाडिएको थियो। उनीहरू तारिखमा छुटेको र मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए ।
कमल रिमाल, विराटनगर