संरक्षणको अभावमा ऐतिहासिक सम्पदा संकटमा
म्याग्दीको बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका ऐतिहासिक सम्पदा संकटमा परेका छन् ।
ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, चौतारी, पोखरी, पाटीपौवा र धारा कुवाजस्ता सम्पदा संरक्षणको अभावमा संकटमा पर्दै जान थालेका छन् ।
गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय चौतारी–पोखरी भत्काइएको र भएकाको पनि संरक्षण नगरिँदा ऐतिहासिक र सामरिक महत्व बोकेका दर्जनाैँ चौतारी, पोखरी अस्तित्वविहीन बन्दै गएको धौलागिरी गाउँपालिका ताकमका बुद्धिप्रसाद सुवेदीले बताए ।
बाइसे चौबिसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक चौतारी अहिले खण्डहरमा परिणत भएका छन् ।
ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले बनाएको फूलपाती चौतारी, डम्मरा चौतारी, गौडालाउने चौतारीलगायत दर्जनौंँ चौतारी मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गइरहेका छन् ।
त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरीको पनि अस्तित्व संकटमा परेको छ ।
मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन ।
ध्रुवसागर शर्मा, रासस