सोलार सिंचाइले युवा पलायन रोक्यो
आकाशे पानीमा निर्भर गाउँमा वाटरपम्प प्रविधि भित्रिएपछि युवा पलायन रोकिनुको साथै गरीबी घटाउन सहयोग पुगेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका, खेदा गाउँकी हीरा चौधरी हरेक वर्ष केही महीना काम गर्न पतिसँगै सीमा पारि भारत जान्थिन्, तर अहिले अवस्था बदलिएको छ। चौधरी परिवार अहिले जग्गा भाडामा लिएर आफूलाई चाहिनेभन्दा बढी अन्नबाली उब्जाउँछ। “सौर्य ऊर्जाबाट सिंचाइ हुने भएपछि हिउँद–बर्खा दुवै सिजनमा खेत बाँझो राख्नुपरेन” हीरा भन्छिन्, “अहिले धान बाहेक तरकारी खेतीबाट पनि राम्रै आम्दानी भइरहेको छ।”
गरीबी निवारण कोषको सहयोगमा सौर्य ऊर्जाबाट चल्ने 'वाटरपम्प' जडान भएपछि खेदामा धेरैको आर्थिक अवस्था फेरिएको छ। कोषले साना पूर्वाधार कार्यक्रममार्फत दिने रु.७० हजारबाट यो प्रविधि जडान गरिएको हो।
भारतसँग सीमा जोडिएको खेदाका हीरा चौधरीसहित ४५ परिवारले 'वाटरपम्प' जडानपछि जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन्। “पहिला अर्काको जग्गा आकाशे पानीको भरमा कमाउँथ्यौं, पानी नपर्दा मजदूरी गर्न भारत जान्थ्यौं” अस्तुनी चौधरी भन्छिन्, “अहिले त तरकारी बेचेरै वर्षमा रु.७० हजार जति बचाउँछौं।”
खेदामा उत्पादित तरकारीको मुख्य बजार धनगढी हो। यसबाट खेदावासीको आम्दानी त बढेकै छ, भान्सामा नियमित हरियोपरियो पाक्दा बालबालिकालाई पनि पोषण पुगेको छ।
गरीबी निवारण कोषका कार्यकारी प्रमुख नहकुल केसी सौर्य ऊर्जाबाट खेतमा पानी प्रविधिले कामका लागि बाहिरिने युवालाई गाउँमै रोकेको बताउँछन्। त्यसबाट कृषि उत्पादन बढेको उनले बताए। कृषि तथा खाद्य सुरक्षा विज्ञ यमुना घले भन्छिन्, “गाउँमा एकसाथ खाद्य सुरक्षा र रोजगारी सिर्जना गर्ने उपाय भनेको सिंचाइ नै हो।”
कोषले गरीबी निवारणका अन्य उपाय पनि अपनाएको छ। जस्तो, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा साइकल मर्मत गर्ने मानबहादुर डगौराले अहिले मोटरसाइकल वर्कशप चलाएका छन्। कोषले रु.१५ हजार सहुलियतपूर्ण ऋण दिएपछि व्यवसायमा स्तरोन्नति गर्न सकेको उनले बताए।
कोषले ५८ जिल्लाका समुदायमा आधारित ३२ हजारभन्दा बढी संस्थालाई घुम्ती कोषमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ। कैलालीमा १४६ वटा संस्थामार्फत ऋण प्रदान गरिएको छ। ऋण पाउनेमध्ये अधिकांश संस्थाका सदस्य मुक्त कमैयाहरू छन्।