‘प्लाष्टिक चामल’को भ्रम
हरिहर गुरागाई
सुरक्षित प्याकेजिङका लागि बनाइएको प्लाष्टिकका दाना न ‘चामल’ हो न यसलाई मिसाएर व्यापार गर्न नै सजिलो छ ।
केही महीनाअघि एक मित्रले वास्तविकता बुझन भन्दै सामाजिक सञ्जालको एउटा भिडियो मलाई शेयर गरे । भिडियोमा ‘एक युवतीले पकाएको चामल प्लाष्टिक बनेको र त्यसलाई डल्लो पारेर भुईंमा उफार्दै गरेको’ देखिन्थ्यो ।
केही समय यता प्याकेजिङका क्रममा सामान नहल्लियोस् भनेर विभिन्न आकारका प्लाष्टिकका टुक्रा प्रयोग गर्ने चलन आएको छ । टिभी, फोनदेखि शिशाका भाडाकुँडाका साथै अन्य टुट्फुट् हुने सामग्रीहरू सुरक्षित तरिकाले ढुवानी गर्न थर्मोकोल, प्लाष्टिकका फोका आदिको प्रयोग त पहिलेदेखि नै हुँदै आएको छ । हलुका र ढुवानी गर्दा जुनसुकै आकारमा मिलाएर प्याकेजिङ गर्न सकिने भएकोले अहिले प्लाष्टिकको छनोट बढेको हो । यो हेर्दा चामल जस्तै देखिन्छ । त्यसैले धेरैले यसलाई ‘प्लाष्टिकको चामल’ ठान्छन् ।
मेरा मित्रको आशंका ‘के व्यापारीले चामलमा प्लाष्टिकको चामल मिसाउँछन् ?’ भन्ने थियो, किनकि भिडियोले त्यसैतर्फ संकेत गरेको थियो । तर, खाद्य विशेषज्ञको नाताले भन्ने हो भने यसो गर्नु स्वास्थ्य प्रतिकूल त छँदैछ व्यापारीको हितमा समेत देखिंदैन । प्लाष्टिक बनाउन चाहिने कच्चा पदार्थ, प्लाष्टिक दानाको थोक मूल्य नै अन्तर्राष्ट्रिय बजारमा प्रति किलो करीब ३ अमेरिकी डलर पर्छ । उत्पादन र वितरण खर्च थप १ डलर मात्र जोड्दा पनि ४ डलरसम्म पर्दछ र यो हामीले खाने चामल भन्दा ३–४ गुणा महँगो हुन्छ । कसले पो घाटाको व्यापार गर्दो होला र ?
कुनै ब्राण्ड वा कम्पनीविशेषलाई बदनाम गर्न वा नचाहिंदो हल्ला गरेर रमाइलो गर्ने उद्देश्यले सामाजिक सञ्जालमा यस्ता अफवाहका भिडियो पोस्ट गरेको बुझन गाह्रो छैन । तर, मानिसमा भ्रम यसरी छरिएको छ कि बीबीसीको अनलाइन संस्करणले समेत ५ जुलाई, २०१७ मा हल्लाको सत्यताबारे लेख नै प्रकाशित गर्नुप¥यो । बीबीसीका अनुसार, सन् २०१० मा चिनियाँ सामाजिक सञ्जालहरूमा प्लाष्टिकको चामललाई सक्कली चामलमा मिसाइन्छ भन्ने सनसनी फैलियो । जबकि, चीन विश्वको सबैभन्दा बढी चामल निर्यात गर्ने आठौं राष्ट्र हो । यसबाट चिनियाँ चामलको व्यापारमा असर पार्न सक्ने विश्लेषण पनि गरिएको छ ।
चीनबाट शुरू भएको यो हल्ला भियतनाम, क्यानडा, सेनेगल, गाम्बिआ, घाना, नाइजेरिया, भारतहुँदै अहिले नेपालसम्म आइपुगेको छ । सामाजिक सञ्जालहुँदै राष्ट्रिय समाचार बनेको ‘प्लाष्टिकको चामल’ र यसको मिसावटको हल्ला गलत भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत पुष्टि गरिसकेको छ । कसैलाई शंका लागिहालेमा यसको निवारण सहजै गर्न सकिन्छ । किनकि प्लाष्टिक पानीमा उत्रिन्छ अनि बाल्दा पग्लिन्छ । त्यसैले यस्ता अफवाहको पछाडि दौडनुहुन्न ।
(लेखक खाद्य विशेषज्ञ हुन् ।)