‘तापक्रम वृद्धिले विपत्तिको खतरा छ’
नेपालमा ०.०५६ डिग्री सेल्सियसका दरले वर्षेनि तापक्रम वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भन्छन्, “नेपालमा तापक्रम वृद्धिको दर उच्च छ ।”
नेपालमा प्रत्येक वर्ष ०.०५६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको दाबी गर्नुभएको छ, यसको आधार के हो ?
देशका विभिन्न ठाउँमा राखिएका मौसम मापन केन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा यो तथ्य सार्वजनिक गरिएको हो । यसअघि सन् २०१२ मा वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको पाइएको थियो ।
पाँच वर्षमै तापक्रम वृद्धि कसरी फरक देखियो ?
त्यतिबेला सबै ठाउँको तथ्याङ्क उपलब्ध थिएन । तर, यसपटक हामीले देशका ९० ठाउँमा रहेका मौसम मापन केन्द्रको ४० वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा नयाँ तथ्य भेटियो ।
त्यसो भए तापक्रम वृद्धिको दर घटेको हो ?
पहिले सबै ठाउँको तथ्याङ्क प्राप्त भएको थिएन । हामीलाई प्राप्त तथ्याङ्कलाई विश्लेषण गर्दा ०.०६ डिग्री सेल्सियस भनेका थियौं । अहिले र १० वर्षपछि पनि फरक हुनसक्छ । बरु विश्वव्यापी तुलनामा नेपालमा तापक्रम बढेको छ । सन् १८५० देखि २००० सम्म विश्वव्यापी रुपमा १.१६ डिग्री सेल्सियस तापक्रम बढेको थियो भने नेपालमा गत ५० वर्षमा २.४६ डिग्री सेल्सियस तापक्रम बढेको छ ।
तापक्रम वृद्धि हुनुको प्रमुख कारण के हो ?
तापक्रम वृद्धिको प्रमुख कारण हरितगृह ग्याँसको उत्सर्जन नै हो । ती भनेका कार्वनडाइअक्साइड, नाइट्रसअक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका ग्याँस हुन् । सन् २०१५ को तथ्याङ्क अनुसार हरितगृह ग्याँस उत्सर्जनमा नेपालको भूमिका ०.०२७ प्रतिशत मात्रै छ । तर, तापक्रम वृद्धिको जोखिम हामीलाई बढी छ ।
तापक्रम वृद्धिले के के असर पारिरहेको छ ?
यसको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको छ । हिमालको हिउँ पग्लिने क्रम बढेको छ, हिमतालको संख्यामा वृद्धि भएको छ, हिमनदी गहिरिने र साँघुरिने क्रम बढेको छ । यसले बालीनालीको उत्पादन तथा जीवनचक्रमै असर पुर्याएको छ । प्राकृतिक विपत्ति निम्तिने खतरा छ ।