अतियथार्थवादी डिजिटल चित्र
भौतिक विज्ञानमा औधी रुचि राख्ने असिम शाक्य सानैदेखि कोठामा रेडियो र टेलिभिजनका पुर्जा निकाल्ने, जोड्ने गरिरहन्थे। गुगल जस्तो सर्च इन्जिन आइनसकेको बेला यस्ता उपकरणले कसरी काम गर्छन् भन्ने जिज्ञासाको जवाफ उनी किताबमै खोज्थे र कोठामै अभ्यास गर्थे ।
अत्यन्त जिज्ञासु र कल्पनाशील शाक्यलाई उमेर बढ्दै जाँदा विज्ञान पनि साँघुरो लाग्न थाल्यो। “मेरा भावनाहरू अभिव्यक्त गर्न अझै सिर्जनशील विधाको आवश्यकता महसूस भयो”, उनी भन्छन् । एसएलसीपछि शाक्यले सिर्जना आर्ट कलेजमा परम्परागत चित्रकला सिके, तेल र एक्रेलिक चित्रमा सीप तिखारे, माटोका मूर्ति बनाउन सिके ।
कुचीसँग खेल्न थाले पनि शाक्यको जिज्ञासा अझै शान्त भएन। कलेजको कक्षापछि उनी भित्रभित्रै डिजिटल आर्टमा रमाउन थाले। परिवार र कलेजले डिजिटल आर्टलाई मन नपराउलान् कि भन्ने संशय थियो उनमा। पछि कम्प्युटर शिक्षकका रुपमा काम गर्दा भने उनलाई डिजिटल आर्टमा नयाँ प्रयोग गर्न सजिलो भयो ।
“आफ्नो सिर्जना स्वतन्त्ररुपमा अभिव्यक्त गर्न सहज भएकाले पनि म डिजिटल आर्टतर्फ आकर्षित भएँ”, शाक्य भन्छन्। तर, ग्राफिक डिजाइनरका रुपमा काम गर्न चाहेका उनले धेरै ठाउँबाट निराश हुनुपर्यो। “धेरैजसोले त कलाभन्दा पनि मसँग भएका उपकरणका आधारमा निर्णय गर्थे।” हरेश खाएनन्, बरु सानातिना काम गरेर आफ्नो 'पोर्टफोलियो' बलियो बनाउनतिर लागे। ग्राफिक डिजाइनर, फोटोशप एक्सपर्ट हुँदै उनले विज्ञापन एजेन्सी थम्पसन नेपालमा कला निर्देशकका रुपमा पनि काम गरे। स्वाध्ययन र अनुभवबाटै डिजिटल आर्ट सिकेकाले पनि शाक्यको कलामा मौलिकता देखिन्छ। परम्परागत कला र कुचीको सीपका कारण डिजिटल स्क्रिन पनि उनका लागि क्यानभास झै बनेको छ ।
काठमाडौंमा जन्मे–हुर्केका शाक्य यही शहरको सम्पन्न इतिहास, संस्कृति, वास्तुकला र विकृत शहरीकरणबाट प्रेरणा लिन्छन्। र, कलामार्फत त्यसैलाई पोख्छन्। महाभूकम्प र भारतीय नाकाबन्दीका बेला उनका अतियथार्थवादी डिजिटल चित्रहरूले सामाजिक सञ्जालमा धेरैको ध्यान ताने ।
“चित्रकलामा म आफ्नो भावनासँगै काठमाडौंवासीका आशा र भय पनि मिसाउँछु”, आफ्नो कोठालाई नै स्टुडियोको रुप दिएका शाक्य भन्छन्। चित्रकलाको जुन कुनै विधामा काम गरे पनि परम्परागत चित्रकलाको सीप भने जरुरी रहेको बताउने उनी डिजिटल कलालाई 'हार्डकपी' क्यानभासमा उतारी प्रदर्शन गर्ने तयारीमा जुटेका छन् ।