गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम
‘चोट के हो, व्यथा के हो,
म जस्तो घाइतेलाई सोध
मिलन के हो, खुसी के हो,
मसँग कहिल्यै सोध्दै नसोध’
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोडर्न बोर्डिङ सेकेण्डरी स्कूलको सभाकक्षमा नेपाली सुगम संगीतका अजर अमर गायक एवं संगीतकार अरुण थापाको १८ औँ स्मृति दिवस मनाइरहँदा सुवास ढुंगेलको रचना रहेको सो गीत बालक अधिश्री कसपालले गाउँदा दर्शकदीर्घाका सबै स्तब्ध भए ।
थापालाई श्रद्धाञ्जलि अर्पण गर्न ५ साउनमा शुभारम्भः द म्युजिकल जर्नी र विनिता संगीत कला केन्द्रले संयुक्त रुपमा थापाको १८ औं स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जलि प्रस्तुत गरे । जीवनको ययार्थ बोकेका गीत गाएर लाखौँको मनको ढुकढुकी बन्न सफल थापाको गीत गुञ्जिरहँदा थापा हामी अगाडि नै उभिएर गीत गाए झैँ लागेको प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसी र स्कूलका संस्थापक बाबुकाजी कसपालले बताए ।
‘जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा, आँखा तरी गएपछि,
मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो ’
विनोद गौचनको रचना तथा थापाको स्वर–संगीत रहेको यो गीत नवगायक कपिल कसपालले गाउँदा पनि सबैको मन छोएको थियो । लाखौँ संगीतप्रेमीहरुको ढुकढुकीमा बसिरहने थापाको गीतले सहभागी सयौंको मनलाई छोएको कलेजका प्रधानाध्यापक अनिल कसपालले बताए ।
कार्यक्रममा थापाले गाएको केशव लोहनीको रचना रहेको ‘तिमी राम राम भजी बाँच’ बोलको गीत बद्रीनारायण ताम्राकार, संगीता तामाङ र रिता तमखुले गाएका थिए भने नवराज कार्कीको रचना रहेको ‘करोडौँ मुटुहरुको एउटै’ बोलको गीत समूहमा गाउँदा सभाकक्ष गुञ्जायमान भएको थियो ।
चलचित्र निर्देशक, साहित्यकार, गायकगायिका, लेखक, शिक्षासेवी, कलाकार, पत्रकार, अभिभावक, विद्यार्थीलगायत भरिएको कक्षमा थापाले गाएको गीत गुञ्जिँदा उनीप्रति सच्चा श्रद्धाञ्जलि भएको रचनाकार सुवास ढुंगेलले बताए ।
सो अवसरमा थापालाई समर्पित गर्दै उनले गाएका गीतमध्ये विक्रम गुरुङको रचना रहेको ‘आँखाको नीद बनी’, बोलको गीत सानुमैयाँ ताम्राकार, ‘के छ र दिऊँ तिमीलाई’ बोलको गीत दिवाकर खड्का र ऋतु कँडेल, राजेन्द्र रिजालको रचना रहेको ‘ऋतुहरुमा तिमी’ बोलको गीत सर्वश्री कसपाल, भूषण खरेलको रचना रहेको ‘म रोए पनि’ बोलको गीत सुरज कपालीले गाउँदा सहभागीहरु निकै आनन्दले गीत सुनिरहेका थिए ।
गीतकार चेतन कार्कीले थापा सबै संगीतप्रेमीको मन मनमा बसेको र उनका गीत वर्षौसम्म पनि जीवन्त रहने बताउँदै यस्ता गायक, गीतकार र संगीतकारलाई राज्यले पनि सम्झनुपर्नेमा जोड दिए । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्रले नगरपालिकाले नेपाली गीत, संगीतको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । चलचित्र निर्देशक प्रकाश सायमीले थापाको जादूमय स्वरलाई पछिल्ला पुस्ताले पनि आत्मासात् गर्नेमा शंका नभएको बताए ।
११ माघ, २००९ मा भारतको कोलकातामा जन्मिएका थापाको ५ साउन, २०५६ मा काठमाडौँमा निधन भएको थियो । थापाका ‘अरुण’ र ‘द बेस्ट अफ अरुण’ गीति एल्बम नेपाली स्रोता माझ निकै चर्चित भएको थियो ।
उनले गाएका गीत ‘भुलूँ भुलूँ लाग्यो मलाई’, ‘साँझको जूनसँगै’ ‘जिन्दगी के छ र आखिर’, ‘अरुसँग नजोख मलाई’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘बितेका मेरा तीता मीठा’, ‘तिमी हेर्छौ भने’, ‘नपोखिने नजोखिने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीकाका यात्राहरु’, ‘लाग्न थाल्यो जीवनमा’ जस्ता गीत चर्चित छन् । रासस