'रोयल्टी सुनिश्चित गराएरै छाड्छु'
हालै संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा चुनिएका संगीतकार सुरेश अधिकारी भन्छन्, “स्रष्टा, कलाकारको रोयल्टी नतिर्नेलाई कार्बाही गराएरै छाड्छौं।”
संगीत रोयल्टी संकलन समाजको अध्यक्ष बन्नुभएको छ, योजना के के छन्?
हामीले पहिले नै रोयल्टी संकलनमा सरकारको प्रत्यक्ष हस्तक्षेपकारी भूमिकाको आह्वान गरेका थियौं, अहिले हाम्रो समस्यालाई सरकारले सुनेको छ। सरकारका विभिन्न निकायमा रोयल्टीसम्बन्धी कार्यदल बनेका छन्। तर, दुःखको कुरा कलाकार, स्रष्टाहरूले रोयल्टी पाउन सकेका छैनन्। मेरो पहिलो काम भनेको रोयल्टी पाउने वातावरण सुनिश्चित गर्नु हो।
रोयल्टीका लागि सरकारकै सहयोग किन चाहियो?
प्रतिलिपि अधिकार ऐन २०५९ ले रोयल्टी उठाउने अधिकार स्रष्टा, कलाकारलाई दिएको छ। तर, रोयल्टी नतिरेर प्रतिलिपि अधिकार हनन गर्नेलाई कार्बाही गर्न सक्ने अधिकार र निकाय भने सरकारसँग मात्र छ। त्यसैले सरकार गुहारेका हौं।
रोयल्टी नतिर्नेलाई कार्बाही गर्न सरकार कत्तिको गम्भीर देखिन्छ?
देशलाई कलाकार, स्रष्टा चाहिने हो भने उनीहरूमाथि शोषण गर्नेलाई कार्बाही गर्नैपर्दछ। सरकार यसप्रति गम्भीर हुनुपर्छ। हामी आशावादी छौ।
म्यूजिक कम्पनीहरूले पनि रोयल्टी नदिएको गुनासो आइरहेको छ नि!
म्युजिक कम्पनीहरूबाट रोयल्टी लिने तरीकाबारे पर्याप्त जानकारी नहुँदा पनि गुनासो बढेको हो। म यो समस्या समाधान गर्न लागिपर्नेछु।
प्रविधिको विकाससँगै यू–ट्यूबबाट पनि कलाकारले रोयल्टी पाएका कुरा सुनिएको छ। नेपालको अवस्था कस्तो छ?
अहिलेसम्म रोयल्टी पाइहालेका भने छैनौं। तर, गुगलसँग सम्झौता भने भइसकेको छ। केही प्राविधिक कुरा मिलाउन बाँकी छ। त्यसपछि रोयल्टी पाउनेमा आशावादी छौं।