फिल्म ‘बबी’ मा वास्तविक कथा र पात्रहरु
अन्तरजाातीय विवाह गरेको एक जोडीको प्रेम, संघर्ष र सफलताका कथा भन्ने फिल्म हो, 'बबी' । यस्तै नाम गरेको भारतीय फिल्म पनि छ, शक्तिकपुर र डिम्पल कपाडिया अभिनित सन् १९७३ मा बनेको ।
युवराज श्रेष्ठ, पोखरा
काठमाडौँ ललितपुको गरिब परिवारमा जन्मिएका हुन्, उमेश थापा । पहिलो श्रेणीमा एसएलसी पास गरेका उमेशले २०५४ सालमा पोखराको लामाचौरस्थित इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा पढ्न छात्रवृत्ति पाए ।
पोखरा बसाइका क्रममा उनको भेट लेखनाथ अर्घौँचोककी धनी परिवारकी छोरी कविता गुरुङसँग भयो । भर्खर एसएलसी सकेर बसेकी कविता र इन्जिनियरिङ पढ्दै गरेका उमेशबीच प्रेम पलायो ।
उमेशले अन्तिम परीक्षा दिनुअघि उनीहरुको विवाह भयो । पोखराबाट भागेर काठमाडौँ हानिएको यो जोडीलाई केटाका परिवारले स्वीकार गरे पनि केटीपक्षले अस्वीकार गरे ।
इञ्जिनियरिङ सक्काएर थप अध्ययन्का लागि नर्वे गएका उमेश उतै जागिर गर्न थाले । उमेश अहिले जर्मन कम्पनी सिमेन्सका प्रवन्धक छन् । यही जोडीको कथालाई निर्माता तथा निर्देशक मिलन चाम्सले पर्दामा उतार्दैछन् ।
चलचित्रका अभिनेता र अभिनेत्री पनि उनै कविता र उमेश हुन् । चलचित्र ‘बबी’ को नर्बेको छायाङ्कन सक्काएर फिल्म युनिट अहिले पोखरामा छ । नर्वे, काठमाडौँ र पोखरामा सुटिङ हुने यो चलचित्रको छायाँकन ४५ दिनमा पूरा हुने निर्माता तथा निर्देशक चाम्सले जानकारी दिए ।
चलचित्र ह्याप्पी डेज्को छायाङ्कन गर्न गत वर्ष बेलायत जाँदै गर्दा चाम्सले कवितालाई भेटेका थिए । त्यतिबेला कविताको प्रेम कथा सुनेका चाम्सलाई यही विषयमा फिल्म बनाउने सोच आयो ।
कविता र उमेशलाई काठमाडौंमा बोलाएर अभिनय सिकाएको निर्देशक चाम्स बताउँछन् । “यहाँ केही नाटक छ्रैन, सबै यथार्थ छ,” चाम्स भन्छन्, “नयाँ जोडी भए पनि खारिएका कलाकार जस्तै अभिनय गरेका छन् ।”
चलचित्रमा कविता र उमेश सहित विजय लामा, रुबी राना, शूरवीर पण्डित, श्याम राई लगायतको अभिनय देख्न सकिनेछ ।
रु २ करोड लागतमा बन्ने बबीमा तीन वटा गीत समावेश गरिएको छ जसको संगीत ताराप्रकाश लिम्बु र बसन्त सापकोटाको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
यो चलचित्र आगामी चैतमा प्रदर्शनमा आउने चाम्सले बताएका छन् । १९७३ मा आएको राजकपुर निर्देशित हिन्दी फिल्म 'बबी' त्यसबेलाको ब्लकबस्टर र वर्षभरमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म बनेको थियो । चाम्सको 'बबी' कस्तो बन्ला भन्ने चाहीँ चैतमै थाहा होला ।
युवराज श्रेष्ठ, पोखरा