'नारायणघाट–मुग्लिन खण्डमा अझै आधा काम बाँकी'
पहिरोका कारण मानवीय क्षति हुनेक्रम बढेपछि २५ असारदेखि रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णयबारे नारायणघाट–मुग्लिन सडक आयोजनाका निमित्त आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनाल भन्छन्, “निर्माण सम्पन्न नहुन्जेलसम्म जति बेला पनि पहिरोको खतरा छ ।”
नारायणगढ–मुग्लिन सडकको निर्माण कार्य कहिले सकिन्छ ?
आगामी डिसेम्बरसम्म सक्ने लक्ष्य थियो । तर, नसकिने भयो । अब ५० प्रतिशत काम सक्न बाँकी छ । एक वर्षभित्रमा सकिन्छ ।
तोकिएको समयमा नसकिनुको कारण के हो ?
प्रमुख कारण नाकाबन्दी र भूकम्प हो । त्यसबाहेक गत वर्षको बर्खामा सडक आयोजना निर्माणस्थल क्षेत्रमा अत्यधिक वर्षा भएकाले पनि काम गर्न सकिएन ।
भनेपछि एक वर्षसम्म जनताले दुःख पाइरहनुपर्ने हो ?
नारायणघाट–मुग्लिन पहिले पनि भू–बनोटका हिसाबले बढी पहिरो जाने क्षेत्र हो । भूकम्पका कारण खल्बलिएको पहाडलाई सडक विस्तारका क्रममा ‘कटिङ्ग’ गर्दा पहिरो गएर झनै सास्ती भएको छ । अर्को बर्खामा अहिले जस्तो दुःख पाउनुपर्दैन ।
सडक हिंड्नै नसकिने अवस्थामा पुगेको हो र ?
मुग्लिनदेखि जलविरेसम्म बढी जोखिम छ । गाडी चलाउनै नहुने त होइन । तर, बर्खाको समयमा पहिरो आएको पनि नदेखिने र त्यसबाट बढी मानवीय क्षति हुने भएकाले राति गाडी नचलाउने निष्कर्षमा पुगेका हौं ।
कहिलेसम्म राति सवारी नचलाउने त ?
निर्माणकार्य नसकिंदासम्म नारायणघाट–मुग्लिन सडक प्रयोग नगरेकै राम्रो । तर, अहिलेको लागि करीब दुई महीना नचलाउँदा राम्रो हुन्छ । किनकि बर्खा नरोकिएसम्म पहिरोको जोखिम रहिरहन्छ ।