मोरङको मत बहिष्कारको विपक्षमा
मधेशीबहुल मोरङको दक्षिणी भेगमा भएको शान्तिपूर्ण मतदानले निर्वाचन बहिष्कारको राजपा रणनीति पराजित भएको छ।
कमल रिमाल, विराटनगर
कटहरी, मोरङ । जिल्लाको दक्षिणी भेगको यो त्यही ठाउँ हो, जहाँ २०६४ को मधेश आन्दोलनमा तीन जनाको ज्यान गएको थियो । त्यसयताका हरेक मधेश आन्दोलनमा मधेशीबहुल यो क्षेत्र ठप्प हुने गरेको छ ।
तर, यही क्षेत्रमा १४ असारमा भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण मात्र होइन, उल्लासमय बन्यो । आफूलाई मधेशकेन्द्रित ठूलो शक्ति दाबी गर्ने राजपाको निर्वाचन बहिष्कारको प्रभाव शून्य देखियो ।
राजपाका जिल्ला सदस्य तथा युवा फ्रन्टका सचिव फिरोज शेखले चुनाव प्रचार गर्नुका साथै मतदान नै गरे । “बहिष्कार आफ्नो ठाउँमा छ तर छिमेकीलाई भोट नदिने कुरा पनि त भएन” मतदानपछिको नङको कालो मसी देखाउँदै उनले भने, “अर्को पार्टीकै भए पनि मुस्लिम उम्मेदवारलाई जिताउन हिंडें ।”
राजपाका सबै कार्यकर्ताले भित्री रूपमा कुनै न कुनै पार्टीका उम्मेदवारलाई सहयोग गरेको बताउने उनी मुस्लिम समुदायले मधेश प्रदेशको माग गर्नेहरूलाई भने निर्वाचनमा सहयोग नगरेको तर्क गर्छन् ।
“घरभित्रै बसेर चुनाव बहिष्कार गरियो”, राजपा मोरङ अध्यक्ष मण्डलका अध्यक्ष राधे कामतले भने । त्यसो त २ असारमा जिल्ला निर्वाचन कार्यालय मोरङमा तालाबन्दी गर्न गएका राजपाका १४ नेता पक्राउ परेका थिए ।
सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएका उनीहरूलाई आवश्यक परे पुनः बोलाइने शर्तमा ६ असारमा छाडिएको थियो । त्यही भएर पनि राजपाका जिल्ला नेताहरू बहिष्कारमा उत्रन आँट नगरेको बताइन्छ ।
पैसा, मासु र मदिरा
१४ असार बिहानै मतदान केन्द्रमा पुगेका मोरङ, कटहरी गाउँपालिका २, ३ र ४ का मतदाता खाजा खानमै व्यस्त थिए । उम्मेदवार र तिनका प्रतिनिधि मतदातालाई तानी–तानी खाना खुवाउन तल्लीन देखिन्थे ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम सबैले मतदाताका लागि बेग्लाबेग्लै ठाउँमा खाजाको व्यवस्था गरेका थिए । एक ठाउँमा खाजा खाएर निस्किएकालाई अर्काले तानेर लैजान्थे । मत खसालेपछि पनि खाजाको लागि आग्रह हुन्थ्यो ।
“पाँचै पार्टीको खाजा खाएँ, टन्न भएकाले खाना खान घर पनि गइनँ” कटहरी, आदर्श टोलका सञ्जय श्रेष्ठ भन्छन्, “नूनको गुन तिर्न सबैका उम्मेदवारलाई भोट हालें ।”
कटहरीका रोशन गुप्ताका अनुसार, गाउँमा खुवाएरै भोट माग्ने गलत संस्कार बसेको छ । भोटका लागि मासु, रक्सी खुवाउनेहरू प्रशस्त देखेका उनी यतिविघ्न खर्चले साधारण मान्छे उम्मेदवार नै बन्न नसक्ने अवस्था देखिएको बताउँछन् ।
विराटनगर र कटहरी सीमामा पर्ने सिंघिया खोलाको पुलछेउको मासु पसलमा दैनिक दुई वटा खसी बिक्री हुन्थ्यो । तर, निर्वाचनको अघिल्लो दिनभर १४ वटा खसी काटियो । नजिकैको नेपाल टेन्ट हाउसमा भाँडा र कराही लिन आउनेको भीड थियो ।
“मैले मात्र ६० किलो मासु किनेर खुवाएँ, रु.१ लाख ७५ हजार सकियो”, नाम नछाप्ने शर्तमा वडा अध्यक्षका एक उम्मेदवार हिमाल सँग भन्छन्, “तीन सातामै रु.१० लाखभन्दा बढी खर्च भयो ।” उनी ‘नखुवाए हारिने’ डर सबै उम्मेदवारमा उत्तिकै भएको दाबी गर्छन् । स्थानीय युवा निजाम खान पनि ‘फलानोले यति खर्च ग¥यो भन्ने सुनेर त्यसको दोब्बर खर्च गर्ने चलन देखिएको’ बताउँछन् ।
खुवाएर मतदाता आकर्षित गर्न खोज्नु पनि निर्वाचन आचारसंहिता विपरीत हो । अर्का स्थानीय रविराज ठाकुर खानपान गराएर, नगद बाँडेर उम्मेदवारले केही भोट प्रभावित पार्न सफल भएको दाबी गर्छन् ।
निर्वाचन बहिष्कार गरेको राजपा जिल्ला अध्यक्ष मण्डलका अध्यक्ष राधे मण्डल उम्मेदवारहरूले रक्सी र मासुमा भोट किनेको आरोप लगाउँछन् ।
“कतिपय मतदाता रातभरि रक्सी खाएका कारण बिहान भोट हाल्न जाने अवस्थामै थिएनन्”, उनी भन्छन् । आचारसंहिता विपरीत नै १३ असार राति १२ बजेपछि मतदाताका घर–घर हिंडेका कटहरी कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार रामकुमार कामत र मञ्जिता सरदार आक्रमणमा परे । पैसा बाँड्न गएको भन्दै भौंडाहामा उनीहरूमाथि हातपात भयो ।
तर, उम्मेदवारको पैसा, मासु र मदिरामा मुस्लिम समुदाय प्रभावित नभएको नेपाल तरुण दल कटहरीका उपाध्यक्ष इस्राफिल शेख ठोकुवा गर्छन् ।
“रक्सी, मासु र पैसामा धेरै बिके तर कटहरीका तीन हजार मुस्लिम मतदाताले आ–आफ्ना पार्टीका उम्मेदवारलाई नै भोट हाले”, उनी भन्छन् ।
त्यसो त पहिले रमजानको समयमा तोकिएको निर्वाचनको मिति सारिएकाले पनि मुस्लिम समुदाय निर्वाचनमा खुशी देखिए । “हाम्रो पर्वको सम्मान गरेर निर्वाचनको मिति सारिएकाले पनि चुनावमा इमानदारी देखाइयो”, मोरङ मुस्लिम समाजका युवा संयोजक निजाम खान भन्छन् ।
प्रदेश १ बाट पहाडका जिल्ला अलग हुनुपर्छ भन्ने दलको मागमा मुस्लिम समुदायले समर्थन नगरेको उनको धारणा छ