प्रदेश-७ को चुनावी उत्सव
प्रदेश–७ का मतदाताले स्थानीय तह निर्वाचनलाई सम्झनलायक उत्सवका रुपमा सम्पन्न गरेका छन्।
सरकारले ३१ वैशाखको लागि निर्धारित स्थानीय तह निर्वाचन पटक–पटक सार्दा निराश बनेका प्रदेश–७ का मतदाता आफ्नै क्षेत्रका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा पनि चुनाव हुन्छ भन्नेमा ढुक्क थिएनन् । डडेलधुरामा देउवाकै गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका बासिन्दासमेत चुनाव हुनेमा शंका नै गरिरहेका थिए ।
१४ असारमा निर्वाचन भएपछि भने उनीहरूले चाडपर्वमा झैं उत्साहपूर्ण सहभागिता जनाएका छन् । “शेरबहादुरको अपजसे भाग्य छ” असिग्राम मावि मतदान केन्द्रमा पहिलो मत खसालेका ७६ वर्षीय वीरबहादुर देउवाले भने, “यसपटक पनि उसका टाउकोमा दोष थुप्रिन्छ भन्ने लागेको थियो ।”
नातामा प्रधानमन्त्री देउवाका काका पर्ने वीरबहादुर देउवाले २०१५ सालपछिका सबै निर्वाचनमा मतदान गरे पनि यसपटक विशेष भएको बताए ।
दुई दिनअघि सफा गर्न लगाएको लुगा लगाएर १४ असारको बिहान ६ः३० बजे मतदान केन्द्र पुगेका उनले बिहान ढिला होला भनेर दाह्री चाहिं अघिल्लो साँझै खौरिएको बताए । असिग्राम मतदान केन्द्रमा बिहानैबाट जम्मा भएका मतदाता सबै चिटिक्क परेर आएका थिए । पुरुषभन्दा महिला सहभागिता बढी थियो ।
“पाँच महीनाअघि श्रीमान् बित्नुभएपछि घरआँगनबाट बाहिर निस्केकी थिइनँ” भोट खसाल्ने लाइनमा बसेकी जमुनादेवी भट्टले भनिन्, “मतदान पनि ठूलै दान हो भनेर आएकी हुँ ।”
डडेलधुरावासीले वर्षात्, खेतीपातीको चटारो र केही मधेशकेन्द्रित दलहरूको चर्को विरोधका कारण मात्र नभई ‘शेरबहादुरले पहिला चुनाव गर्न नसकेकोले’ पनि यो निर्वाचन हुनेमा शंका गरेका थिए ।
तर, चुनाव भइछाडेको खुशी मतदान गरेर मनाएको साविक असिग्राम गाविसका पूर्व अध्यक्ष चेतराज भट्टले बताए । प्रधानमन्त्री देउवाले पनि असिग्राम मावि केन्द्रमै बिहान ७ः४० मा मतदान गरे ।
प्रदेश–७ मा एकसाता बिताउँदा सञ्चारमाध्यमबाट टाढा रहन खोजेका उनले मतदान गरेपछि असाध्यै खुशी लागेको प्रतिक्रिया दिए । उनले भने, “हर्षोल्लासका साथ मतदान गरेका सबैलाई धन्यवाद दिन चाहन्छु ।”
निर्वाचन आयोगका अनुसार, डडेल्धुराका ११० मतदान केन्द्रमा ७१.२३ प्रतिशत मतदान भएको थियो ।
प्रदेशभरि उमङ्ग
तीन–तीन पटक निर्वाचन सर्दा दलका नेता–कार्यकर्ता र उम्मेदवारदेखि मतदातासम्म निराश थिए । डडेलधुरामा त आशंका र निराशाको अर्को कारण पनि थियो– नेपाली कांग्रेसभित्रको विवादका कारण कमजोर चुनावी परिणाम आउने आकलनबाट ‘शेरबहादुरले फेरि चुनाव सार्न सक्छन्’ भन्ने अड्कलबाजी ।
प्रधानमन्त्री देउवा एकसाता यतै बसेर चुनावी अभियानमा खटिएपछि भने धेरैलाई १४ असारमा चुनाव हुन्छ भन्ने लाग्न थाल्यो । नभन्दै, चुनाव भयो र डडेल्धुरा, डोटी, अछाम, बैतडी, दार्चुलालगायतका पहाडी जिल्लाका मतदाता घण्टौं हिंडेर पनि मतदान केन्द्र पुगे । बझाङ र बाजुरामा अघिल्ला दिन भएको दलहरूको झ्डपले १४ गतेको मतदानलाई केही फरक पारेन ।
सबभन्दा दुर्गम जिल्ला बाजुरामा ८० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेबाट डोटीको दिपायल–सिलगढी नगरपालिकाको मेयर उम्मेदवार मञ्जु मलासीका अनुसार, यसपटक महिला उम्मेदवार धेरै भएकाले मतदान केन्द्रहरूमा महिला मतदाता बढी देखिए ।
अध्यक्ष/उपाध्यक्ष तथा मेयर/उपमेयरमध्ये कम्तीमा एक जना र दुई वडा सदस्यमा एक जना महिला उम्मेदवार हुनैपर्ने संवैधानिक व्यवस्थाले महिला उम्मेदवारको संख्या बढाएको हो ।
तराईका कैलाली र कञ्चनपुरमा रोपाइँको समय भए पनि मतदाताहरू बिहानै लाइनमा उभिन पुगेका थिए । कैलालीको धनगढीस्थित पञ्चोदय मावि मतदान केन्द्रबाट मतदान गरेका रामसमझ चौधरीले भने, “रोपाइँ त अर्को दिन पनि गर्न सकिन्छ, तर भोट खसाउन असार १४ गते मात्र पाइने हुनाले सबै हूल बाँधेर गयौं ।”
अखण्ड सुदूरपश्चिम र थरूहट आन्दोलनले विभाजित कैलाली–कञ्चनपुरका मतदातालाई यो निर्वाचनले नजिक बनाएको छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले थारू समुदायबाट थुप्रैलाई उम्मेदवार बनाएकाले यस्तो निकटता आएको हो ।
४० प्रतिशत थारू मतदाता रहेको कैलाली र कञ्चनपुरमा तीन दलले मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षमा २८ जना थारूलाई उम्मेदवार बनाए । माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जंगराज चौधरीलाई मेयर र एमालेले निर्मल रानालाई लालझडी गाउँपालिका अध्यक्षको उम्मेदवार बनायो ।
कांग्रेसले कैलालीको घोडाघोडी नगरपालिकामा रीता चौधरीलाई मेयर, कैलारी गाउँपालिकामा रामसमझ् चौधरी र जोशीपुर गाउँपालिकामा रामकृष्ण चौधरीलाई अध्यक्षको उम्मेदवार बनायो भने माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा रामसमझ् राना, भजनी नगरपालिकामा शेरबहादुर चौधरी, घोडाघोडी नगरपालिकामा लक्ष्मण चौधरी, कैलारी गाउँपालिकामा लाजुराम चौधरी र जोशीपुर गाउँपालिकामा भक्ता थारूलाई प्रमुखको उम्मेदवार बनायो ।
चार वडा सदस्यमध्ये एक जना दलित महिला हुनैपर्ने निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्थाले अन्य प्रदेशका दलितहरूमा ल्याएको उत्साह प्रदेश–७ मा नदेखिने कुरै भएन ।
बैतडीको पाटन नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार नरेश विकले दलितहरूले मान्छेमा गणना हुन नै संघर्ष गर्नु परिरहेको बेला संवैधानिक व्यवस्थाले उम्मेदवार बनाएको चुनावले सबैलाई खुशी पारेको बताए ।
प्रदेश–७ को स्थानीय तहमा दलित समुदायबाट मेयर र अध्यक्ष जस्ता प्रमुख पदमा पनि १३ जनाले उम्मेदवारी दिए भने उपमेयर तथा उपाध्यक्षमा २१ जना उम्मेदवार बने ।
कांग्रेसले धनगढी उपमहानगरपालिकामा नृव वड र कञ्चनपुरको महाकाली नगरपालिकामा वीरबहादुर सुनारलाई मेयर तथा लालझडी गाउँपालिकामा धर्मसिंह विकलाई अध्यक्षको उम्मेदवार बनायो भने एमालेबाट अछामको मेललेख गाउँपालिकामा डम्मर नेपाली अध्यक्ष र बैतडीको पाटन नगरपालिकामा नरेश विक मेयरको उम्मेदवार बने ।
माओवादी केन्द्रले पनि बाजुराको बडीमालिका नगरपालिकामा मनबहादुर विक, स्वामीकार्तिक गाउँपालिकामा रिउले विक, डोटीको दिपायल सिलगढी नगरपालिकामा प्रेम नेपाली, बडीकेदार गाउँपालिकामा जंग विक, डडेल्धुराको आलिताल गाउँपालिकामा जगत पार्की, नवदुर्गा गाउँपालिकामा धर्म विक, कञ्चनपुरको भीमदत्त नगरपालिकामा गोपाल रसाइली र बेल्डाडी गाउँपालिकामा भुवन एसकेलाई मेयर र अध्यक्षको उम्मेदवार बनायो ।
सात दिनले फेरबदल
पहिलो चरणको निर्वाचनको परिणामबाट उत्साही एमाले दोस्रो चरणमा प्रदेश–७ मा पनि पहिलो दल हुनेमा विश्वस्त थियो भने माओवादी केन्द्रलाई पनि १५ देखि २० तहमा सफलता पाउनेमा आशावादी बनाएको थियो ।
८ असारमा राजधानी छाडेका प्रधानमन्त्री देउवा मतदान गर्न १४ गतेसम्म प्रदेश–७ मै बसे । उनले डडेल्धुरा, कैलाली, कञ्चनपुर र डोटीका चुनावी सभालाई सम्बोधन र कांग्रेस नेता–कार्यकर्तासँगको भेटघाटमा साता बिताए ।
१० असारमा डडेल्धुरा सदरमुकाम बागबजारमा आयोजित चुनावी सभामा एमाले र माओवादीबारे एकशब्द पनि नबोली उनले कांग्रेस नेता–कार्यकर्तालाई सम्झए, “धेरै ठाउँ छन्, सबैलाई मिलाउँछु, केही न केही ठाउँ दिन्छु, चुनावमा लाग्नुस् ।”
उनले चुनावी सभा वा भेटघाटमा आउन नसक्ने अलि टाढाका जिल्ला नेताहरूलाई फोन गरेर आश्वस्त पारे, मिलाए । परिणाम, छिटफुट बाहेक सबैजसो ठाउँको विवाद मिलेको डडेल्धुरा कांग्रेसका रघुवीर भट्ट बताउँछन् ।
उनका अनुसार, दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा अजयमेरु गाउँपालिका बाहेक सबै ठाउँको विवाद सुल्झ्यिो । अजयमेरुमा भने कांग्रेस कार्यकर्ता लोकराज भट्ट अध्यक्षको स्वतन्त्र उम्मेदवार बने ।
पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको सातदिने बसाइले प्रदेश–७ को स्थानीय तह निर्वाचनमा कांग्रेसलाई मजबूत पारेको स्थानीय नेताहरू बताउँछन् ।
प्रदेश–७ का १ उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकामा ३ हजार ८४६ पदका लागि भएको निर्वाचनको नतिजा धमाधम आइरहेको छ । निर्वाचनमा १४ हजारभन्दा बढी उम्मेदवारलाई कुल १३ लाख ३ हजार ७१४ मतदातामध्ये ७० प्रतिशतले मतदान गरेका छन् ।