रुपन्देही मर्चवारका बासिन्दा भन्छन्– 'भारतीय बाटो हिड्नु नपरोस्'
मुकेश पोखरेल, मर्चवार
सडक नहुँदा र गाडी नचल्दा जिल्ला सदरमुकाम आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
तोखै बरई, रूपन्देहीको सिलौटिया–७ का बासिन्दा । एक वर्ष पहिले जग्गाको नक्शा लिन उनी भैरहवास्थित जिल्ला नापी कार्यालय पुगे । नापी कार्यालयको काम सकिंदासम्म भैरहवाबाट सिलौटिया जाने बस छुटिसकेको थियो । घर पुग्न उनले सुनौलीबाट नौतनवा (भारत) हुँदै सिलौटिया पुग्ने बाटो रोज्नुको विकल्प थिएन । भैरहवादेखि बसमा सुनौली र त्यहाँबाट टेम्पो चढेर नौतनवा पुगेका उनलाई घर पुग्न त्यहाँबाट दुई किलोमिटर पैदल हिंड्नुपथ्र्यो । नौतनवा पुग्दा साँझ परिसकेको थियो । नेपाल–भारत सीमामा बसेका भारतीय सुरक्षाकर्मीले ‘यतिबेला किन हिंडेको ?’ भन्दै उनलाई लौराले पिठ्यूँमा हिर्काए । बरई भन्छन्, “हिर्काएको ठाउँमा एक महीनासम्म दुखिरह्यो ।”
रूपन्देहीको सीमावर्ती क्षेत्रमा यस्तो समस्या भोग्ने बरई एक्ला होइनन् । सदरमुकाम पुग्ने भरपर्दो यातायात सुविधा नहुँदा सीमावर्ती गाविसहरू सिलौटिया, बगौली, बोगडी, करौता, सेमरा र रायपुरका बासिन्दा भारतहुँदै सदरमुकाम भैरहवा आवतजावत गर्छन् । स्थानीय धर्मेन्द्र यादव भन्छन्, “भारतीय बाटो हिंड्दा उताका सुरक्षाकर्मीले अनेक दुःख दिन्छन् ।”
सदरमुकामबाट फर्केका बोगडीका घनश्याम चौधरीलाई दुई वर्षअघि भारतीय सुरक्षाकर्मीले रात परेको भन्दै रोकेपछि उनी नौतनवामै बास बसेर भोलिपल्ट मात्र घर आउन पाए । मोटरसाइकल लिएर हिंड्नेले त भारतीय सुरक्षाकर्मीबाट झ्न् ठूलो सास्ती खेप्नुपर्छ । “बिलबुक नै फ्याँकिदिन्छन्, पछाडि कसैलाई बसाउन पनि दिंदैनन्” कोटइमाई गाउँपालिका, खजनी चौराहाका विनोद यादव भन्छन्, “हामी ठूलो अत्याचार सहेर बसेका छौं ।” नेपाल–भारत सीमादेखि १० किलोमिटर परसम्म नेपाली नम्बरप्लेटका सवारी साधन रोक्न नपाइने दुईदेशीय समझ्दारीको यहाँ कुनै अर्थ छैन । त्यही भएर पनि धेरैले हिजोआज भारतीय नम्बरप्लेटकै मोटरसाइकल चलाउँछन् ।
चुनावी मुद्दा– सडक
मर्चवार भनिने रूपन्देहीको यो क्षेत्रमा १७ वटा गाविस पर्छन् । १७ गाविसको कुल जनसंख्या एक लाखभन्दा बढी छ । तिनलाई समेटेर अहिले तीनवटा गाउँपालिका बनाइएको छ । तर, एक लाख जनसंख्या बसोबास गर्ने मर्चवार क्षेत्रको सडकको दुरवस्था भनिसाध्य छैन । भैरहवा–लुम्बिनी सडकको हाटिवनगाई चोकदेखि शुरू हुने मर्चवार जाने सडकको थुमुवा पिप्रहवासम्मको करीब ३५ किमि खण्ड कालोपत्रे छ । तर, हाटिवनगाईदेखि मझ्गवासम्मको १२ किमि खण्डमा ठूल्ठूला खाल्डा छन्, जहाँ सजिलै गाडी चलाउन सकिंदैन । बोगडी खजहनाका उमेश सहनी भन्छन्, “सडक नै यस्तो भएपछि कसरी गाडी चल्नू ?”
सिद्धार्थ यातायात र पश्चिम बस व्यवसायी समितिले भैरहवादेखि मझ्गवासम्म बिहान र बेलुका गरी एक–एकवटा बस चलाउँछन् । एक एकवटा बसले एक लाख जनसंख्याको चाप थेग्न सक्ने कुरै भएन । बोगडीका घनश्याम चौधरी सडक नहुँदा र गाडी नचल्दा जिल्ला सदरमुकाम आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
हुन त भारतीय बाटो हुँदै भैरहवा पुग्ने दूरी छोटो पर्छ । जस्तो, बोगडीबाट नेपाली भूभाग हुँदै भैरहवा पुग्न १६ किलोमिटर बाटो छिचोल्नुपर्छ भने नौतनवा हुँदै १० किमी मात्र । तर, भारतीय सुरक्षाकर्मीबाट पाइने सास्तीले जतिखेर पनि त्रस्त रहनुपर्ने बाध्यता योभन्दा कैयौं गुणा बढी पीडादायी छ । त्यसमाथि धेरै ठाउँमा गाडी फेरबदल गर्नुपर्छ । त्यहीकारण भारतीय बाटो प्रयोग गर्न कोही चाहँदैनन् । मर्चवार क्षेत्रबाट निर्वाचित सांसद् सर्वेन्द्रनाथ शुक्ललाई भेटेर दुई महीनाअघि स्थानीय बासिन्दाले भैरहवा पुग्ने सजिलो सडक बनाइदिन माग गरेका थिए । तर, शुक्लले उनीहरूलाई आशा देखाउने काम गरेनन् ।
१४ असारमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको माहोल तातिरहँदा मर्चवार क्षेत्रमा सडककै मुद्दा प्रमुख बनेको छ । सबैजसो दलका उम्मेदवारले आफूले जितेमा मर्चवार क्षेत्रको सडक समस्या समाधान गर्ने र भारतीय बाटो हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने आश्वासन दिंदै भोट मागिरहेका छन् । सिलौटियाका शिवचरण जयसवाल भन्छन्, “अब भैरहवा पुग्ने सडक बनाउँछौं, भारतीय बाटो हिंड्नु पर्दैन भनेका छन् । चुनावपछि हेरौंला ।”
साविकको रूपन्देही क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने मर्चवार क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा पनि मधेशकेन्द्रित दलको एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) का स्वतन्त्र उम्मेदवार र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । मर्चवारको चुनावी राजनीतिमा ‘शुक्ल भर्सेस अन्य समुदाय’ हुने भए पनि २०६४ को संविधानसभा निर्वाचनमा शुक्ल मधेशी जनअधिकार फोरम नेपालका ओमप्रकाश यादवसँग पराजित भएका थिए ।
मर्चवारी। गाउँपालिकामा कांग्रेसका ज्ञानप्रकाश मिश्र र स्वतन्त्र उम्मेदवारी दिएका राजपाका राजकुमार सिंहबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन छ । त्यसैगरी कोटहीमाई गाउँपालिकामा कांग्रेसका वीरेन्द्र जयसवाल र राजपाका स्वतन्त्र उम्मेदवार बालकृष्ण त्रिपाठीलाई प्रमुख दाबेदार मानिएको छ । समरीमाई गाउँपालिकामा भने कांग्रेसका विनोद श्रीवास्तव, राजपाका स्वतन्त्र उम्मेदवार अशोक शुक्ल र नेपाल लोकतान्त्रिक फोरमका बब्लु शुक्लबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ ।
बदर मत रोक्ने दलहरूको अभियान
लोकतन्त्रमा एक एक मतको ठूलो महत्व हुन्छ । प्रत्येक मतदाताको मताधिकार खेर नजाओस् भनेर मतदानको तौरतरिका सिकाउने कामलाई उच्च महत्व दिइन्छ । तर, स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको कतै देखिएन । बरु, यहाँका दलहरूले मत बदर हुन नदिन मतदान गर्ने तरिका सिकाउँदै घरदैलो कार्यक्रम चलाएका छन् । तिलोत्तमा नगरपालिकामा मतदातालाई मतदानको तरिका सिकाउँदै घरदैलो अभियान चलाएका नेकपा एमालेका जिल्ला नेता सुरेन्द्र वर्मा भन्छन्, “२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा हाम्रो पक्षमा परेका थुप्रै मत बदर भएपछि यसपालि मतदाता शिक्षालाई महत्व दिएका छौं ।”
२०७० को निर्वाचनमा एमालेका घनश्याम भुसाल कांग्रेसका बालकृष्ण खाँणसँग ८६ मतले पराजित भएका थिए । त्यसबेला एमालेको पक्षमा परेका करीब ६०० र कांग्रेसले पाएको करीब २०० मत बदर भएको थियो ।