प्रदेश नं ५ निर्वाचनः सिमाङ्कनको ‘जनमतसंग्रह’
दीपक ज्ञवाली, बुटवल
प्रदेश–५ मा व्यक्त जनमतले सीमांकनबारे स्थानीयको मनोविज्ञान छर्लङ्ग पार्नेछ ।
राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘संविधान संशोधन गरिने’ आश्वासन बारम्बार दिइरहेका छन् । संविधान संशोधनको अजेण्डाभित्र राजपाको प्रदेश सीमांकन संशोधनको मुद्दा पनि जोडिएको छ । प्रधानमन्त्रीको यस्तो आश्वासनले अन्य प्रदेशवासीलाई कस्तो असर पर्ला, तर प्रदेश–५ का बासिन्दा भने बरोबर झस्किरहन्छन् । र, यस्तो झस्काइको प्रभाव स्थानीय तहको निर्वाचनमा पर्ने संकेत देखिएको छ ।
१४ असारमा प्रदेश–५ का १२ जिल्ला (पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, बाँके, बर्दिया, दाङ, बर्दिया, रोल्पा, रूपन्देही र नवलपरासी) का १०९ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनमा २४ लाख ५४ हजार ४८८ मतदाताले मतदान गर्नेछन् । सबैभन्दा बढी स्थानीय तह रूपन्देही (१६) मा र सबैभन्दा कम रुकुम (३) मा छन् ।
प्रदेश विभाजन प्रस्तावविरुद्ध १७ मंसीर २०७३ देखि झण्डै एक महीना १२ वटै जिल्लामा आन्दोलन चलेको थियो । आन्दोलनको नेतृत्व नेकपा (एमाले) ले गरेको थियो । आन्दोलनमा जनसहभागिता बढ्दै जाँदा विभाजनको प्रस्तावक नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेता/कार्यकर्ताहरू पनि आन्दोलनमा उत्रिएका थिए । “प्रदेश–५ बाट तराई र पहाड टुक्र्याउने प्रस्तावविरुद्ध लडेका यहाँका मतदाता विभाजनको खतरा रोक्ने प्रतिनिधि छान्ने मूडमा देखिन्छन्”, स्थानीय विश्लेषक पदम कार्की भन्छन् । कार्कीको बुझाइमा प्रदेश–५ टुक्र्याउने प्रस्तावविरुद्ध विगतमा १२ वटै जिल्लाका जनतामा देखिएको एकताको मनोविज्ञानको प्रभाव यो निर्वाचनमा देखिनेछ ।
‘प्रदेश विभाजन विरुद्ध प्रतिरोध’ को चर्को नारासहित निर्वाचनमा होमिएको एमाले विभाजन विरुद्धको मनोविज्ञानलाई मतमा परिणत गराउने रणनीतिमा छ । “यो प्रदेशका मतदाता विभाजन पक्षधरलाई अस्वीकार गर्दैछन्”, एमाले उपमहासचिव तथा प्रदेश–५ का संयोजक विष्णु पौडेल भन्छन्, “मतदाताहरू तराई र पहाड टुक्रिनु हुन्न भन्ने कुरामा आकर्षित छन् ।” यो प्रदेशमा एमाले पहिलो पार्टी हुने उनको दाबी छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् चन्द्र भण्डारी भने २०५४ को तुलनामा अहिले आफ्नो पक्षमा परिणाम राम्रो आउने बताउँछन् । “त्यति बेला हामी (कांग्रेस) अल्छी थियौं । अहिले सजग छौं । वातावरण पनि अनुकूल छ”, उनी भन्छन् । पहिले कमजोर अर्घाखाँची, नवलपरासी, पाल्पा र कपिलवस्तुमा यसपटक राम्रो गर्ने उनको भनाइ छ ।
दाबी त माओवादी केन्द्रको पनि उस्तै छ । पोलिटब्यूरो सदस्य माधव शर्मा अरूले सोचेभन्दा माओवादीले धेरै जित्ने दाबी गर्छन् । माओवादीले कतिपय ठाउँमा कांग्रेससँग तालमेल गरेको छ ।
केन्द्रमा बुटवल
प्रदेश–५ को निर्वाचनमा सबैभन्दा चर्चामा छ, बुटवल उपमहानगरपालिका । बुटवलमा एमालेको विरासत भत्काउन नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीले मोर्चाबन्दी नै गरेका छन् ।
बुटवलमा एमालेबाट शिवराज सुवेदी मेयर र गोमा आचार्य उपमेयरका प्रत्यासी छन् । गठबन्धन प्यानलबाट मेयरमा उठेका नेपाली कांग्रेसका खेमराज पाण्डे पार्टीका नगर सभापति हुन् भने उपमेयरमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका जगतबहादुर पोखरेल नेपाल जेसिजका पूर्व अध्यक्ष हुन् ।
एमाले उपमहासचिव पौडेल मोर्चाबन्दीलाई ‘पराजयको मानसिकता’ ठान्छन् । भन्छन्, “सबै मिले पनि एमालेको किल्ला तोड्न सक्दैनन् ।”
नेपाली कांग्रेस रूपन्देहीका सभापति तथा सांसद् अब्दुल रज्जाक एमालेविरुद्धको मोर्चाबन्दी समयको माग भएको बताउ“छन् । “बुटवलमा एमाले बाहेकको उपस्थिति किन हुन नहुने ?” उनको तर्क छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शर्मा एमालेको दम्भ र अरूको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले कांग्रेससँग गठबन्धन गरेको बताउ“छन् । “एमालेसँग सहकार्यका लागि पटक पटक प्रयास गरे पनि उनीहरूको अहंले सम्भव भएन”, उनी भन्छन् ।
एक लाख ३८ हजार ७४२ जनसंख्या रहेको बुटवलमा ६६ हजार ६६३ मतदाता छन् । १९ वडामा विभाजित वडास्तरमा भने कांग्रेसले राष्ट्रिय जनमुक्ति पार्टीसित तालमेल गरेको छ । निर्वाचनको मुखमा माओवादी केन्द्रका सल्लाहकार पत्रकार/साहित्यकार रामचन्द्र भट्टराई, माओवादी केन्द्रीय सदस्य कृष्ण पोखरेललगायत एमालेमा प्रवेश गरेका छन् । गठबन्धनले ल्याउने तीव्र प्रतिस्पर्धाले एमालेलाई पनि सहज हुने देखिन्न ।
राजपाका स्वतन्त्र उम्मेदवार
निर्वाचनविरुद्ध आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टीका रूपन्देहीका नेता/कार्यकर्ता भने यतिबेला उम्मेदवारका पक्षमा मत मागिरहेका भेटिन्छन् । स्वतन्त्र उम्मेदवारी दिएका राजपाका उम्मेदवारहरूले मधेशी समुदाय बाहुल्य जिल्लाको दक्षिणी भेगमा रौनक थपेका छन् ।
जिल्लाका लुम्बिनी सांस्कृतिक नगरपालिकासहित मर्चवारी, सम्मरीमाई, मायादेवी र कोटहीमाई गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको हैसियतमा राजपाका १५० जनाको उम्मेदवारी परेको छ । सुरक्षाको दृष्टिले अति संवेदनशील मानिएको यस भेगमा अवरोध गर्ने पक्ष नै चुनावमा सहभागी हुँदा त्यसको रौनक जिल्लाभर छाएको छ ।