११ र १२ कक्षाका उत्कृष्ट ३० विद्यालय
२ असारमा परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्यो । अक्षरांकन पद्धतिबाट मूल्यांकन गरिएकाले परीक्षामा सहभागी कुनै पनि विद्यार्थीको लब्धांकपत्रमा ‘अनुत्तीर्ण’ उल्लेख छैन । तर, मानविकी, शिक्षा, कानून र विज्ञान संकायको जुनसुकै विषय पढ्न अंग्रेजी, नेपाली र सामाजिक शिक्षामा ‘डी प्लस’ भने ल्याउनैपर्छ ।
शिक्षा ऐन, २०२८ को आठौं संशोधनपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा र एसएलसी परीक्षा एसईई परीक्षा भएको हो ।
मूल्यांकनमा अपनाइएको अक्षरांकन पद्धति र ऐनमा गरिएको संशोधनले अभिभावक र विद्यार्थीमा केही अन्योल उत्पन्न गराएको देखिन्छ । यसका बाबजूद विश्वविद्यालय प्रवेशको आधार भने यसअघि उच्च माध्यमिक शिक्षा भनिने कक्षा ११ र १२ नै हो ।
‘घर बलियो हुन जग बलियो’ चाहिए जस्तै विद्यालय तहबाटै पढाइ गतिलो भयो भने मात्र विश्वविद्यालयमा राम्रो नतिजा हासिल गर्ने संभावना नकार्न सकिंदैन ।
गुणस्तरीय शिक्षा सबैको चाहना हो । तर यसका लागि विद्यार्थी र अभिभावकको लगनशीलतासँगै शैक्षिक संस्था पनि स्तरीय हुनुपर्छ । कस्तो विद्यालयलाई उत्तम मान्ने भन्ने सन्दर्भमा अरू त अरू स्वयं शिक्षाविद्हरूमै मतैक्य छैन ।
तर, हाम्रो परिवेशमा व्यावहारिक शिक्षा, विद्यार्थी उत्तीर्ण प्रतिशत, अनुभवी शिक्षक, सिर्जनशीलतामा जोड, आवश्यक भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा जोड र चुस्त व्यवस्थापनजस्ता आधारमा शैक्षिक संस्थालाई उत्कृष्ट मान्नुपर्ने मत देखिन्छ ।
कक्षा ११ र १२ पढाइने देशभरिका विद्यालयमध्येबाट राम्रो शैक्षिक संस्था छनोट गर्न राष्ट्रिय परीक्षा बोर्डले लिने वार्षिक परीक्षाको नतिजा बाहेक अर्को वैज्ञानिक विधि हामीकहाँ अहिलेसम्म उपलब्ध छैन । त्यसैलाई आधार मानेर देशभरका ३० उत्कृष्ट विद्यालयको सूची प्रकाशित गरेका छौं ।
यो सूचीमा कक्षा १२ को अन्तिम परीक्षामा ३० भन्दा बढी विद्यार्थीलाई सहभागी गराएर नियमिततर्फ पछिल्लो पाँच वर्षयता लगातार ८० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरू मात्र समावेश गरिएको छ ।
विगत एक दशकभन्दा अघिदेखि साप्ताहिक खबरपत्रिका हिमालले एउटै मापदण्ड बनाएर उत्कृष्ट विद्यालय छनोट गर्दै आएको छ ।
गत वर्ष छनोटमा उत्कृष्ट २६ विद्यालयमा परेकामध्ये यसपटक ८० प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएकाले बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमी यो सूचीमा पर्न सकेन ।
यस वर्ष धरानको विष्णु मेमोरियल, कोटेश्वरको सीसीआरसी (क्यापिटल), जावलाखेलको सेन्ट जेभियर्स र पोखराको मदरल्याण्ड स्कूल र हर्मन माइनर स्कूल उत्कृष्ट ३० मा स्थान बनाउन सफल भएका छन् ।
पछिल्लो पाँच वर्ष ८० प्रतिशत भन्दा बढी उत्तीर्ण दर भए तापनि २०६९ को परीक्षामा सहभागी विद्यार्थी संख्या ३० नपुगेकाले काठमाडौंको बूढानीलकण्ठ र दाङको तुल्सी बोर्डिङ पनि उत्कृष्ट सूचीमा पर्न सकेनन् ।
विगत एक दशकदेखि निरन्तर उत्कृष्टमध्येको पनि अग्रस्थानमा रहँदै आएको प्रसादी एकेडेमी यस वर्ष पनि उत्कृष्टता कायम राखी पहिलो स्थान बनाउन सफल भएको छ ।
पछिल्लो पाँच वर्षको कक्षा १२ मा विद्यालयले हासिल गरेको उत्तीर्ण प्रतिशतको औसतमा आधारित भएर प्रस्तुत गरिएको सूचीले विद्यार्थी र अभिभावकलाई एसईईपछि स्तरीय विद्यालय छान्न मद्दत पुग्ने हिमाल को विश्वास छ ।
११ र १२ कक्षाका राम्रा ६४ विद्यालय
जसरी गोडमेल विना बाली सप्रिंदैन, ठीक त्यसैगरी उचित शैक्षिक वातावरण विना विद्यार्थीको प्रतिभा प्रस्फुटन हुँदैन । कुनै पनि मेधावी विद्यार्थीको सिकाइमा शिक्षण संस्थाको भूमिका अनिवार्य र अपरिहार्य हुन्छ । त्यसैले असल र अब्बल विद्यार्थी जन्माउन पहिले गतिला विद्यालय जन्मनुपर्छ ।
राम्रो विद्यालयले मात्रै विद्यार्थीको लगनशीलता र अभिभावकको चाहनाको कदर गर्न सक्दछ । तर कस्ता विद्यालय राम्रा ? समयसँगै फेरिने समाजका अपेक्षाहरूका कारण जवाफ सधैं एकै नहुन सक्छ ।
एसईई पूरा गरेका विद्यार्थी र अभिभावकलाई राम्रो विद्यालय छनोट गर्न सजिलो होस् भनेर हिमाल ले विगत एक दशकभन्दा बढीदेखि राम्रा विद्यालयको सूची प्रकाशित गर्दै आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को अन्तिम परीक्षाको नतिजाको आधारमा हामीले यसपटक पनि राम्रा ६४ विद्यालयको सूची तयार पारेका छौं । १२ कक्षाको परीक्षामा कम्तीमा ३० विद्यार्थी सहभागी गराएर विगत तीन वर्षमा लगातार ६५ प्रतिशतभन्दा बढी उत्तीर्ण दर भएका विद्यालयहरू यो सूचीमा परेका छन् ।
जतिसुकै राम्रो नतिजा भए पनि २९ जना भन्दा कम विद्यार्थी परीक्षामा सामेल गराएका वा तीन वर्षमध्ये एक वर्ष मात्रै ६५ प्रतिशत भन्दा कम उत्तीर्ण दर भएका विद्यालय सूचीमा परेका छैनन् । राम्रा ६४ मा परेका विद्यालयहरूलाई प्राप्तांकको आधारमा नभई ‘र्यान्डम्ली’ राखिएको छ । उत्कृष्ट ३० मा सूचीकृत भइसकेका विद्यालयहरू यहाँ दोहोरिएका छैनन् ।