निहारिकाको चीरहरणलाई पद्मश्री पुरस्कार र काँइलालाई पद्मश्री साधना सम्मान
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’लाई दिने भएको छ । सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानले ११ साउनमा विज्ञप्तिमार्फत रामलाल जोशीको कथासंग्रह ऐना, निलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको वीरगञ्ज: मेरो शहरको कथा, भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज गरी पाँच कृतिको सूचि सार्वजनिक गरेको थियो । ति कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज चीरहरण उपन्यासलाई यो वर्षको पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने निर्णय भएको लामिछानेले जानकारी दिए ।
प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरू मध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कारबाट सम्मान गर्दै आएको छ ।
गत वर्ष प्रतिष्ठानले पुरस्कारको लागि आवेदन दिनुपर्ने व्यवस्था खारेज गरी प्रकाशित कृतिहरू प्रतिष्ठान स्वयंले बजारबाट खरिद गर्ने र पुरस्कारको अन्तिम घोषणा हुनुअघि पाँच उत्कृष्ट कृतिको मनोनयन गरी सार्वजनिक गर्ने गरेको थियो ।
बैरागी काइँलालाई पद्मश्री साधना सम्मान
पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । काइँलाले पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बु साहित्यको श्रीवृद्धिको लागि कलम चलाउँदै आएका छन् ।
नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा योदगान पुर्याएको, उनको नेतृत्वले सुरु गरेको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराए लगायतका योगदानको कदर र सम्मान गर्दै प्रतिष्ठानले यो वर्षको साधना सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
यसअघि यो सम्मान राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र कलाकारद्वय मदनकृष्ण श्रष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको थियो ।
सम्मानित सर्जकलाई अभिनन्दनसहित सम्मानपत्र र दुई लाख रुपैँया नगद प्रदान गरिने लामिछानेले जानकारी दिए ।