निर्वाचनपछि कान्ति फर्किने आशा
बच्चु विक, दिपायल
२०४८ सालपछि बिरानो बन्दै गएको सुदूरपश्चिमाञ्चलको सदरमुकाम दिपायल स्थानीय तहको निर्वाचनपछि गुलजार हुने प्रतीक्षामा छ ।
२४ वर्षअघि डोटीको सिलगढी बजारमा शुरू गरेको होटलबाट घाटा व्यहोरेपछि दिपायल सिलगढी–६ का कृपाल भण्डारी अहिले चियापसल चलाइरहेका छन् । सिलगढीको जिरो प्वाइन्टमा रहेको चियापसलबाट पनि गुजारा मात्रै चलेको भण्डारी बताउँछन्। “व्यापार व्यवसाय चल्न त चहलपहल र उद्योगधन्दा हुनुपर्यो” भण्डारी भन्छन्, “यहाँ त झ्न्पछि झ्न् सुनसान हुँदैछ ।”
दिपायलको ओरालो यात्रा २०४८ सालको आमनिर्वाचनपछि शुरू भएको हो। पुरानो शहर भए पनि दिपायललाई सुदूरपश्चिमकै धनगढी, महेन्द्रनगरसँगै डडेल्धुराले समेत उछिनिसकेका छन्। भण्डारी भन्छन्, “बहुदलपछिको चुनावले दिपायलको कान्ति हरायो, अबको चुनावले फर्काउला कि!”
गुलजार विगत
करीब २०० वर्षसम्म अस्तित्वमा रहेको डोटी राज्यको राजधानी दिपायल राणा र पञ्चायतकालसम्म पनि गुलजार थियो। २०४८ सालको निर्वाचनपछि भने प्रभावशाली मन्त्री तथा सांसद्हरूले आ–आफ्नो जिल्ला र क्षेत्रमा मात्रै ध्यान दिए। सुदूरपश्चिमको सदरमुकाम दिपायलमा रहेका क्षेत्रीय कार्यालयहरुले पनि धनगढी, महेन्द्रनगर र डडेल्धुरामा सम्पर्क कार्यालय खोलेर त्यहींबाट काम गर्न शुरू गरे। सुदूरपश्चिममा काम गर्ने गैरसरकारी संस्थाहरूको रोजाइमा पनि दीपायल–सिलगढी नपर्दा व्यवसायीको पलायन शुरू भयो। दिपायलले आफ्नो वैभव गुमायो।
“२०४८ यता ९० प्रतिशत व्यवसायी पलायन भइसकेका छन्”, डोटी उद्योग वाणिज्य संघका कोषाध्यक्ष कृष्ण जोरा भन्छन्। हुन पनि २०४८ पछि दिपालयमा नयाँ शैक्षिक संस्था, उद्योगधन्दा खुलेका छैनन्। विमानस्थल बन्द छ। “खप्तड घुम्न जाने पर्यटक पनि यहाँ नआई डडेल्धुरामा बास बस्छन्”, जोराले भने। कतिसम्म भने दिपायल सिलगढीमा नयाँ घरहरू त देखिंदैनन् नै पुराना घरहरूमा पनि ताला झ्ुण्ड्याइएका देखिन्छन्। “सेवा सुविधा नभएपछि लेखापढा, सम्पन्न व्यक्ति बसाइँ सरे” स्थानीय प्रेमशंकर भट्ट भन्छन्।
पुनर्जीवनको आशा
स्थानीय तहको निर्वाचनले भने दिपायल–सिलगढीका बासिन्दामा आशा जगाएको छ। उम्मेदवारहरू पनि दिपालय–सिलगढीलाई पुनर्जीवन दिने वाचा गरिरहेका छन् ।
प्रमुख तीन दलका उम्मेदवार आन्तरिक प्रशिक्षण, आमसभा सकेर घरदैलो अभियानमा छन्। उनीहरू मतदातासँग विकास निर्माणसँगै दिपायल सिलगढीलाई पुरानै हैसियतमा फर्काउने प्रतिबद्धता जनाइरहेका भेटिन्छन्। दुई नगरपालिका र सात गाउँपालिका रहेको डोटीमा १ लाख १ हजार २१ मतदाता छन् ।
नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बाजीसिंह खड्का (विजय) मतदाताले विकास निर्माण खोजेको बताउँछन्। “क्षेत्रीय सदरमुकाम भन्दा लाज मान्नुपर्ने अवस्था छ। यहाँको पुरानो वैभव फर्काउने योजनासहित मतदाताकहाँ पुगिरहेको छु”, उनले भने। कांग्रेसले उपमेयरमा प्रसिस महरालाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका मञ्जु मलासी र शिवराज खड्का पनि विकासकै कुरालाई जोड दिइरहेका छन्। मञ्जु नगरकै पुनःसंरचना गर्नुपर्ने बेला भएको बताउँछिन्। आधारभूत सेवा–सुविधा समेत नरहेको भन्दै उनले नगरमा योजनाबद्ध विकास चाहिएको बताइन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार प्रेम नेपाली कांग्रेस र एमालेले यस क्षेत्रको विकासका लागि केही नगरेको आरोप लगाउँदै भन्छन्, “अब हामी गर्छौं भनेर घरदैलोमा पुगिरहेको छु ।”
दिपायल–सिलगढीसँगै डोटीका नौ स्थानीय तहका उम्मेदवारको अजेन्डा पनि यस क्षेत्रको विकास नै बनेको छ। अब क्षेत्रीय सदरमुकामको अवधारणा नरहेकाले यसलाई प्रादेशिक राजधानीका रूपमा अघि बढाइने भन्दै उम्मेदवारहरू आ–आफ्ना पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।