किसानलाई चुनावको चटारो
कमल रिमाल, विराटनगर
मध्य असारमा चुनावमा होमिएका मोरङका किसानलाई हेर्दा लाग्छ, आखिर चुनाव पनि एउटा 'खेती' नै त हो– मतदान गर्ने र जनप्रतिनिधि चुन्ने ।
मोरङ, कटहरी गाउँपालिकामा व्यावसायिक तरकारी खेतीका लागि राष्ट्रपतिबाट पुरस्कारसमेत पाइसकेका धर्मलाल सिंह यतिबेला खेतबारीमा भेटिंदैनन्। चार दाजुभाइको १२ बिघा खेतमा तरकारी लगाएका उनी कटहरीका सात वटै वडामा उम्मेदवारलाई लिएर प्रचारमा घुमिरहेका छन् ।
“बल्लबल्ल चुनाव आएको छ, खेतमा मन अडेन”, एमालेको मोरङ जिल्ला क्षेत्र नम्बर–६ का सह–इन्चार्जसमेत रहेका सिंह भन्छन्, “बरु एक सिजनको तरकारी माया मार्छु तर, चुनाव हाम्रो लागि हो ।”
जहदा गाउँपालिका–६, पोखरियाका पवनलाल मण्डल (७५) लाई पनि रोपाइँको तयारी गर्नुपर्ने चटारो छ। आकाशे पानीको भर भएकाले असारमा हुन लागेको चुनावले खेतीलाई खासै प्रभाव पार्दैन। “गाउँको मान्छेलाई भोट हालेर जिताउनुपर्नेछ, चुनावलाई खेतीले असर गर्दैन” उनी भन्छन् ।
तीन वर्ष विदेश बसेर फर्किएका धनपालथान गाउँपालिका, कदमाहाका महेश शर्मा (२२) लाई यो चुनाव राजनीतिज्ञ र राजनीति चिन्ने गतिलो माध्यम बनिरहेको छ। पम्पसेट मेशीन चलाउने उनी गाउँमा उम्मेदवार आइपुगे काम छाडेर चिनजान गर्न आइपुग्छन्। पहिलो पटक भोट हाल्न कस्सिएका शर्मा भन्छन्, “चुनावका दिन काम गर्दिनँ, भोट हाल्न जान्छु ।”
दक्षिण पूर्वी मोरङको भारतीय सीमासँग जोडिएका गाउँमा धानको बीउ राख्ने काम सकिएको छ। खेत जोत्ने, माटो हिल्याउने, सनपाट गोड्ने, पाकेको मकै थन्क्याउने काम धमाधम छ। मनसुन ढिलो हुने भएकाले १५ असारपछि नै रोपाइँको सुरसार छ। किनभने, १४ असारमा त चुनाव छ ।
किसानहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल किसानले स्थानीय तहको निर्वाचनमा गाउँलेलाई जिताउँदाका फाइदा बुझ्ेको बताउँछन्। “त्यसैले पनि अन्य काम थाती राखेर उनीहरू चुनावमा होमिएका छन्”, उनी भन्छन्।
बेग्लै उत्साह
७ माघ २०७२ मा एमालेको सभा बिथोल्ने क्रममा भएको झ्डपमा मोरङको रंगेलीमा प्रहरीको गोली लागेर मधेशकेन्द्रित दलका तीनजना कार्यकर्ताको मृत्यु भएको थियो। तर, २८ जेठमा रंगेलीमै भएको एमालेेको उम्मेदवार घोषणासभामा हल भरिएको थियो। बाहिर परिरहेको पानीले पनि गाउँलेलाई रोकेन। घोषणासभामा एमाले नेता लालबाबु पण्डित, सांसद् ऋषिकेश पोखरेललगायतले सम्बोधन गरे ।
दिउँसो खेतमा र बिहान, बेलुका चुनाव प्रचारमा हिंडिरहेका धनपालथान–१ नोचाका अशोककुमार रौनियार चुनावले किसानलाई अधिकारसम्पन्न बनाउने बताउँछन्। “उम्मेदवार पनि हामी जस्तै किसान छन्, दिउँसो कामले नभ्याए पनि बिहान र बेलुकी प्रचार गरिन्छ” रौनियार भन्छन्, “बरु छिट्टै भोट हाल्न पाए ढुक्क हुन्थ्यो।” नेपाल विद्यार्थी संघ, मोरङका पूर्व सभापति एवं नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि रविन बानियाँ किसान मतदानका लागि व्यग्र भएको बताउँछन्। “मतदान गर्ने चाहनाले असारको चुनाव भए पनि किसान चिन्तित छैनन्”, उनी भन्छन् ।
मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का सांसद् शिवकुमार मण्डलले पनि प्रचारका क्रममा किसानले खेतीभन्दा चुनावलाई नै प्राथमिकता दिएको देखे। “खेती महत्वपूर्ण हो तर चुनावको रौनक पनि छुट्टै देखिन्छ”, उनी भन्छन् ।
ग्रामीण क्षेत्रमा निर्वाचन प्रचारमा हिंड्नेमा पुरुषभन्दा महिला बढी भेटिन्छन्। कटहरी–४ बाट एमालेबाट दलित महिला सदस्यमा उठेकी मधुदेवी पासवानले चुनावमा पुरुष जत्तिकै महिला पनि उत्साहित भएको बताइन्। घर र खेतमा मात्रै व्यस्त हुने महिला अहिले चुनाव प्रचारमा हिंड्ने गरेको बताउँदै उनी भन्छिन्, “सबै गाउँका महिला उम्मेदवार छन्, त्यसैले जुलूसमा दिदीबहिनी बढी हुन्छन् ।”
पानी दिनेलाई भोट
व्यावसायिक कृषिका लागि जिल्लामै नाम कमाएको दक्षिणी मोरङका किसानहरू 'पानी दिनेलाई भोट दिने' बताउँछन्। सिंचाइको मुख्य स्रोत सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा वर्षामा समेत पर्याप्त पानी आउँदैन। “नहरको पानीले नपुगेर बीउ राख्न पाएको छैन” ग्रामथान–४ मोतीपुरका चन्द्रलाल सरदार (६५) भन्छन्। नेपाल सद्भावना पार्टीको साविक मोतीपुर गाविसका पूर्व अध्यक्षसमेत रहेका उनी एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टीमा भने हैसियतविहीन छन्। “पालो लगाएकाले हप्तामा तीन दिन मात्र नहरको पानी खेतमा आउँछ” सरदार भन्छन्, “१४ असार पानीको पालो पर्यो भने पनि भोट हाल्न छुटाउँदिन।”
मोतीपुरकै श्रीनारायण धामीले पनि सिंचाइ अभावकै कारण डेढ बिघा खेत अँधियामा दिएका छन्, चार बिघामा भने आफैं खेती गरिरहेका छन्। “चुनावपछि केही होला कि भनेर किसान चुनावमा लागेका छन्”, धामी भन्छन् ।