श्रमको बदला यौन शोषण
सुखद भविष्यको कल्पनामा देश छाड्न बाध्य नेपाली महिला आशा होइन, हदैसम्मको शारीरिक र मानसिक शोषणको भार बोकेर फर्किरहेका छन्।
श्रीमान्को बेवास्ताका कारण दुई सन्तानको पालनपोषणमै समस्या पर्न थालेपछि सात वर्षअघि दाङकी रीता (२७) घरेलु कामदारका रूपमा कुवेत पुगिन्। तर, सोचेजस्तो केही भएन।
मालिकले विना आराम उनलाई घण्टौंसम्म काममा लगाउँथे। अनेक यातना दिन्थे। बल्लतल्ल उनी त्यहाँबाट फुत्किइन् र दुई वर्षअघि मात्र स्वदेश फर्किन्।
कुवेतमा भोगेको कहर कहाँ बिर्सन सक्नु र ! तर, रीतासामु आफ्नोभन्दा छोराछोरीको भोकको चिन्ता ठूलो थियो। त्यसैले उनी फेरि विदेश नै जान तम्सिइन्। २०६७ सालमा उनी अब चाहिं कम्पनीमै काम गर्ने भनी दलालमार्फत त्रिभुवन विमानस्थलबाटै कुवेतका लागि भनी उडिन्। तर, पुगिन् दुबई र काम थियो उही पुरानै घरेलु कामदार।
अनुत्तरित आमा
त्रिभुवन विमानस्थलको अध्यागमन शाखामा पुग्दा रीताको एक हातमा कुवेतमा क्लिनिङ कम्पनीमा काम गर्ने अनुमतिसहितको राहदानी र अर्कोमा एक प्याकेट बिस्कुट थियो।
विमानस्थल पुग्नु अघि उनको हातमा एजेन्टले 'कर्मचारीले जति मागे पनि नदिनू र प्लेन उडेपछि मात्रै खानू' भनी बिस्कुट थमाएका थिए।
एजेन्टले भने अनुसार नै जहाज उडेपछि उनले बिस्कुटको प्याकेट खोलिन्। तर, त्यहाँ त बिस्कुट नभई कागज थियो। रीतालाई चिसो पस्यो। लेखपढ गर्न नआउने उनले सँगैका नेपाली यात्रुलाई सोधिन्।
अनि पो थाहा भयो, कागज त दुबई जाने भिसा पो रहेछ। दुबई झरेलगत्तै सँगै बसेका ती पुरुषले उनलाई पक्राउ पर्न सक्ने भन्दै कुवेतको भिसा लागेको कागज च्यात्न लगाए।
विमानस्थलमा ओर्लेको केहीबेरमा एक महिलाले थुप्रै महिला भएको आबुधाबीस्थित ठूलो कोठामा पुर्याइन्। दुई दिनपछि उनलाई आबुधाबीकै एउटा घरमा लगियो। पासपोर्ट पनि थुतियो। दुःखको दोस्रो अध्याय शुरू भयो। “दिनको २१ घण्टासम्म काम गर्नुपर्थ्यो, नगरे मालिकले कुट्थ्यो”, रीता भन्छिन्।
एक महीनापछि उनलाई दुबईकै बुर्जुमानमा काम गर्ने हेटौंडाका विनोद तिवारीले फोनमार्फत 'राम्रो काममा लगाइदिन्छु' भनेर बोलाए। परदेशमा अर्को नेपालीको सहानुभूतिले उनको मन भरियो।
विना कागजात भागेर उनी तिवारीको डेरामा पुगिन्। तर, तिवारीको नियत अर्कै थियो। उनले रीतामाथि पटकपटक बलात्कार गरे। कागजात नभएका कारण उनी बाहिर निस्कन पनि सकिनन्।
पीडित रीतालाई यौनशोषण गरेको आरोप लागेका हेटौंडाका विनोद तिवारी। दलालले दुबई भनेर इराकमा पुर्याएपछि शारीरिक र मानसिक यातना पाएकी छोरीलाई उद्धार गरिदिन आमाले शक्ति समूहमा दिएको निवेदन (तल)।
पिसाब जाँच्दा गर्भवती भएको थाहा पाएपछि रीतालाई मर्नु न बाँच्नु भयो। दुबईमा गैरकानूनी नै भए पनि गर्भपतन गराउन चाहिन्। तर, तिवारीले 'गर्भपतन गरे दुबईको जेलमा सडाइदिन्छु' भनेर धम्काए।
पहिले भागेको घर मालिकले पैसा चोरेको आरोप लगाएर प्रहरीकहाँ उजुरी दिएपछि भने उनको खोजी भयो। उनी ६ दिनसम्म हिरासतमा परिन्। तिवारीले 'केही दिनमा आफू पनि नेपाल आउने' भन्दै फकाएपछि रीता २० फागुन २०७३ मा नेपाल ओर्लिइन्।
बालाजुको एक होटलमा तिवारीलाई कुरेर डेढ महीनासम्म बसिन्। तर, उनी आएनन्। यता उनीसँग भएको सबै पैसा सकियो। उनी एक दिन खान पुग्ने अर्कोदिन खान नपुग्ने अवस्थामा पुगिन्। दुबईमा रहँदा नजिकैको अपार्टमेन्टमा बस्ने अर्की साथीले रीताको यस्तो अवस्था थाहा पाइन्। र, काठमाडौंमै रहेकी आफन्तसँग सहयोगको आग्रह गरिन्।
ती आफन्तकै सहयोगमा १३ वैशाखमा रीताले बच्चा जन्माइन्। त्यसपछि उनकै सहयोगमा पीडक तिवारीमाथि कारबाही गर्न रीताले प्रहरी समक्ष उजुरी पनि दिइन्। तर, तिवारी दुबईमै रहेकोले पक्राउ पर्न सकेका छैनन्। आफूलाई झुक्याएर दुबई पुर्याउने बर्दियाका नन्दलाल सुवेदी अहिले भारतको नयाँदिल्लीस्थित जेलमा रहेको उनले थाहा पाएकी छिन्।
रीताको काखमा यतिबेला तीन महीनाको शिशु छ। शिशुसँगै पूरै जीवन छ तर आमा रीताले भने कतै उज्यालो देखेकी छैनन्। “यस्तो अवस्थामा मलाई परिवारले स्वीकार्ला भन्ने कतै लाग्दैन, दोष सबैले मलाई नै दिन्छन्”, अहिले माइती नेपालको सहारा लिइरहेकी उनी भन्छिन्।
सुखको सपना सँगालेर खाडी मुलुक पुगेका महिलाहरूमा यौनहिंसाका यस्ता घटना सुन्दा मात्र पनि कहाली लाग्नुपर्ने हो। तर, घरेलु कामदारका रूपमा विदेशिएका थुप्रै महिलाका कथा रीतासँग मिल्दाजुल्दा छन्। त्यसैले पनि यस्ता घटना 'सामान्य' झैं बनिरहेका छन्।
सहजै शोषण
बाबुआमासँग झगडा परेर छुट्टै बस्दै आएकी काठमाडौंकी मीनाले कमाइका लागि विदेश जाने योजना बनाइन्। त्यस क्रममा ताप्लेजुङका पूर्णबहादुर लिम्बूसँग उनको सम्पर्क भयो।
लिम्बूमार्फत मीनाको नवलपरासी, दुम्कीबास–३ का राजकुमार खरेलसँग सम्पर्क भयो। आफ्नी दिदी पनि ओमानमा भएको भन्दै खरेलले ढुक्क भएर ओमान जान प्रोत्साहन गरे।
नेपालबाट महिला कामदार खाडी मुलुक जान प्रतिबन्धित रहेको थाहा पाएपछि मीनाले खरेलकै सल्लाहमा नयाँदिल्ली हुँदै ओमान पुग्न सहमत देखिइन्।
१९ असार २०७३ मा काठमाडौं, बुटवलहुँदै नयाँदिल्ली पुगेकी उनलाई १५ दिनसम्म त्यहीं राखेर एजेन्टहरूले श्रीलंका, दुबईहुँदै ओमान पुर्याए।
दुई महीनासम्म त्यहाँ बस्दा उनले चरम शारीरिक र मानसिक यातना भोग्नुपर्यो। “आत्महत्या गर्छु भन्ने थियो, तर परिवारले सम्झाएपछि बाँचेर फर्किएँ”, उनी भन्छिन्।
आफन्तको सहयोगमा १७ मंसीर २०७३ मा नेपाल फर्किएकी उनले लगत्तै एजेन्ट लिम्बूविरुद्ध उजुरी दिइन्। २३ मंसीर २०७३ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत पक्राउ परेका लिम्बू र खरेल यतिबेला जेलमा छन्।
मोरङकी सुनमाया (५०) को व्यथा पनि उस्तै छ। श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि काठमाडौं बस्दै आएकी उनी २०५२ सालमा राम्रो काम र दाम पाइने आशामा साउदी अरब पुगिन्। दुःख बढी र आम्दानी कम भएपछि तीन वर्षपछि फर्किइन्।
केही वर्ष नेपाल बसेपछि उनले फेरि घरेलु कामदारका रूपमा ओमान जाने योजना बनाइन् र, एजेण्टलाई रु.५ लाख बुझाइन्। नयाँदिल्ली हुँदै ओमान लैजाने भन्दै एजेन्टहरूले सुनमायालाई २९ वैशाख २०६७ मा बर्दियाको सीमावर्ती नाकाबाट बसमा चढाएर दिल्ली पुर्याए। त्यहाँ उनलाई दलालले करीब २५ जना महिलालाई थुनेको गोदाममा लगेर राखे।
टहरामा जीवन बिताउन गाह्रो भएपछि कैयौ महिला रोजगारीको लागि खाडी मुलुक गएका छन्।
सुनिता दनुवार, कार्यकारी निर्देशक, शक्ति समूह
त्यसपछि सुनमायालाई एजेन्टले नयाँदिल्लीस्थित साउदी अरबको दूतावासमा कार्यरत कर्मचारी मजिद हसन असरुर बस्ने गुडगाँवस्थित घर पुर्याए। त्यहाँ उनले सात महीना काम गरिन्। तर, तलब पाइनन्।
बरु, उल्टै श्रीमती र बच्चा घरमा नभएको मौका छोपी मजिदले साथीहरू बोलाएर उनको यौनशोषण गर्थे। उनीसँगै बस्ने अर्की नेपाली महिलाले पनि यस्तै शोषण भोग्नु पर्यो।
ओमान पुर्याउने भन्दै भारत ल्याएको बारे सुनमायाले भारतीय दलालसँग सोध्दा एजेन्टले रु.५ लाख लिएर नेपाल गइसकेको बताए। ती एजेन्टको नाम सुन्दा उनी चकित भइन्। एजेन्ट अरू कोही नभई आफ्नै बुहारी कल्पना परियार थिइन्।
गुडगाँवमा सात महीना बसेपछि दलालले उनलाई श्रीलंका हुँदै जहाजमार्फत साउदी अरब पुर्याए। साउदीमा गुडगाँवजस्तो दुःख नपाइएला भन्ने सोचेकी उनी त्यतिबेला छाँगाबाट खसे झैं भइन्, जतिबेला उनलाई विमानस्थलमा लिन उनै मजिद आए। पछि थाहा पाइन्, मजिद एक महीना साउदी आउनुपर्ने भएकाले पो उनलाई पनि ल्याइएको रहेछ।
एक महीनापछि मजिदसँगै सुनमाया पनि गुडगाँव फर्किइन्। बीचको आठ महीनामा चर्को काम र यौनशोषण फेरि पनि दोहोरियो। उनीसहित अर्की नेपाली महिलाले विभिन्न माध्यमबाट माइती नेपाललाई सम्पर्क गरेर आफूहरू गुडगाँवमा फसेको जानकारी दिए।
१४ साउन २०७२ मा भारतीय प्रहरी सहितको माइती नेपालको टोलीले सुनमायासहित अर्की नेपालीलाई उद्धार गरे। मजिदलाई पक्राउ गर्न पीडितले उजुरी गरे पनि भारतीय प्रहरीले उनलाई पक्रन नसक्ने भन्दै कारबाही गर्न सकेको छैन।
उनलाई झुक्याएर विदेश पुर्याउने बुहारी कल्पना र उनका भाइ जीतबहादुर परियारविरुद्ध भने जिल्ला अदालत काठमाडौंले १४ जेठ २०७३ मा १५ वर्ष कैद र रु.५० हजार जरिवानाको फैसला गरेको छ। उनीहरू दुवै अहिले जेलमा छन्। सुनमाया अहिले काठमाडौंस्थित शक्ति समूहको आश्रयस्थलमा छिन्।
सौतेनी आमाको हेपाइ सहन नसकेपछि हेटौंडाकी झरना जसरी हुन्छ घर छाड्न चाहन्थिन्। त्यसैले १४ वर्षकै उमेरमा २०६० सालमा उनले साउदी अरब जानेबारे सोचिन्। तर, सीमावर्ती क्षेत्रबाट चारपटकसम्म उनलाई भारतीय प्रहरीले पक्रेर नेपाल फिर्ता पठायो।
पाँचौं पटकमा भने उनी आफ्नै सानो बुवा र एजेन्टमार्फत गोरखपुर, चेन्नईहुँदै दिल्ली पुगिन्। चेन्नई प्रहरीले उमेर कम भएको भन्दै साउदी जान अनुमति नदिएपछि एजेन्टले १४ वर्षे उनलाई उमेर बढाएर १६ वर्षको नागरिकता बनाइदिए।
साउदीमा दुई वर्ष सात महीना बसेपछि झरना नेपाल फर्किइन्। तर, चार महीना घर बसेकी उनलाई सौतेनी आमाले दलालमार्फत कुवेत पठाइन्।
त्यहाँ दुई वर्ष बिताएकी उनले दिनहुँजसो कुटाइ र यौनशोषण सहनुपर्यो। साह्रै कष्ट बेहोरेपछि उनी रियादस्थित नेपाली दूतावास जान लाग्दा ट्याक्सी चालकले आफ्नै घरमा बन्दी बनायो। त्यहाँ पनि शारीरिक यातना भोग्नु पर्यो। अन्ततः जसोतसो भागेर दूतावास पुगिन्।
“हिंसा भएर पनि महिलाहरु बोल्न सक्दैनन्। हिंसा भएर पनि बोल्न नसक्नु झन् डरलाग्दो पक्ष हो।”
विश्वराम खड्का, निर्देशक, माइती नेपाल
नेपाल फर्किन पासपोर्ट नभएकाले एक वर्षसम्म उनी दूतावासकै शरणमा बसिन्। दूतावासमा उनले आफूजस्तै दुःख पाएका धेरै महिला भेटिन्। “नेपाल फर्कनकै लागि भए पनि उनले एक महीनासम्म जेलमा बस्नु पर्यो, दुःख भनेर सकिन्न”, २३ वर्षीया झ्रना भन्छिन्। उनी पनि अहिले शक्ति समूहको आश्रयस्थलमा छिन्।
सीआईबीका अनुसार १८ फागुन २०७१ देखि २९ चैत २०७२ सम्म नेपाली महिलालाई अवैध तरिकाले विदेश पठाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा ३० जना दलाल पक्राउ परिसकेका छन्।
बेचिएका भूकम्पपीडित
माइती नेपालका अनुसार १२ वैशाख २०७२ को भूकम्पपछि आवास र आर्थिक अभावका कारण रोजगारको सिलसिलामा छिमेकी भारत जाने महिलाको संख्या ३० प्रतिशतले बढेको छ।
माइती नेपालका निर्देशक विश्वराम खड्का भूकम्प प्रभावित जिल्लाहरूमा दलालको सक्रियता बढेको बताउँछन्। उनका अनुसार, नेपाल–भारतका १२ सीमावर्ती क्षेत्रबाट भूकम्पअघिको माघ, फागुन र चैतमा भारत पुग्ने महिलाको संख्या ६२० रहेकोमा भूकम्पपछिको तीन महीनामा ७४५ जनासम्म पुगेको देखिएको छ।
यस्तैमध्ये एक हुन्, रसुवाकी रुबी। “मेलै आफ्ना साथीहरूलाई इराक पठाइसकेको छु। उनीहरूले त्यहाँबाट कमाएको पैसाले भत्केको घर बनाइसके, तिमी पनि जाने भए लैजान्छु”, दलालले यसो भन्दै फकाएपछि उनी पनि लोभिइन्।
बर्खाको बेला छानो राखेको त्रिपालबाट पानी चुहिने समस्या भोगेकी उनले २०७२ सालमा इराक जाने निधो गरिन्। तर, इराकको राजधानी बगदादको एउटा घरमा उनले नपाउनु दुःख पाइन्। त्यहाँ उनीसहित सयौं महिलालाई कोचेर राखिएको थियो।
भारतीय र बंगाली ग्राहकहरू राति बेहोस बनाएर महिलाहरूको यौनशोषण गर्थे। “एजेन्ट महिलाहरूलाई ग्राहकको रोजाइ अनुसार बिक्री गर्दथे”, उनी सुनाउँछिन्।
शक्ति समूहको उद्धारपछि चार महीनाअघि मात्रै नेपाल फर्किएकी रुबीले आफूलाई विदेश पठाउने दलाल साम्देन लामाका विरुद्ध उजुरी दिइन्। लामा ३१ जेठमा पक्राउ परे। अहिले उनी रु.३ लाख धरौटीमा रिहा भएका छन्। रुबी लामाविरुद्धको मुद्दा फिर्ता लिन राजनीतिक तहबाट अनेक दबाब र प्रलोभन आइरहेको बताउँछिन्।
“टहरामा जीवन बिताउन गाह्रो भएपछि कैयौं महिला खाडी मुलुक गएका छन्”, शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवार भन्छिन्। ती मुलुकमा रहेका अधिकांश महिलाको जीवन जोखिममा रहेको भन्दै उनी अहिले पनि बगदादमा १० जना महिलालाई उद्धारको प्रयास भइरहेको बताउँछिन्।
(सबै पीडितहरूको नाम परिवर्तन गरिएको छ।)
-------------------------------------------------------------------
अध्यागमनका अधिकारीलाई घूस!
५ चैत २०७३ मा व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहितको टोलीले खाडी मुलुकमा नेपाली कामदारको अवस्था बुझ्न साउदी अरब, दुबईलगायतका मुलुकमा स्थलगत अध्ययन गरेपछि सरकारले महिलाहरूलाई ती देश जान कडाइ गर्यो।
यो कडाइले त्यहीबेला विदामा नेपाल आएका महिलाहरू प्रभावित बने। श्रम स्वीकृति नभएका उनीहरूले त्रिभुवन विमानस्थलहुँदै दुबई जान पाएनन्। दलालले चोर बाटो रोजे।
दलालले नेपालबाट भारत र त्यहाँबाट केन्या जाने भन्दै महिलाहरूलाई दुबई पुर्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। यसका लागि दलालहरूले भारतका अध्यागमनका कर्मचारीलाई घूस खुवाएको पनि बताइएको छ।
तीमध्ये श्रम स्वीकृति विना अवैध बाटोबाट दुबई पुगेका पूर्वी र तराईका ४४ जना महिलालाई दुबई सरकारले १९ र २० वैशाख २०७४ मा नेपाल फिर्ता पठाएको छ।
नेपाल फर्काएका महिलाहरूले प्रहरीलाई दिएको बयान अनुसार, 'नो अब्जेक्सन लेटर (अनुमतिपत्र)' विना नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका महिलाहरूसँग अध्यागमन विभागका कर्मचारीले रु.१५ हजारदेखि रु.७५ हजारसम्म घूस लिएर विदेश पठाउने गरेका छन्।
अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलाल विमानस्थलका कर्मचारीहरूसँग 'सेटिङ' मिलाउने काम दलालमार्फत हुने गरेको बताउँछन्।
२१ वैशाखदेखि माइती नेपालमा आश्रय लिएर बसिरहेका पीडित महिलाहरूले आफूमाथि यौनजन्य हिंसा भए/नभएको बारे खुलेर भन्न नसकेको माइती नेपालका निर्देशक विश्वराम खड्का बताउँछन्। “हिंसा भएर पनि बोल्न नसक्नु झन् डरलाग्दो पक्ष हो”, उनी भन्छन्।
---------------------------------------------------------------------------------------------
नक्कली अनुमतिपत्र
परराष्ट्र मन्त्रालयले सन् २०११ देखि भारतीय विमानस्थल प्रयोग गरी खाडी मुलुक जानेहरूका हकमा 'नो अब्जेक्सन लेटर (अनुमतिपत्र)' अनिवार्य गर्ने निर्णय गर्यो। तर, यसको प्रभावकारिता देखिएन।
दिल्लीस्थित नेपाली दूतावासको कन्सुलर विभागकी प्रथम सचिव सिर्जना अधिकारी अनुमतिपत्र अनिवार्य गरेपछि तेस्रो मुलुक जानेले नक्कली अनुमतिपत्र बनाउन थालेको बताउँछिन्।
“हामीले जारी नगरेका अनुमतिपत्र भारतीय अध्यागमन विभागबाट आएका छन्”, अधिकारी भन्छिन्। नक्कली अनुमतिपत्र बनाएर खाडी मुलुक उड्ने गरेको थाहा पाएपछि दूतावासले यसबारे भारतीय पक्षसँग पटक–पटक छलफल गरेको तर समस्याको समाधान नभएको उनको भनाइ छ।
दलाल र विमानस्थलका कर्मचारीको मिलेमतोमा अनुमतिपत्र विना नेपाली महिलालाई खाडी मुलुक पठाउने धन्दा नरोकिएपछि अध्यागमन विभागले २५ जेठमा परराष्ट्र मन्त्रालयको अनुमतिपत्र व्यवस्थालाई प्रभावकारी बनाउन पत्राचार गरेको छ।