५९ वर्षपछि महिला नेतृत्वमा शुभ संकेत
बच्चु विक, बैतडी
मुलुककै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीले चुनाव लडेको ५९ वर्षपछि मात्रै सुदूरपश्चिमका महिला, स्थानीय तहमार्फत नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका छन् ।
२०१५ सालको पहिलो आम निर्वाचनमा बैतडी–डडेल्धुरासहितको ६९ नं. निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट द्वारिकादेवी ठकुरानी उम्मेदवार बन्दा २१ वर्षीया रुक्मिणी चन्द प्रचार समितिकी सदस्य भएर उनीसँगै गाउँ–गाउँ हिंडेकी थिइन् । ठकुरानी घरदैलोमा पुग्दा महिलाहरू झयाल र ढोकाभित्रैबाट हेरिरहेका हुन्थे । ‘बाहिर निस्किनुस्, अब चूलोचौकोमै मात्र बस्नुहुन्न, अघि बढ्नुपर्छ’ भन्ने ठकुरानीको आग्रहपछि मात्रै महिलाहरू आँगनसम्म निस्किन्थे ।
अहिले उनै चन्द ८० वर्षकी भइन् । ज्वरो आएर मेलौली नगरपालिका–७ कुम्थला, बैतडीस्थित घरमा आराम गरिरहेकी उनका नाममा नेपाली कांग्रेस, मेलौली नगर समितिको पत्र आइपुगेको थियो । २१ जेठ बिहान ‘स्टेप्लर–स्टीच’ गरिएको पत्र खोल्न गाह्रो भएपछि खोल्न र पढ्न लगाएकी चन्दले हाँस्दै भनिन्, “ओहो, मलाई पनि प्रचार समितिमा राखेछन् । उहिले जसरी प्रचार गर्न कहाँ सक्छु ! भोट हाल्न चाहिं जान्छु ।”
५९ वर्षअघि एक्ली महिला उम्मेदवार ठकुरानीका लागि भोट माग्दै हिंडेकी चन्द अहिले आफ्नै आँगनमा थुप्रै महिला उम्मेदवार भोट माग्न आएको देखेर हर्षित छिन् । “त्यतिबेला मन्त्रीजी (ठकुरानी) ‘महिलालाई अघि बढाउने व्यवस्था बनाउन उम्मेदवार बन्या हुँ, राजनीतिमा लाग्या हुँ’ भन्नुहुन्थ्यो । उहाँको त्यो सपना अहिले पूरा भएको छ ।”
द्वारिकादेवीको पदचाप
निर्वाचन क्षेत्र नम्बर ६९ बाट ठकुरानीले चुनाव लड्दा डोटीबाट उनका दाजु शिवराज पन्त उठेका थिए । निर्वाचित भएपछि ठकुरानी स्वास्थ्य सहायक मन्त्री तथा दाजु पन्त वन मन्त्री भए । ठकुरानीले चुनाव लडेकै क्षेत्रबाट त्यसयता शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द पटकपटक प्रधानमन्त्री नै भए, थुप्रै मन्त्री पनि बने । तर महिला भने स्थानीयस्तरको नेतृत्वमा समेत आउन सकेनन् । चन्दको भोगाइ छ, “महिला हिंड्ने बाटो नै भएन, बनाउने कोशिश पनि गरिएन ।”
पञ्चायतको ३० वर्ष मात्र होइन, २०४८ को आम निर्वाचनमा पनि मेलौलीमा महिला उम्मेदवार शून्य भए । २०४९ को स्थानीय निकाय निर्वाचनमा भने चन्द गाविसकी एक्लो वडा सदस्य बनिन् । २०५४ को स्थानीय निर्वाचनमा पनि उनी नै वडा सदस्य चुनिइन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नं. २ मा माओवादीबाट रेणु चन्द उम्मेदवार बने पनि सफलता हात पार्न सकिनन् ।
यस पटक भने फरक देखिएको छ । पहिलो महिला मन्त्री ठकुरानीकै मेलौली नगरपालिका–७ बाट कांग्रेस, एमाले, माओवादी केन्द्र्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ८ जना महिलालाई वडा सदस्यको उम्मेदवार बनाएका छन्, जसमा चार जना दलित समुदायका छन् । मेलौली नगरपालिकाका कुल ९ वडाबाट साना दलसमेत गरी ९२ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबाट क्रमशः राधा ओझ, मानमती भट्ट, द्रौपदी दयाल र चन्द्रकला साउद उपमेयरका उम्मेदवार बनेका छन् । “संवैधानिक व्यवस्था नभएको भए यति पनि हुने थिएन”, राप्रपाबाट उपमेयरकी उम्मेदवार साउद भन्छिन् ।
यसपटकको निर्वाचनलाई अलग गरेर हेर्ने हो भने, पूरै सुदूरपश्चिमभरको अवस्था मेलौलीभन्दा फरक थिएन । हिमाली क्षेत्रका दार्चुला, बाजुरा हुन् या तराईका कैलाली र कञ्चनपुर । महिलालाई राजनीतिक अधिकार दिन यो क्षेत्र सधैं अनुदार नै रह्यो । अहिले पनि प्रदेश नम्बर ७ को कुनै पनि दलको जिल्ला नेतृत्वमा महिला छैनन् ।
ठकुरानी सांसद् भएको ४१ वर्षपछि बल्ल सुदूरपश्चिमले अर्को महिला सांसद् पायो– २०५६ को निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा सुशीला स्वाँरलाई । तर, त्यसले पनि निरन्तरता पाउन सकेन । संविधानसभा निर्वाचनमा पनि त्यही भयो, संवैधानिक व्यवस्थाले गर्दा मात्रै समानुपातिकमा मात्रै महिला चुनिए ।
महिलाहरूमा नेतृत्व गर्ने क्षमता भए पनि परीक्षण गर्ने अवसर नै नपाएको युवा नेतृहरूको भनाइ छ । “सुदूरपश्चिमको समाज झ्नै पिछडिएको छ, यस्तो अवस्थामा न समाजले महिलामाथि विश्वास गर्छ, न त दलहरूले नै”, एमाले केन्द्रीय सदस्य निरु पाल भन्छिन्् । माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य रेणु चन्द त महिला नेतृत्व निर्माण नै नगरिएको बताउँछिन् । “अर्को चाहिं राजनीतिमा आएका महिलालाई परिवार, समाज र पार्टीभित्रैबाट पनि सहयोग भएन । टिक्नै सकेनन् ।”
युवा नेतृहरूको तर्कसँग महेन्द्रनगर, कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्व–विद्यालयका प्रा.डा. मुकुन्द कलौनी पनि सहमति जनाउँछन् । द्वारिकादेवी ठकुरानीको विषयमा अध्ययन गरेका प्रा.डा. कलौनी २०१५ को निर्वाचनमा ‘पेटीकोटलाई भोट नदिऔं’ भन्ने जस्ता नारा लागेको बताउँछन् । सम्पन्न परिवारका शिक्षित महिला रोजगारीतिर तर सामान्य परिवारका महिला राजनीतितिर तानिएका कारण क्षमता विकास हुन गाह्रो भइरहेको उनको तर्क छ । “जो पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने थिए, उनीहरूलाई परिवारले आउन दिएन । जो सामान्य परिवारबाट आए, उनीहरूलाई पार्टी भित्रैबाट टिक्न दिइएन”, प्रा.डा. कलौनी भन्छन् ।
शुभ संकेत
१४ असारमा हुने स्थानीय तह निर्वाचनले भने ५९ वर्षपछि महिला नेतृत्वको सन्दर्भमा सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ मा आशाको किरण देखाएको छ । वडा सदस्यमा दुई जना महिला र गाउँपालिका तथा नगरपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा प्रमुख वा उपप्रमुखमा एक जना महिला अनिवार्य उम्मेदवार बनाउनैपर्ने संवैधानिक व्यवस्थाले महिलालाई एकैपटक देखिने गरी प्रतिस्पर्धामा ओरालेको छ । “अहिले दलहरूले
‘उप’ पदमै थन्क्याए पनि यसलाई भविष्यका लागि अवसर ठान्नुपर्छ”, एमाले केन्द्रीय सदस्य पाल भन्छिन् । माओवादी केन्द्र नेतृ चन्द पनि अहिलेको संवैधानिक व्यवस्थालाई शुभ संकेत ठान्छिन् । “अहिलेका उपमेयर र उपाध्यक्षलाई पाँच वर्षपछि दलहरूले मेयर र अध्यक्षमा टिकट नदिएर कहाँ सुख पाउँछन् र !” नेतृ चन्द भन्छिन् ।
७ नं. प्रदेशका एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकाका ७३३ वडामा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबाट दुई हजार ९३२ महिला उम्मेदवार सदस्य पदका लागि चुनावी मैदानमा छन् । त्यस्तै नगरपालिका र गाउँपालिकामा मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा २१६ भन्दा बढी महिला उम्मेदवार बनेका छन् ।
केही महिलाले भने प्रमुख दलबाट मेयरमै पनि टिकट पाएका छन् । कांग्रेसले कैलालीको घोडाघोडी नगरपालिकामा रीता चौधरी, जानकी गाउँपालिकामा गंगादेवी चौधरीलाई मेयर र अध्यक्षको उम्मेदवार बनाएको छ भने एमालेले डोटीको दिपायल सिलगढी नगरपालिकामा मञ्जु मलासीलाई मेयरमा टिकट दिएको छ । “सजिलै टिकट पाएको नठान्नुहोला, २८ वर्ष संघर्ष गरेको छु”, मलासी भन्छिन् । २०४६ को आन्दोलनसँगै एमालेमा लागेकी उनी वडा सदस्य हुँदै अहिले जिल्ला कमिटी सहसचिव छन् । “क्षमतावान थुप्रै महिलालाई ‘उप’ पदमै सीमित पारिएको छ”, उनको गुनासो छ ।