पार्टी बहिष्कारमा, कार्यकर्ता चुनावमा
१४ असारमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश नं १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।
उम्मेदवारी दर्तासँगै देशभरको माहोल यी तीन प्रदेशमा केन्द्रित भएको छ । चुनाव बहिष्कार गरेर आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का नेता/कार्यकर्ताले समेत कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
हालसम्म प्राप्त जानकारी अनुसार रुपन्देही र कपिलवस्तुका चार स्थानीय तहमा राजपाका नेता/कार्यकर्ताले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट अमित घर्तीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
रुपन्देहीको समरीमाई गाउँपालिकामा राजपाका अशोक शुक्लले अध्यक्षमा र समरुद्धिन शेखले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकाको सबै वडाअध्यक्ष र सदस्य पदमा पनि राजपाका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यी तीनवटै स्थानीय तह नेता सर्वेन्द्रनाथ शुक्लको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन् । आफ्नो पकड कायम राख्नलाई शुक्लले उम्मेदवारी दर्ता गर्न लगाएको स्रोतले बताएको छ । यद्यपी उम्मेदवारी दर्ता गराएका नेताले भने पार्टी नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिएको जानकारी गराएका छन् ।
रुपन्देहीका स्थानीय नेता ओमप्रकाश यादवले पार्टीको नीति चुनाव बहिष्कार भएको तर, जो–कोही पनि स्वतन्त्र रुपमा चुनावमा भाग लिन्छ भने त्यो उसको व्यक्तिगत अधिकार भएको बताएका छन् ।
त्यस्तै राजपाका नेता एवम् कपिलवस्तुको तौलिहवा नगरपालिकाका पूर्वमेयर रामदाश गुप्ता र उपमेयर वासुदेव कौशधनले कपिलवस्तु नगरपालिकाको मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
कार्यकर्ताले उम्मेदवारी दर्ता गरिरहँदा राजपाका नेताहरुले स्थानीय तहको निर्वाचन गरेर सरकारले नाटक मञ्चन गरेको आरोप लगाएका छन् । आजै रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले मधेशको माग सम्बोधन नगरी निर्वाचन गराउनुको अर्थ नरहेको र राजपाले सशक्त रुपमा निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।