‘कांग्रेस र फोरमले हामीलाई चुनावमा आउन दिएनन्’
हाम्रो मतभेद वा असन्तुष्टि संविधान जारी भएको बेलादेखिको हो । पटक पटकको वार्ता परिणाममुखी हुन नसकेपछि पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं ।
अर्को त स्थानीय तहको संख्या निर्धारण गर्दा जनसंख्यालाई आधार बनाइएन । बालानन्द पौडेल आयोगले दुई निष्कर्ष दिएको छ । पहिलो, आयोगले ११ जिल्लामा काम गर्न सकेन, सहमति भएन । दोस्रो, स्वायत्त क्षेत्र, विशेष क्षेत्रमा प्रवेश नै गरेन । यी दुवै विषयमा सरकारले निर्णय गर्नुपर्छ भनेका थियौं । हामी ५१ प्रतिशतबाट ४५ प्रतिशतमा झर्न तयार भयौं । त्यस अनुसार २२ हजारमा एउटा गाउँपालिका र ३२ हजारमा नगरपालिका कायम गर्ने भनियो । त्यस अनुसार स्थानीय तह निर्धारण गर्न स्थानीय विकास मन्त्री कमल थापाले ११ जिविसमा सर्कुलर जारी गरे । दोस्रो दिन एमालेले मानेन भनेर सरकारले स्थगित गर्यो । फेरि विजय गच्छदार स्थानीय विकास मन्त्री भएपछि सरकारले २२ वटा स्थानीयतह थप्ने निर्णय गर्यो । तर सर्वोच्च अदालतले रोक्यो ।
सिंहदरबारको अधिकार स्थानीय तहमा पुग्यो भन्ने पनि यथार्थ होइन । वास्तविकता के हो भने ७ देखि ९ जना कर्मचारीले स्थानीय तह सञ्चालन गर्ने अवस्था छ । निर्वाचित जनप्रतिनिधिहरूलाई समन्वयकारीको भूमिका मात्रै दिइएको छ । यो त सिंहदरबारको अधिकार गाउँमा पुगेको होइन, गाउँलाई पनि सिंहदरबारले कब्जामा लिएको हो ।
शहीद घोषणा पूर्णरुपमा हुनसकेको छैन । सैद्धान्तिक रुपमा मुद्दा फिर्ताको निर्णय सरकारले गरिसकेको छ तर कार्यान्वयन भएको छैन । घाइतेको उपचार पुष्पकमल दाहालको पालामा केही अगाडि बढ्यो । यी सबै विषयलाई सम्बोधन नगरेसम्म राजपा निर्वाचनमा सहभागी हुने अवस्था छैन ।
यो निर्वाचनमा राजपाले भाग लिन नपाओस् भन्ने खेल भइरहेको छ । भित्री नियत राजपाले निर्वाचनमा भाग नलेओस् भन्ने नै छ । खासगरी नेपाली कांग्रेस र केही मधेशवादी दललाई राजपाले भाग नलिंदा फाइदा हुन्छ भन्ने बुझाइ छ । राजपा त्यही षडयन्त्रको शिकार भएको हो । राजपाले निर्वाचनमा भाग लिनै नपाओस् भन्ने ‘ग्य्राण्ड डिजाइन’ कतै न कतै बनेको हुनुपर्छ ।
तराई मधेशमा जुन ढंगले सेना परिचालन गरिएको छ यसले सुरक्षाकर्मीकै बलमा निर्वाचन गर्न खोजेको देखिन्छ । सरकारको यही सोच रह्यो भने मूठभेडको स्थिति आउन सक्छ । काठमाडौंले नयाँ मधेशलाई चिन्न सकेन । काठमाडौं र मधेशबीचको दूरी झन् अगाडि बढेको छ । पृथकतावादीहरू एकाएक निर्वाचनको पक्षमा देखिएका छन् । चुनावमा भाग लिनुस् मत चाहिं बाहिर हाल्नुस् भनिरहेका छन् । हामी निर्वाचनका लागि तत्पर छौं तर ढोकाहरू बन्द गरिएका छन् ।