चपली हाइट-२ की परमीता
'चपली हाइट–२' को प्रोमो र 'गल्ती गरौं न' गीत सार्वजनिक भइसकेपछि चलचित्रकी नायिका परमीता राज्यलक्ष्मी राणाको प्रशंसा हुन थालेको छ। यो चर्चा 'डेब्यू' चलचित्रमै अनुभवी छनक दिने उनको 'बोल्डनेश' छविका कारण पनि भएको हो।
नेपालको पहिलो पुस्ताकी महिला गल्फर हुन्, शीलापुष्पा राणा। पहिलो पुस्ताकी सुपरमोडलमै पर्छिन्, रिया राणा। दुईमा समानता–शीला रियाकी आमा हुन्। र, उनै रियाकी छोरी–परमीता। पहिलो चलचित्रमै परमीता आत्मविश्वासी देखिनुमा यो वंशाणुगत गुणले पनि काम गरेको हुनुपर्छ।
चलचित्रमा नयाँ देखिए पनि फेसन शो र मोडलिङमा भने परमीताको प्रतिभाको परख जाँचिसकिएको छ। पाँच वर्षदेखि मोडलिङसँग मन जोडेकी उनले अहिलेसम्म ८० भन्दा बढी पटक र्याम्पमा आफूलाई उभ्याएकी छिन्। थुप्रै छापा विज्ञापनमा छाएकी उनले गत वर्ष मात्र श्रीलंकामै पुगी एउटा बिस्कुटको टेलिभिजन विज्ञापनमा पनि काम गरिन्। दुई महीनाअघि दक्षिण कोरियामा भएको 'एशिया न्यू स्टार मोडल कन्टेष्ट' मा उत्कृष्ट १० मा परेको चार सदस्यीय नेपाली मोडलमध्ये एक परमीता नै थिइन्। रोदित भण्डारी र क्रोनिक बिट्जको 'तिमी नै' बोलको गीतको भिडियोमा पनि उनी देखिएकी छिन्।
शारीरिक वनावटमा आधारित मोडलिङ मात्र होइन, परमीताको आवाज पनि सुनिरहु लाग्दो छ। यूट्यूबमा उनले गाएका साम स्मिथ, एमी वाइनहाउस र डेभिड गुएटाका 'कभर सङ' ले परमीताको परिचयको दायरा बढाएको छ।
“सानोमा म अन्तरिक्ष यात्री बन्न चाहन्थें”, ललितकलामा स्नातक परमीता भन्छिन्, “ठूलो हुँदै गएपछि आफ्नो देशको वैज्ञानिक सीमितता बुझ्दै गएँ र सुपरमोडल बन्ने सपना पलायो।” सपनाको यो यात्रामा उनको सारथि बनिन्, आमा रिया। “मेरा लागि आमा जन्मदिने मात्रै होइन, प्रेरणा र शक्ति पनि हुन्”, परमीता भन्छिन्।
नहुन् पनि कसरी, आफ्नो समयमा देश–विदेशमा मोडलिङ गरी ख्याति बटुलेकी रियाले विवाहलगत्तै आफूलाई घरव्यवहारमा केन्द्रित गरेकी थिइन्। तर, परमीता चार वर्ष मात्रै हुँदा रियाका श्रीमानको मृत्यु भयो। त्यसपछिको संघर्षको कथा रियालाई मात्रै थाहा छ।
रिया अहिले पनि छोरीका हरेक योजना र परियोजनाको नजिक भई सल्लाह दिन्छिन्। हुनसक्छ, उनी आफ्नो बाँकी इच्छा छोरीको आँखाबाट नियालिरहेकी छन्।