मिस नेपालको अभिनय सोख
मोरङ, उर्लाबारीकी निकिता चाण्डक (२०) लाई अहिल्यै मिस नेपाल प्रतियोगितामा भाग लिउँला भन्ने लागेकै थिएन। भारतको नयाँदिल्लीमा अध्ययनरत उनी गत चैतमा काठमाडौंमा सम्पन्न टीजीआईएफ फेसन विक मा सहभागी हुन मात्र नेपाल आएकी थिइन्। टीजीआईएफमा राम्रो 'रेस्पोन्स' र मिस नेपाल मा सहभागी हुने सुझावसँगै उनको मन बदलियो । १९ जेठमा भएको प्रतियोगितामा उनै निकिता मिस नेपाल–२०१७ बनिन् ।
कक्षा–१ उर्लाबारी, दुई र तीन भारत, त्यसपछि कक्षा आठसम्म उर्लाबारीमै पढेकी निकिता ९ कक्षापछि भने भारतमै पढिरहेकी छिन्। आउँदाजाँदा दुई देशको समाज पनि बुझिरहेकी छिन् ।
कक्षा–१२ मा पढ्दै गर्दा मोडलिङमा रुचि भए पनि अभिभावकसँग कुरा गर्न निकितालाई सजिलो थिएन। एक त मारवाडी परिवार, त्यसमाथि पनि परिवारमा कोही पनि यो क्षेत्रमा लागेकै थिएनन्। बुबाआमालाई डराई–डराई रुचि सुनाएकी उनले स्वीकृति भने सोचेभन्दा सहजै पाइन्। त्यसपछि उनले भारतमा पुणे फेसन विक, केरला फेसन विक लगायतमा र्याम्प नापिन्।
“मेरो निर्णयमा परिवार सधैं सहयोगी भएकोले पनि जित सम्भव भएको हो”, उनी भन्छिन्। निकितालाई आफ्नो जितले व्यापार/व्यवसायमा सक्रिय मारवाडी समुदायमा मनोरञ्जन क्षेत्रप्रतिको नकारात्मक सोच बदल्न मद्दत गर्ने विश्वास छ। विजयी भएको भोलिपल्ट परेको महेश नवमीमा समुदायका सबैले गरेको सम्मानले यसैको संकेत गरेको उनी बताउँछिन्। “मोडलिङ र अभिनयमा हाम्रो समुदायको सहभागिता न्यून छ। त्यस हिसाबले हेर्दा त मेरो विजय स्वयंमा परिवर्र्तन हो”, उनी भन्छिन् ।
मिस नेपाल भइसकेपछि आफूमा थुप्रै जिम्मेवारी थपिएको निकितालाई लागेको छ। उपाधिले आफूलाई युवाको प्रतिनिधित्व गर्ने अवसर दिएको बताउँदै उनी 'सबैले सम्झने काम गर्ने' दाबी गर्छिन्। “मिस वर्ल्ड प्रतियोगितापछि योजना बनाएर काम गर्छु”, उनी भन्छिन्। विश्व सुन्दरी प्रतियोगितामा प्रभावकारी सहभागिता जनाउन यसअघि प्रतियोगितामा सहभागी मिस नेपाल हरूको अनुभव सुनेर तयारीमा लाग्ने उनको योजना छ ।
युवा देशको मेरुदण्ड भएकोले उनीहरूमा सकारात्मक इच्छाशक्ति बढाउन पनि आफूले काम गर्ने निकिताको भनाइ छ। यसका लागि सामाजिक सञ्जाल र इन्टरनेटको महत्वपूर्ण भूमिका हुने उनी बताउँछिन्। विकासको लागि नयाँ–पुराना पुस्ताको अनुभव, ज्ञान र सीपलाई समेटेर लैजानुपर्ने उनको धारणा छ ।
व्यवस्थापनमा स्नातक गरिरहेकी निकिता अध्ययन सकेर अभिनय क्षेत्रमा आउन चाहन्छिन्। मिस नेपाल प्रतियोगिताको 'ट्यालेन्ट शो' मा त उनले डान्स ड्रामा नै देखाएकी थिइन्। “अभिनयमै भविष्य देखेकी छु” निकिता भन्छिन्, “सफल अभिनेत्री बन्न चाहन्छु ।”