‘नेताजी’ की विद्रोही छोरी
२५ वर्षदेखि आपसमा भिडिरहेका दाजुभाइ स्थानीय तह निर्वाचनमा भने मेयरको टिकट त्यागेर छोरीका लागि प्रतिस्पर्धी बनेका छन् ।
२०४७ सालमा महेन्द्रनगर, कञ्चनपुरको खुलामञ्चमा नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको भाषण सुन्न पुगेका थिए, प्रकाशसिंह साउद । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शुभेच्छुक २१ वर्षीय साउद फर्कंदा भने एमाले बनिसकेका थिए । कार्यक्रमलगत्तै मदन भण्डारीबाट सदस्यता लिएका मेलौली नगरपालिका–७ तल्लादेही, बैतडीका साउदले त्यसपछि जनताको बहुदलीय जनवाद (जबज) अध्ययन मात्र गरेनन्, उनकै जीवनशैली पछ्याउने प्रयत्न पनि गरे । कतिसम्म भने मदनका दुई छोरी भएकोले उनले पनि दुई छोरी चन्द्रकला र पूनम जन्मिएपछि परिवार नियोजन गरे, पत्नी भानु साउदलाई समेत पत्तै नदिई । बैतडी, जहाँ अहिले पनि छोरा नजन्मिंदासम्म सन्तान जन्माइराख्ने, छोराकै लागि अर्को विवाह गर्ने संस्कार कायम छ ।
यही राजनीतिक तथा व्यावहारिक जीवनशैैलीका कारण उनलाई मेलौलीमा प्रकाश भन्दा ‘नेताजी’ नामले चिनिन्छन् । तर, तिनै नेताजी स्थानीय तह दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा भने सकसमा छन् । यसको कारण अरू कोही नभई आफ्नै छोरी बनेकी छन् । ‘नेताजी’ की जेठी छोरी चन्द्रकला (२६) राप्रपाबाट मेलौली नगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी छन् । “२७ वर्षको राजनीतिक जीवनमा सबैभन्दा अप्ठ्यारो मोडमा उभिएको छु । एकातिर छोरी, अर्कोतिर आफैंले हुर्र्काएको पार्टी । साह्रै पीडा भइरहेको छ”, उनी भन्छन् ।
घरमै प्रतिस्पर्धी
तल्लो स्वराड क्षेत्र भनेर चिनिने मेलौली राणा, पञ्चायत र बहुदलीय व्यवस्थामा पनि सुदूरपश्चिम राजनीतिको केन्द्र रहँदै आएको छ । बैतडी र डडेल्धुरा एउटै क्षेत्र हुँदा बीपी कोइरालाका सहयात्री एनडी प्रकाश चटौत र पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको राजनीतिक थलो यही क्षेत्र थियो । विद्रोही नेता भीमदत्त पन्तको ओहोरदोहोरले परिवर्तनको ज्वार ल्याएको यही भूगोलले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई जन्म दिएको हो ।
२०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि नेपाली कांग्रेसको दबदबा रहेको यो क्षेत्रमा पूर्वप्रधानमन्त्री चन्दलाई पटक–पटक विजय दिलाउन सघाउने राप्रपाका स्थानीय नेता हुन्, अशोकसिंह साउद । उनी अहिले पनि चन्दका छोरा एवं राप्रपाका महामन्त्री जयन्तबहादुर चन्दलाई जिताउन खटिइरहेका छन् । प्रकाशसिंहका साक्खै दाजु हुन्, अशोकसिंह ।
भाइ एमाले भएदेखि नै साउदको परिवारमा राजनीतिक प्रतिस्पर्धा शुरू भयो । एक्लै संगठन विस्तारमा लागेका प्रकाशले २०४९ को स्थानीय निर्वाचनमा आफ्नै वडा नं. ६ बाट उम्मेदवार नै भेटाएनन् । वडा अध्यक्षको उम्मेदवार बन्न २५ वर्ष पुग्नुपर्ने कानूनी प्रावधान थियो, तर उनी भर्खर २३ वर्षका थिए । तर, चुनाव लड्न पाइनँ भने मेलौलीबाट फर्किन दिन्न भनेर धम्क्याएपछि निर्वाचन अधिकृतले खुसुक्क ‘उमेर कम छ भनेर हल्ला नगर, आफ्नो प्रचार गर’ भनेको उनी सम्झ्न्छन् ।
वडा अध्यक्षमा उनका प्रतिस्पर्धी थिए, उनै दाइ अशोक । कांग्रेस बलियो रहेको वडामा दाइभाइको प्रतिस्पर्धा हुँदा आमाले भोट हाल्नै मानिनन् । यद्यपि परिणाम भने प्रकाशको पक्षमा आयो– ४ मतको विजयसहित ।
घरभित्रको प्रतिस्पर्धा यत्तिकैमा सकिएन । २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट भाइ र राप्रपाबाट दाइ मेलौली गाविस अध्यक्षको उम्मेदवार बने । यस पटक भने दाइ अशोकले बाजी मारे ।
त्यसको २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा पनि राप्रपाबाट अशोक र एमालेबाट प्रकाश नै मेलौैली नगरपालिकाका मेयरका सम्भावित उम्मेदवारका दावेदार थिए । तर, राजनीतिमा गुट÷उपगुटको दूषित खेलले आफ्नालाई काखी च्याप्दा योग्यहरू पाखामा परे । प्रकारान्तरले दाजुभाइ उम्मेदवार बनेनन् । तर पनि प्रतिस्पर्धा तीव्र छ, छोरी चन्द्रकलाका रूपमा ।
गुटको शिकार
घरमै राजनीतिक प्रतिस्पर्धा देखे/भोगेकी चन्द्रकला त्यसबाट टाढै रहन खोज्थिन् । उनको इच्छा थियो, सुरक्षा निकायमा काम गर्ने । स्नातक अध्ययनरत उनले पटकपटक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा भर्ना पनि हुन खोजिन् तर बुवा, ठूलोबुवाले सहमति नै दिएनन् । एक पटक घरमा थाहै नदिई राष्ट्रिय अनुसन्धान विभागको असईमा दरखास्त पनि हालिन् । तर, लिखित परीक्षा दिने बेला बुवाले चाल पाए । बुवाले ‘असई भएर के गछ्र्यौ, समाजसेवामा लाग्यौ भने कैयौं असईले स्यालुट ठोक्छन्’ भनेपछि छाडिदिइन् । वास्तवमा दुवै दाजुभाइ पढाइमा अब्बल र वाक्पटु छोरीलाई राजनीतिमा लागेको हेर्न चाहन्थे ।
त्यसो त उनी राजनीति पनि गरी नै रहेकी थिइन् । यस अवधिमा उनी अनेरास्ववियू हुँदै युवा संघको जिल्ला सहसचिव र अखिल नेपाल महिला संघको जिल्ला कोषाध्यक्ष निर्वाचित भइन् ।
यो सँगै सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) को सामुदायिक परिचालक भएर पाँच वर्ष काम गरेकी चन्द्रकलाको सक्रियताबाट प्रभावित एमाले नगर समितिले उनैलाई उपमेयरको सिफारिश गर्यो । उनी प्रचारमा पनि लागिन् । मेयरका प्रतिस्पर्धामा बुवा प्रकाश छँदैथिए । जिल्ला समितिले भने बुवाछोरीलाई नै टिकट दिंदा नराम्रो सन्देश जान्छ भन्दै बुबालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्यो ।
यता प्रदेश कमिटीले भने एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका पूर्व अर्थ–राज्यमन्त्री दामोदर भण्डारीले मेयर जगदीश नायकको पक्ष लिंदा वरिष्ठ नेता माधवकुमार नेपाल गुटका नेता परमानन्द भट्टले उपमेयरमा मानमती भट्टको पक्ष लिए । पार्टीको निर्णयबाट आहत बनेकी चन्द्रकला भन्छिन्, “प्यानलवालाले टिकट पाए, एमाले मात्रै हुँदा किनारा लगाए ।”
उता राप्रपाबाट अशोक मेयरका उम्मेदवार बन्ने पक्का थियो । पटक पटक भाइसँग चुनाव लडेका उनी ‘छोरीमाथि अन्याय हुँदा’ आफू उम्मेदवार बन्न मन नलागेको बताउँछन् । उनले आफूले मेयरको टिकट त्यागेर राप्रपाबाट उपमेयर लड्न चन्द्रकलालाई टिकट दिलाए । जे भए पनि पार्टीको निर्णय सहेर राप्रपाबाट उम्मेदवार नबन्न छोरीलाई प्रकाशले गरेको बारम्बारको आग्रह यहाँनेर काम लागेन । “पार्टी जुनसुकै भए पनि आफूले राम्रो काम गर्ने हो भन्ने लागेर ठूलोबुवाले भनेको मानें”, चन्द्रकला भन्छिन् ।
प्रकाशले घरमा सूर्य र हँसिया हथौडा भएका दुई वटा झ्ण्डा लगाएका थिए । तर, उम्मेदवार बनेपछि चन्द्रकलाले सूर्य झ्किेर गाईको झ्ण्डा लगाइन्, हँसिया हथौडाको झ्ण्डा भने त्यहीं छ । “बुवा आफ्नो ठाउँमा हुनुहुन्छ, राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा छ” उनी भन्छिन्, “मेरो प्रचारमा हिंड्नुस् भनेकी छैन । दिनभरि आ–आफ्नो पार्टीको प्रचारमा हुन्छौं, साँझ् घरमा सँगै खाना खान्छौं ।”
बच्चु विक, मेलौली, बैतडी