सडकमा झरेको चश्मा
सडक विस्तारले भएका फूटपाथ पनि मासिए, साँघुरिए। हिंड्ने बाटो बन्द गरेर सरकार उल्टै जनतासँग रु.२०० जरिवाना असुलिरहेको छ ।
जिब्रा क्रसिङको बीचमा लडेर पनि, आफूलाई त्यस्तो ठूलो चोट नलागेको पाउँदा, मेरो मनमा सबैभन्दा पहिले आएको विचार थियो “ओहो ! मान्छेको ज्यान त फिटिक्कैमै जान सक्दो रै’छ !” मेरो सट्टा सानो बालक या वृद्धवृद्धा भएको भए ? या गर्भवती भएको भए, के हुन्थ्यो होला ? अनिष्ट नै हुन्थ्यो होला ।
धेरै महीनापछि “अब त वजन घटाउन फेरि हिंड्न थाल्नुपर्यो” भनेर २५ जेठ म बिहान ६ बजे घरबाट टुँडिखेलतिर लम्केकी थिएँ । ५ मिनेटमा रत्नपार्कको बिजुली अड्डा अगाडिको जिब्रा क्रसिङमा पुगें । फाट्टफुट्ट गाडी र बाइकहरू थिए । म फूटपाथबाट जिब्रा क्रसिङमा झ्रें । अरू कति बटुवा थिए मसितै म सम्झ्न्न । एउटा नीलो गाडी नजिक आइरहेको थियो । टक्क रोकियो । मनमनै ओहो ! भनेर अगाडि हिंड्दै गएँ । आधा बाटो कटिसकेपछि एक्कासी मेरो तिघ्रामा ड्याम्म केले हान्यो । म लडें । देखें बाइक रहेछ । त्यो पनि लडेको थियो । वरपर पेट्रोल पोखिएको थियो । एकदम दुखिरहेको थियो । वरपरका मानिसहरू “के भयो ?” भन्दै मद्दत गर्न आए । मैले बाइकवालालाई “के गरेको ? जिब्रा क्रसिङमा यसरी हुत्तिएर आएको ?” भनें । उसले “मैले सक्दो ब्रेक लगाउन खोजेको थिएँ” भनेर जवाफ दियो ।
ऊ बाइक उठाएर छेउतिर लाग्दैथियो, मलाई कसले हो उठाइदिए । एकजनाले अगाडि बढ्दै गरेको बाइकको फोटो खिच्दै थिए । कसले हो चश्मा थमाइदिए मेरो हातमा । ‘धेरै चोट लागेको भए अस्पताल जाऊँ’ पनि भन्दै थिए । बाइक लागेकोतिर जान खोज्दैथिएँ, तर बाइक त अघि नै कुलेलम भइसकेको रहेछ । दुई जना भाइहरूले मलाई पुलिसलाई १०० मा फोन गर्न सुझए । मेरो फोनमा त्यो बाइकको फोटो सार्न खोजें । नसकेपछि त्यै फोनबाटै फोटो खिचें, धन्यवाद दिएँ, र ट्राफिक प्रहरीको खोजीमा रत्नपार्कतिर लागें । भेटें, नम्बर टिपाएँ । यसपालि चाहिं आकाशेपुलबाट बाटो काटें ।
घरतिर फर्कंदा विस्तारै सोच्दै, हिंड्दै गरें । के भयो ? म त नियम पालन गर्ने मान्छे । आफूले गाडी हाँक्दा, पछाडिका सवारीहरूलाई रिस नै उठे पनि जिब्रा क्रसिङमा बटुवालाई बाटो काट्न रोक्थें । ट्राफिक प्रहरीले जेवाकिङ (जथाभावी बाटो काट्ने) लाई कारबाहीको अभियान चलाउँदा मैले ट्वीटरमा ‘जेवाकरलाई मात्र हैन, जिब्रा क्रसिङमा नरोक्ने सवारी साधनलाई पनि जरिवाना हुनुपर्छ’ भनेरै ट्वीट गरें । जथाभावी बाटो काट्दा दुर्घटनामा परे बटुवाको दोष ठहरिनुपर्छ, अनि जिब्रा क्रसिङमा बटुवा बाटो काट्दा दुर्घटना भए सीधै सवारी चालकको दोष ठहरिनुपर्छ भनेर । आखिर आफैं परें त्यस्तो घटनामा !
के मैले अब हाम्रा जिब्रा क्रसिङहरू सुरक्षित छन् भनेर कम सतर्कता अपनाएँ होला त ? के ट्राफिक प्रहरीले नयाँ नियम लगाउनुअघि नागरिकमा जति सचेतना फैलाउनुपथ्र्याे त्यो गर्न चुकेको हो त ? सवारी चालकलाई सुशिक्षित बनाउन नसकेको हो त ? के त्यो बाइकवालाले जिब्रा क्रसिङनिर बटुवाहरू हुन्छन्, गति घटाउनुपर्छ भन्ने ज्ञान नै नपाई लाइसेन्स प्राप्त गरेको हो त ? एउटा सवारी साधन जिब्रा क्रसिङमा रोकिएको छ भने अवश्य कुनै कारणले रोकिएको छ, म पनि रोकिनुपर्छ भनेर नबुझेकै हौं त ? या बुझ्पचाएका हौं ?
सेतै फुलेको व्यक्तिलाई आफ्नो बाइकले ढालेपछि, गल्ती स्वीकारेर के मद्दत गर्नुपर्छ पनि नभनी टाप कस्न बाइकवालालाई केले प्रेरित गरेको हो ? अपराधबोध, डर या लाजले ? पैसा खर्च हुनेभयो भनेर या अत्तालिएर राम्ररी सोच्न नसकेकोले ?
मलाई लागेको, र अहिले सामाजिक सञ्जालमा पनि चलिरहेको कुरा चाहिं, काठमाडौंले पैदल यात्रुलाई प्राथमिकता पटक्कै दिएको छैन । गाडीको चाप बढ्यो भनेर आयात नियन्त्रण गर्ने, मास ट्रान्जिटलाई बढावा दिने, शहरलाई बटुवामैत्री बनाउन पहल गर्ने काम गरेन । पैदल यात्रुलाई चेपुवामा पारेर, गाडी गुड्ने बाटो नै फराकिलो पा¥यो । त्यसो गर्दा कि पेटी हटाइयो, कि झ्नै साँघुरो बनाइयो । त्यसैले पनि पैदल यात्रु असुरक्षित तरिकाले हिंड्न बाध्य भइरहेका छन् । जेवाकिङलाई नियन्त्रण त गर्नु नै थियो, तर फेरि पनि गाडीवालाभन्दा पैदल यात्रुलाई नै मार पर्ने गरी यो योजना ल्याइयो ।
दुर्घटना घटाउन चालिएको यो अभियान सुधार्न तत्काल केही कदम नचाले अरू दुर्घटना निम्त्याउने छ । सबैभन्दा पहिले त रेडियो र सामाजिक सञ्जालमार्फत सडक सुरक्षाबारे व्यापक प्रचारप्रसार गर्नुपर्यो । पर्याप्त जिब्रा क्रसिङहरू बनाउनुपर्यो, चिनिने हुनुपर्यो । राति पनि प्रष्ट देखिनुपर्यो । स्कूल र कलेजका विद्यार्थीमार्फत सडक सुरक्षाबारे सन्देश घरघरमा पुर्याउनुपर्यो । सवारी लाइसेन्स प्रदान गर्ने बेला चालकलाई सडक नियमबारे कडाइका साथ प्रशिक्षण दिनुपर्यो । कुनै नयाँ बाटोको योजना बनाउने, मर्मत गर्ने बेला सडक विभागले सडक सुरक्षाबारे घरदैलोमै सचेतना फैलाउनुपर्यो ।
घाइते तिघ्रो लिएर आराम गर्दै गर्दा मलाई झ्लझ्ली त्यो क्षणको याद आउँछ । म त बाँचें, कसो ! तर बसुन्धरामा जिब्रा क्रसिङमा ज्यान गुमाएकी महिला जस्तै कहिलेसम्म बटुवाहरूले ज्यान हत्केलामा राखेर बाटो काटिरहनुपर्ने हो ? लौ न !