‘देउवा: देश हेर्ने नेता’
पटक–पटक प्रधानमन्त्री भए पनि आफ्नो जन्मथलोलाई नहेरेका शेरबहादुर देउवालाई गाउँलेले ‘देश हेर्ने नेता’ मानेर प्रशंसा गरेका छन्।
डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारबाट २१ किलोमिटर पूर्वमा छ, रुवाखोला गाउँ । विभिन्न जातिका दुईसय घरपरिवारको गाउँलाई दायाँ–बायाँ पार्दै बगेको खोलाको नाम पनि रुवाखोला नै छ ।
अहिले कन्यापधुरा गाउँपालिका–१ मा परेको यो गाउँमा उहिले रुई (रुवा) खेती गरिने हुनाले गाउँ र खोला दुवैको नाम रुवाखोला बस्यो । ३० जेठ २००३ मा यही रुवाखोलामा जन्मिएका शेरबहादुर देउवा २३ जेठ २०७४ मा चौथो पटक देशको प्रधानमन्त्री बनेका छन् ।
२३ जेठमा खेतबाट घाँस बोकेर घर फर्केकी देउवाकी कान्छी हजुरआमा पार्वती देउवा (८९) निकै खुशी थिईन् । “घरमा काम गर्न पटक्कै मान्दैनथ्यो”, उनले भनिन्, “देशले मान्ने भयो ।”
दुई बिहे गरेका तामिलदार प्रसादसिंह देउवाका ६ छोरा र ४ छोरीमध्ये शेरबहादुर जेठा हुन् । परिवारको जेठो भए पनि उनले घरको समस्यामा कहिल्यै चासो नराखेको काका डम्बरदेव देउवा सम्झन्छन् ।
उनका अनुसार, शेरबहादुरले कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढेका थिए । “पढाइ राम्रो थियो, अरूलाई पनि पढ भन्थ्यो” डम्बरदेव भन्छन्, “स्कूल नजानेलाई कुटपिट गर्न पनि बेर लगाउँदैनथ्यो ।”
अहिले देउवाका धेरैजसो औंलामा औंठी देखिन्छन् । तर, पहिले उनले धामीझँक्री, ग्रहदशा, बुटी–औंठीमा पटक्कै विश्वास नराखेको रुवाखोलाका पाकाहरू बताउँछन् । “पहिले क्रान्तिकारी थियो, अहिले औंलाभरि ज्योतिषीले दिएका औंठी लगाएको देख्दा अचम्ममा पर्छु”, देउवाका दौंतरी रामदत्त भट्ट भन्छन् ।
हजुरआमा पार्वतीका अनुसार, गाउँमा रहुञ्जेल शेरबहादुर जिद्दी थिए– अरूले भनेको नमान्ने, आफैंले सोचेको मात्र गर्ने । कक्षा चार पढिरहेका बेला बिहे गरिदिन खोज्दा शेरबहादुर मान्दै नमानेको र एसएलसी गरेपछि बनारस पठाउन खोज्दाखोज्दै काठमाडौं पसेको उनले सम्झिइन् ।
शेरबहादुर पटक–पटक प्रधानमन्त्री भए पनि रुवाखोलामा त्यसको केही प्रभाव देखिंदैन । गाउँलाई ११ किलोमिटर पश्चिममा भीमदत्त राजमार्गसँग जोड्ने कच्ची सडक बनेको छ, तर कतिपय ठाउँमा मोटरसाइकल कटाउन पनि कठिन । बिजुलीको तार छ, तर बिजुली नियमित छैन । टेलिफोन सेवा आएको छ, तर फोनमा बात गर्न मुश्किल पर्छ ।
देउवाले कक्षा ७ सम्म पढेको असिग्राम निमावि भने उमावि भएको छ, स्वास्थ्य चौकी पनि आएको छ । गाउँलेहरूले शेरबहादुर देश हेर्ने मान्छे भएकोले गाउँ हेर्न नपाएको सम्झेर चित्त बुझएका छन् । गाउँमा सरकारी जागिरे छैनन् । पछिल्लो समय केही युवा सेना र प्रहरीमा भर्ती भएका छन् । देउवाका सबै भाइबहिनी सामान्य खेतीपाती गर्छन् ।
शेरबहादुर देउवा त्रिचन्द्रमा विद्यार्थी रहँदा २०२८ मा नेपाल विद्यार्थी संघको सभापति बनेका थिए । २०३५ सालमा बीपी कोइरालासँग देश दौडाहामा गएपछि नेपाली कांग्रेसभित्र आफ्नो दायरा बढाएका उनी २०४४ सालमा बेलायत पढ्न गएर २०४६ को आन्दोलन सफल भएपछि फर्किएका थिए ।
२०४८ सालको आम निर्वाचनमा उनी सुदूरपश्चिममा आफूसहित सबै कांग्रेसलाई जिताउन सफल भए । त्यसपछि गृहमन्त्री बनेका देउवा नेकपा (एमाले) को अल्पमतको सरकार ढलेपछि २०५२ मा पहिलो पटक प्रधानमन्त्री भए ।
२०५६ मा डडेल्धुराबाट तेस्रो पटक सांसद् निर्वाचित उनी कांग्रेस संसदीय दलको नेता बन्न पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग चुनाव लडेर हारे । २०५७ मा भएको कांग्रेसको १०औं महाधिवेशनमा सभापतिका लागि कोइरालासँगै भिडे, सफल भएनन् ।
२०५८ मा कांग्रेस संसदीय दलको नेताका लागि सुशील कोइरालालाई पराजित गरेपछि दोस्रो पटक प्रधानमन्त्री बने । त्यसबेला पार्टी सभापति गिरिजाप्रसादसँग विवाद बढ्दा ८ जेठ २०५९ संसद् विघटन गरेपछि प्रधानमन्त्री देउवा कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परे अनि २०५९ असारमा पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे ।
२०६१ मा तेस्रो पटक प्रधानमन्त्री बनेका देउवालाई १९ माघमा राजा ज्ञानेन्द्रले ‘अक्षम’ भन्दै अपदस्थ गरेका थिए ।
२०६२/६३ को जनआन्दोलन सफल भएपछि २०६४ असोजमा पार्टी एकीकरण भयो, देउवा वरिष्ठ नेता बने । त्यसपछिको संसदीय दलको नेतामा गिरिजाप्रसाद कोइरालालाई समर्थन गरेका उनी २०६६ मा रामचन्द्र पौडेलसँग पराजित भए भने दोस्रो संविधानसभा निर्वाचनपछिको संसदीय दलको नेतामा सुशील कोइरालासँग ।
सुशील कोइरालाको निधनपछिको १३औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति भए । संसदीय दलको नेतामा पनि पौडेललाई पराजित गरेका देउवा नेकपा (माओवादी केन्द्र) लगायतका दलको समर्थन जुटाएर देशको प्रधानमन्त्री भएका छन् ।
बच्चु विक, रुवाखोला, डडेल्धुरा