शंखेकीराका नयाँ प्रजाति
कमल मादेन
नेपालका उदीयमान जीववैज्ञानिक प्रेमबहादुर बुढाले प्राणीशास्त्र केन्द्रीय विभागलाई नमूना सुरक्षित राख्ने चुनौती दिएका छन् ।
चिप्लेकीरा चिस्यान भएको वनजंगल, पाखा–पधेंरा, बारी आदिमा भेटिन्छ। दुई वर्षअघि यो पंक्तिकारले ललितपुरको भैंसेपाटीमा भेटेका चिप्लेकीराहरू कुन–कुन प्रजातिका रहेछन् भन्ने उत्सुकताले त्रिभुवन विश्वविद्यालयमा प्राणीशास्त्र पढाइरहेका प्रेम बुढालाई पहिचानको अनुरोधसहित तस्वीरहरू पठाएको थियो। त्यसबेला बेल्जियमको एन्टवर्प विश्वविद्यालयबाट चिप्लेकीरा वर्गकै शंखेकीरा अनुसन्धानमा विद्यावारिधि गरिरहेका उनीबाट मैले तुरुन्तै वैज्ञानिक नामसहितका अन्य जानकारी पाएको थिएँ।
अहिले आएर तिनै प्रेम बुढा, थेयरी ब्याकेजाउ र फेड नाग्सको महत्वपूर्ण अनुसन्धान आलेख जूकिज जर्नल (अंक ६७५, २०१७ मे) मा प्रकाशित भएको छ। यो संयुक्त आलेख शंखेकीरा समूहको 'ग्लेस्सुला' र 'रिशेटिया' समूहमाथि गरिएको खोजको परिणाम हो। यी दुई समूहका शंखेकीरा उस्तै देखिन्छन्। बेलायतका जीवविज्ञ गोड्विन औस्टेनले सन् १९२० मा यी दुईलाई भाले प्रजनन् अंगबाट छुट्याउन सकिन्छ भन्ने लेखेका थिए। त्यसयता कुनै जीव वैज्ञानिकले भाले प्रजनन् अंगको सूक्ष्म अध्ययन र भिन्नता पहिचान नगरेकोमा बुढा, ब्याकेजाउ र नाग्सको अनुसन्धानले औस्टेनको मान्यतालाई परीक्षण र अनुसरण गरेको छ।
प्रेम बुढाको समूहले नेपालका विभिन्न वनजंगलबाट संकलित नमूनाका साथै न्याचुरल हिस्ट्री म्युजियम लन्डन, युनिभर्सिटी म्युजियम अफ जुलोजी क्याम्ब्रिज, रोयल बेल्जियन इन्ष्टिच्युट अफ न्याचुरल साइन्सेस ब्रसेल्स र जूलोजिकल म्युजियम अफ मस्को स्टेट युनिभर्सिटीमा रहेका तिनको समूहसँग सम्बन्धित अन्य नमूनाहरूको तुलनात्मक अध्ययन गरेको थियो। त्यसबाट विश्वको निम्ति ६ प्रजातिका नयाँ शंखेकीरा र नेपालका लागि दुई नयाँ प्रजाति (ग्लेस्सुला हेवेटाका र रिशेटिया मास्टर्सी) पत्ता लागेको छ।
नेपाली नामकरण
दोलखाको सुरी दोभानको देब्रेपट्टिको ढुङ्गे मोहोडामा २००९ मा भेटिएको एक किसिमको शंखेकीरा 'ग्लेस्सुला' समूह अन्तर्गतको हो भन्ने जानकारी सजिलै भए पनि कुन प्रजाति हो भन्ने थाहा पाउन लामै अध्ययन–अनुसन्धान चाहियो। त्यसको खबटो दक्षिण भारतमा पाइने 'ग्लेस्सुला इन्डिका' र श्रीलंकामा पाइने 'ग्लेस्सुला सेरेना' सँग मिल्दोजुल्दो भए पनि विशेषतः भाले प्रजनन् अंगको आकृति फरक भएकाले ती दुई प्रजातिभन्दा भिन्न ठहर भयो। प्रेम बुढा र थेयरी ब्याकेजाउले तामाकोशी नजिक भेटिएकाले त्यो शंखेकीराको नाम 'ग्लेस्सुला तामाकोशी' राखेका छन्। त्यसको लम्बाइ १७.७ देखि १९.५ मिलिमिटर र चौडाइ ९.६ मिलिमिटरसम्म भएको उनीहरूको आलेखमा उल्लेख छ।
विश्व वैज्ञानिक जगतका निम्ति नयाँ सावित भएको काठमाडौं उपत्यका वरपरका विभिन्न वनजंगलबाट संकलित अर्कोे शंखेकीरालाई प्रेम बुढा र थेयरी ब्याकेजाउले 'रिशेटिया काठमान्डिका' नामकरण गरेका छन्। यसको खबटोको लम्बाइ २४.८ देखि ४१.१ मिलिमिटर र चौडाइ ८.१ मिलिमिटर छ। यो शंखेकीराको नमूना सर्वप्रथम १९९५ मा रूसी जीवविज्ञहरू एए शिल्येको र एजे कुज्नेट्सोभले बालाजुको रानीवनबाट संकलन गरेका थिए। उनीहरुले त्यसलाई विश्वको निम्ति नयाँ ठहर गरी 'रानीवानिया टेन्युस्पिरा' नामकरण गरेका थिए, १९९६ मा। त्यसबारेको छोटो लेख रुथेनिका जर्नल (वर्ष ५, अंक १) मा छापिएको थियो।
तर, नयाँ होइन रहेछ र १९९९ को अर्को लेखमा सच्याइन्छ। प्रेम बुढाले फेरि त्यो नमूना संकलन र अध्ययन गर्छन् अनि अर्कै प्रजातिको भएको निर्क्योलमा पुगेर 'रिशेटिया काठमान्डिका' नामकरण गर्छन्। यो अनुसन्धान र नामकरणलाई अन्य अनुसन्धानकर्ताले गलत सावित गर्छन् कि सही मान्छन्, त्यो हेर्न पर्खनुपर्नेछ।
२००९ मा नागार्जुन, बालाजु र फुल्चोकीबाट संकलन गरिएका शंखेकीरा पनि विश्वको निम्ति नयाँ सिद्ध भएका छन्। त्यसलाई बुढा र नाग्सले 'रिशेटिया नागर्जुनेन्सिस्' नामकरण गरिदिएका छन्। 'रिशेटिया काठमान्डिका' सँग मिल्दोजुल्दो यसको खबटोको लम्बाइ ३३.२ देखि ३८.४ मिलिमिटर र चौडाइ १०.६ देखि १०.८ मिलिमिटर सम्मको हुन्छ। यसको खबटो 'रिशेटिया काठमान्डिका' को भन्दा कम लाम्चो र बढी मोटो हुन्छ। यसको प्रजनन् अंगको आकृति पनि फरक छ।
बुढाले २००६ मै गुल्मीको प्रसिद्ध ऋषिकेश मन्दिर नजिक झ्वालेपाखा सामुदायिक वनबाट संकलन गरेको नमूनालाई 'रिशेटिया ऋषिकेशी' प्रजाति भनेर नामकरण गरेका छन्। भारतको आसाममा पाइने 'रिशेटिया मास्टर्सी' सँग मिल्दोजुल्दो देखिने यो प्रजातिको शंखेकीराको खबटोको लम्बाइ १२.१ देखि १६.२ मिलिमिटर र चौडाइ ६.४ देखि ५.७ मिलिमिटरसम्मको हुन्छ। यसको प्रजनन् अंग भने 'रिशेटिया मास्टर्सी' भन्दा विल्कुलै फरक देखिन्छ।
प्रेम बुढाले सन् २००६ मा त्रिविको कीर्तिपुरस्थित उद्यानबाट संकलन गरेको शंखेकीराको प्रजाति नेपालमा पाइने 'रिशेटिया' समूहको सबभन्दा सानो हो। उनले यो प्रजातिको नाम 'रिशेटिया त्रिभुवना' जुराएका छन्। यसको लम्बाइ ७.५ देखि ११.० मिलिमिटर र चौडाइ २.७ देखि ३.० मिलिमिटरसम्म हुन्छ।
रिशेटिया सुबुलाटा पनि
गोदावरी–फुल्चोकी सडकको नौधारा मन्दिर नजिकबाट संकलित शंखेकीरालाई भने प्रेम बुढा र फेड नाग्सले 'रिशेटिया सुबुलाटा' नामकरण गरेका छन्। बुढाले २००८ मा संकलन गरेका 'रिशेटिया सुबुलाटा' को खबटोको लम्बाइ १०.८ देखि १४.९ मिलिमिटर र चौडाइ ३.६ देखि ४.१ मिलिमिटर सम्मको हुन्छ। सिलिन्डर आकारको खबटो टुप्पोतिर चुच्चो परेको हुनाले 'रिशेटिया सुबुलाटा' नामकरण गरिएको जर्नलमा उल्लेख छ।
'रिशेटिया सुबुलाटा' को खबटो यसको नातेदार 'रिशेटिया हास्टुला' सँग मिल्नेजस्तो देखिन्छ। फरक कति भने 'रिशेटिया हास्टुला' को खबटोको दोस्रो र तेस्रो घेराको व्यास बराबरीको हुँदैन। 'रिशेटिया सुबुलाटा' को शरीर भने 'रिशेटिया त्रिभुवना' सँग केही मिल्छ। प्रजनन् अंगमा भने प्रष्ट फरकपन देखिन्छ।
अन्त्यमा, जीव विज्ञानको क्षेत्रमा विश्वका लागि नयाँ प्रजाति पत्ता लगाउने नेपाली वैज्ञानिक निकै कम छन्। यो लाइनमा अब वसन्त थापा, करनबहादुर शाहलगायतको पछिपछि प्रेम बुढा उभिन आइपुगेका छन्। गजब के भने बुढालेे संकलन गरेका सबै नमूना प्राणीशास्त्र केन्द्रीय विभागमा संग्रहित छन्। अहिलेसम्म यस्तो काम हुनसकेको थिएन, तर भएसँगै तिनलाई सुरक्षित राख्ने चुनौती पनि थपिएको छ। विदेशमा यस्ता नमूनाहरूलाई बहुमूल्य धातु जत्तिकै सुरक्षित राख्ने व्यवस्था हुन्छ।